+

गर्भवतीले यात्रा गर्दा के जोखिम हुनसक्छ ?

२०८१ असोज  १६ गते ८:४० २०८१ असोज १६ गते ८:४०
गर्भवतीले यात्रा गर्दा के जोखिम हुनसक्छ ?

गर्भावस्थाको यात्रा किन जोखिमपूर्ण हुन्छ ? धेरैको मनमा यो प्रश्न आउन सक्छ । गर्भावस्थामा यात्रा गर्नै नहुने भन्ने होइन । छोटो दूरीको बाटो राम्रो छ भने सावधानीपूर्वक यात्रा गर्दा कुनै फरक नपर्न सक्छ । तर, पहिलो त्रैमासिक र अन्तिम त्रैमासिक नजिक गर्भावस्था छ, गन्तव्य टाढा छ भने बच्चा मात्र नभई आमाको स्वास्थ्य जोखिममा पर्न सक्छ । त्यसैले, हवाई होस् वा बस यात्रा गर्नुअघि एकपटक सोच्नै पर्छ ।

पहिलो त्रैमासिकमा यात्र गर्दा के हुन्छ ?

हर्मोनल परिवर्तनको कारण मर्निङ सिकनेस चरममा हुन्छ । जसमा वान्ता आउने, टाउको दुख्ने र थकान अनुभव जस्ता समस्या दिनहुँ देखिन्छ । वान्ता उसै पनि हुने बेलामा यात्रा गर्दा औसतभन्दा बढी वान्ता हुनसक्छ । जसले शरीरलाई शिथिल पार्छ । त्यही माथि बच्चाले राम्रोसँग ठाउँ लिइसकेको हुँदैन । यस्तोमा लामो दूरीको यात्रा गर्दा गर्भपातको जोखिम हुने सम्भावना अत्यधिक रहन्छ ।

तर, छोटो दूरीको खाल्डाखुल्डी नभएको स्थानमा विस्तारै सवारी चलाएर यात्रा गरेमा खासै जोखिम हुँदैन ।

तेस्रो त्रैमासिकमा यात्र गर्दा के हुन्छ ?

गर्भावस्थाको अन्तिम तीन महिनामा यात्रा गर्नु झन् घातक हुनसक्छ । किनकि यो समयमा यात्रा गर्दा सालको पानीको स्तर घट्न सक्छ । र, जुनसुकै बेला फुटेर मिति अगावै जुन ठाउँमा पनि व्यथाले च्याप्न सक्छ ।

नेपालको सन्दर्भमा भन्ने हो भने भौगोलिक रूपमा न बाटोघाटो राम्रो छ न त ठाउँ ठाउँमा अस्पतालकै पहुँच छ । त्यसकारण प्रसव राम्रोसँग बाटोमै गराउने अवस्था पनि रहँदैन ।

दोस्रो त्रैमासिक कम जोखिम

गर्भावस्थाको दोस्रो त्रैमासिक १४ महिनादेखि २२ साताको समय सुरक्षित यात्राको लागि तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । किनकि यो समयमा हर्मोनको स्तर सन्तुलनमा आउने, वान्ता जस्ता लक्षण कम भइसकेको हुन्छ । साथै, शरीरमा ऊर्जा पनि उत्तिकै रहने र बच्चाले एक निश्चित आकार बनाइसकेको हुन्छ ।

यद्यपि, लामो यात्राबाट जोगिनैपर्छ, किनभने लामो यात्राको क्रममा बस्न गाह्रो हुने र भनेको बेलामा पिसाब आएमा गर्न नपाउने र खुट्टा सुन्निने समस्या हुन्छ ।

त्यस्तै, यो समयमा गर्भवती महिलाको प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । जसका कारण लामो यात्रा गर्दा संक्रमणजन्य रोग छिटो सर्ने सम्भावना रहन्छ । त्यसैले, यो समयमा सकेसम्म यात्राबाट जोगिनु उचित हुन्छ ।

चाहे पहिलो, दोस्रो होस् वा तेस्रो त्रैमासिक जुन समयमा पनि लामो समयसम्म गाडीमा यात्रा गर्ने हो भने शरीरमा एकै ठाउँमा हलचल नगरी बस्दा रक्त संचार राम्रोसँग हुन पाउँदैन । जसकारण खुट्टा पनि सुन्निएको हुनसक्छ । यस्तोमा रगत जमेर बच्चामा र आमाको मस्तिष्कसम्म पुगेर अवस्था जटिल पार्न सक्छ ।

हवाई यात्रा तुलनात्मक रूपमा सुरक्षित

गर्भावस्थामा यात्रा गर्नै परेमा प्लेनमा यात्रा गर्नु उपयुक्त हुन्छ । प्लेनमा यात्रा गर्दा छिटो अवधिमै पुगिन्छ । राष्ट्रिय स्तरको हवाई यात्रा ३२ सातासम्म र अन्तर्राष्ट्रिय हवाई विमानमा २८ सातासम्म हवाई यात्रा सुरक्षित मानिन्छ ।

तर, प्लेनलाई पनि पूर्ण रूपले सुरक्षित मान्न सकिंदैन । किनकि प्लेन जति उचाइमा पुग्यो त्यति हावाको चाप बढेर अक्सिजनको स्तर कम हुनसक्छ । यात्रा जुनसुकै होस् यात्रा गर्नु अघि स्त्री–रोग चिकित्सकको परामर्श लिनु अनिवार्य छ ।

गर्भावस्था यात्रामा यी लक्षण देखिंदा तत्काल पायक पर्ने अस्पताल लगिहाल्नुपर्छ

—पेटमा दुखाइ हुँदै ढाड र खुट्टामा फैलिनु ।

—योनीबाट अचानक रगत बग्नु ।

—लगातार पानीको चुहावट र टाउको दुखाइ ।

—धमिलो दृष्टि वा आँखा अगाडि कालो देखिएमा रक्तचाप बढेको संकेत भएको बुझ्न सकिन्छ ।

—हात खुट्टा सुन्निने ।

यात्रा गर्नै परे के कस्ता कुरामा ध्यान दिने ?

—गर्भको अवस्था हेरेर चिकित्सकको सुझाव अनुसार मात्र यात्रा गर्नुपर्छ ।

—यदि सुरुदेखि नै गर्भमा समस्या छ भने छोटो दूरीकै यात्रा गर्दा पनि  अलि बढी ध्यान पु¥याउनुपर्छ ।

—गर्भावस्थामा गाडी चलाएर वा बसेर लामो दूरीको यात्रामा जानुपर्ने बाध्यता छ भने बाटोमा स–सानो ब्रेक लिएर आराम गर्दै जानुपर्छ ।

—बाटोमा हातखुट्टा हल्का चलाउँदै ब्रेक लिंदै जानुपर्छ ।

—छोटो दूरीको यात्रा जस्तो दुई–तीन घण्टाको राम्रो पिच बाटो छ भने विस्तारै सवारी साधन रोक्दै–रोक्दै जान मिल्छ ।

—अलि लामो दूरीको यात्रा गर्नुपर्नेछ भने जहाजबाट गर्नु राम्रो हुन्छ ।

—आफूलाई हाइड्रेट राख्ने र तापक्रम अनुकूल लुगा लगाउने ।

गर्भावस्था

धेरै कमेन्ट गरिएका

डा. कुमकुम झा
लेखक
डा. कुमकुम झा
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३५२६ अध्ययन : एमबीबीएस, एमडी र एमएस हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र त्रिपुरेश्वरस्थित ब्लुबर्ड इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय