+
+

तपाईं विदेश किन नगएको ?

सेतो सर्ट, निलो पाइन्ट, टाई सुट र टलक्क टल्केका जुत्ता लगाएर कार्यालय पुगें। त्यहाँ कार्यरत एक जना जागिरको उत्तरार्धमा पुगेका सहकर्मीले बधाई सहित सोधे- तपाइँ किन विदेश नगएको ?

सीमा बन सीमा बन
२०८१ असोज १६ गते ८:४२

अँ साँच्चै म विदेश किन नगएको ? बा–आमाले पठाएनन् या डीभी परेन ? विदेशमा पढ्न जान त्यति सहज थिएन या बाको कमाइले धान्न सकेन ! पढ्छु केही गर्छु आफ्नै देशमा। पढेको मान्छेले त प्रगति गरिहाल्छन् नि !

नेपालको नाम चलेकै कलेजबाट स्नातकोत्तर पास भएँ। आमा-बालाई पनि अब त छोराले कमाउँछ। शहरमा पढेको छोरो ठूलो मान्छे बनिहाल्छ भन्नेमा विश्वास थियो। म पास भएँ है बा भन्दा बाको खुसी कति कति शब्दले वर्णन गर्न सकिंदैनथ्यो।

पढाइ सकेर लोकसेवाको तयारी गर्दा कति दशैं मनाउन घर गइनँ। निजी जागिरको खोजी गर्दा मेरो आफ्नो कोही भेटिएन। काम नगर्दै अनुभवको सर्टिफिकेट बनाउन सकिनँ। अन्ततः निजी क्षेत्रमा अवसर पाउने योग्यता जुटाउनै सकिनँ।

विश्वास अझै मरेको थिएन। राम्रो जागिर खाने आशामा अर्को डिग्री पनि लिएँ। बालाई भने दिक्क लागिसकेको थियो छोरोले अब केही गर्ला भन्ने विश्वासमा कमि आउन थालेको थियो।

यो पटकको मास्टर्स डिग्री पास भएँ बा भनेर फोन गरेको बाले जवाफ दिनुभयो, ‘अरु त के होला र बाबु तिम्रा सर्टिफिकेटको माला बनाएर लगाऊ!’

मन चसक्क भयो। बाले त्यसो नभनून् पनि किन ? १२ कक्षासम्म सँगै पढेको साथीले मेरो घरकै आडमा अग्लो घर बनायो। उतै विदेशमा पनि घर किन्यो रे फेसबुकमा राम्रा–राम्रा फोटा पोस्ट्याउँछ। लोभलाग्दो जीवनशैली उतै देखिन्छ। अझ बेलाबेलामा बाआमा पनि घुमाउन लैजान्छ।

आफूले पढाइको बिट यतै मार्‍यो क्यारे तर विदेशको पीआर भएपछि नेपालमा राम्रो पढेकी धनी परिवार कि छोरी बिहे गर्‍यो।

बा–आमालाई मेरो बिहेको चिन्ता तर आफ्नो खुट्टामा नउभिएको मलाई कसले छोरी दिनु ? तर हारिनँ हिम्मत। सातौं पटकको प्रयासमा लोकसेवा पास गरें। बधाईको ओइरो आयो। संसार जिते झैं भयो। युद्ध जिते झैं गरी पहिलो दिन जागिर खान गएँ म। लागेको थियो म त ठूलै मान्छे भएँ, अब मलाई सबैले नमस्ते गर्छन्।

सेतो सर्ट, निलो पाइन्ट, टाई सुट र टलक्क टल्केका जुत्ता लगाएर कार्यालय पुगें। त्यहाँ कार्यरत एक जना जागिरको उत्तरार्धमा पुगेका सहकर्मीले बधाई सहित सोधे- तपाइँ किन विदेश नगएको ? अब नेपालको जागिरले के नै हुन्छ र ? हामीले त बेलैमा सोचेनौं अहिले छोराछोरीको खर्च चलाउन धौ–धौ परेको छ। गतिलो खान–लाउन नपुग्ने जागिरमा झुण्डिनु भन्दा त विदेशमा बरु दु:ख गरेअनुसार पैसा त हुन्छ नि! आफ्नो स्वर्णिम उमेर बितायो तर जीवनयापन सहज छैन। चाकडी र चाप्लुसी विना प्रगति गर्न गाह्रो छ। न त हाम्रो मिहिनेत अनुसारको दाम हुन्छ। सुखी जीवन भनेकै उही पैसो रहेछ यो देशमा गरिखान पनि गाह्रो छ।

म अवाक् भएँ। यसरी निराश र असन्तुष्ट कर्मचारीतन्त्रबाट सेवाग्राहीले कस्तो सेवा पाउनु। एकातिर रोजगारी नपाएकाहरू रोजगार नै नपाएकोमा निराश। अर्कोतिर रोजगारमा भएकाहरू आफ्नो श्रम अनुसारको दु:खेसो नपाएकोमा निराश।

जागिरे भएपछि बिहेवारीलाई भने दुःख भएन। मैले पनि रोजेरै बिहे गर्न सक्ने भएँ। बाआमालाई गाउँको घरको जिम्मा लगाएर हामी शहरिया जीवनमा प्रवेश गर्‍यौं। आधा उमेरसम्म बाको कमाइमा हुर्केको मैले भने बाको दौरा अझै फेर्न सकेको छैन। आमाले बाको अगाडि लुकाएर पठाउने खुत्रुके भरेर आमालाई फर्काउन सकेको छैन।

वर्षदिनमा दशैंमा घर जाँदा लगिदिएको एक सेट नयाँ नोटमा बाआमाले चित्त बुझाएकै थिए। अब त मेरा पनि सन्तान भैसके उनको लालनपालन मेरो कर्तव्य भयो। जेनतेन महिना गुजार्न पनि सकस जस्तै हुने।

आफ्नै कारणले निराश नेता अनि तिनका कारणले निराश जनता। समाजमा नैराश्यता र नकारात्मक सोचाइ यति हावी छ कि! गफ चुटे जस्तो गरी जिम्मेवारी कसैले लिन चाहँदैन। आफ्नै घरछेउको सरसफाइ किन भएन भन्ने हो भने सरकारलाई दोष दिन्छन्। सबै सरकारले गर्ने पनि होइन हुन त यहाँ जनता कमै भेटिन्छन्

बाआमा बुढा भए शहर ल्याएर पाल्ने मेरो हैसियत भएन। जोरजाम गरेर वृद्ध बाआमाले जाउलो खाने बाहेक अरू विकल्प रहेन। तैपनि उनलाई हाम्रै पिर। आखिर बाआमाको जीवनभरको त्याग कसका लागि ? यता श्रीमतीलाई गाउँमा बाआमाको सुसार गर भन्न सक्ने मेरो सामर्थ्य पनि छैन। दिन कटेकै छन्।

मनमा चैन न मलाई छ, न बुढा बाआमालाई। गाउँभरिका साथीसंगीहरू जापान, अमेरिका जाँदा देश नछोडेको म र त्यसमै गर्व गर्ने बाआमाका समकक्षीहरू समय नपुग्दै बुढ्यौलीले छिप्पिएका मेरा बाआमालाई हेरेर विदेश सन्तान पठाएकोमा सन्तोष मानेको देख्दा दिक्क लागेर होला अब त बाले पनि भन्न थाले- तँ विदेश किन नगएको ?

त्यसो त विदेश गएका सबै खुसी छन् भन्ने पनि होइन र विदेश नगएका सबै दुःखी पनि छैनन्। तर समाज यस्तो भयो ? चिल्ला सडक, सुकिला लुगा, कानुनको पालना, रोजगारीको अवसर र श्रमको मूल्य हुने हो भने जस्तो सुकै मिहिनेत पनि सरल बनिदिने रहेछ। विदेशिने परिवारका आफ्नै दुःख छन्। दुःख–सुख साटासाट गर्ने माध्यम इन्टरनेट बनेको छ।

बिरामी पर्दा पानी दिने परिवारका सदस्य छैनन्। अस्पतालमा कुरुवा बस्ने नहुँदा रकम तिरेर सुसारे राख्नु परेको छ। पैसाले सुसारे पाए पनि सुसारमा ममता पाउन सकिंदैन। भोकमा भन्दा घडीको समयमा खाना खानु परेको छ। त्यो पनि रोजेको होइन सेड्युल अनुसार।

विदेश गएकाहरूमा विछोडिएका परिवारका पीडा–रोदन सहितका निराशा। जान नपाएकाहरू नेपालमा केही छैन भन्ने निराशा। पैसाले सहारा दिए पनि साहस भने आफ्नै परिवारमा भेटिन्छ। धेरै घर रित्तिएका छन् गाउँमा वृद्ध बाहेक उत्पादनसँग जोडिने ऊर्जाशील जनसंख्या छैन।

आफ्नै देशमा बसेर मिहिनेत गर्छु भन्नेलाई अवसर छैन। भएका अवसरमा पहुँच छैन। दशौं वर्ष भत्किएका सडक बन्दैनन्। किसानले मूल्य नपाएर आफ्ना उत्पादन सडकमा पोख्छन्, बिचौलियाले अस्वाभाविक मूल्य तोक्छन्। उपभोक्ता भने मूल्य र गुणस्तरमा सधैं ठगिन्छन्। राज्य मूकदर्शक बनिदिन्छ। उद्योगी–व्यापारीको उस्तै निराशा। व्यापार छैन। आम्दानी गरौंला रोजगारी दिउँला भनेर महत्वाकांक्षी योजना बनाएर सुरु गरेको व्यवसाय गर्दा लागेको ऋण बुझाउन भएभरको जग्गा–जमिन लिलाम गर्नु परेको छ।

अर्बौं खर्चेर काम सकेका निर्माण व्यवसायीहरू राज्यले भुक्तान नदिएका कारण निराश छन्, आक्रान्त छन्, भिक्टिम बनेका छन्। बैंकहरू लगानी योग्य क्षेत्र खोजिरहेका छन्। व्यापारीहरू भने व्यवसाय छोडेर पलायन हुन खोजिरहेका छन्। अस्थिर राजनीति, छिनछिनमा परिवर्तन हुने नियम–कानुनहरूले व्यवसायको दीर्घ जीवनमा शंका गर्छन व्यवसायीहरू।

व्यावसायिक सुरक्षा नहुने हो भने केही वर्षमा जेनतेन धानिएका उद्योग व्यवसाय पनि बन्द हुने खतरामा छन्। उकुसमुकुस जनतालाई राहत दिने राज्यका नीति समयमा बन्दैनन्। बनेका नीति लागू गर्न कार्यान्वयन निकायका नियति बन्दैनन्। जनताले कानुनको महसुस गर्दैनन्।

पद र प्रतिष्ठाका लागि जिम्मेवार व्यक्तिहरू जस्तोसुकै काम गर्न पनि पछि पर्दैनन्। राज्य सञ्चालन र सुशासनका लागि हुनुपर्ने राजनीतिक क्षेत्र आफ्ना कार्यकर्ता पालनपोषण गर्ने भर्ती केन्द्र बनेका छन्। कोही पनि राज्यप्रति गम्भीर देखिंदैनन्। सुशासन के हो ? असल शासन के हो ? राज्यका कर्तव्य र नागरिकका कर्तव्य सबैले स्वीकार गर्न सिके हुन्थ्यो। तालाचाबी किन बुझियो। बाचा–वचन किन गरियो। आफ्नै वचन सम्झिए हुन्थ्यो।

देशमा रोजगारी सिर्जना गर्न उद्योग तथा व्यावसायिक क्षेत्रमा सकारात्मक वातावरण निर्माण गर्न, स्वदेशी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, लगानी आकर्षित गर्न, निर्यात प्रवर्धन मार्फत व्यापार घाटा कम गर्न, अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन सुधारका क्षेत्र पहिचान गरी सोही अनुसार कार्ययोजना तयार गरी तत्काल कर्यान्वयन गर्नु जरूरी छ।

आफ्नै कारणले निराश नेता अनि तिनका कारणले निराश जनता। समाजमा नैराश्यता र नकारात्मक सोचाइ यति हावी छ कि! गफ चुटे जस्तो गरी जिम्मेवारी कसैले लिन चाहँदैन। आफ्नै घरछेउको सरसफाइ किन भएन भन्ने हो भने सरकारलाई दोष दिन्छन्। सबै सरकारले गर्ने पनि होइन हुन त यहाँ जनता कमै भेटिन्छन्।

कार्यकर्ता नै धेरै छन्। त्यसैले त गर्नुपर्नेमा विरोध विरलै हुन्छ। आफ्नो नेताको पालो परेन भने घर अगाडिको बाटो बनाउन पनि अवरोध गर्ने भेटिन्छन्। दोषी को ? चस्मा कि नजर ?

आ-आफ्नै तर्क र बलमिच्याइँ चल्छ भने किन चाहियो देशमा कानुन ? देशमा कानुन पनि छ र ? सहज उपचार छ र देशमा ? नेपालमा पनि सिस्टम छ र ? तपाइँको पढाइ यहाँ काम लाग्छ र ? तपाइँको तलब कति छ खान पुग्छ कि गाडी चढ्न पनि पुग्छ ? अहिलेका पुस्ताको प्रश्न हो यो। म त प्रतिनिधि पात्र हुँ। म जस्ता धेरै निराशाभित्र आशा खोजिरहेका पात्रहरू अहिले आफैंलाई प्रश्न गर्न थालेका छन् साँच्चै म विदेश किन गईनँ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?