+
+

लम्बियो मनसुन, दशैंको टीका अघिसम्म पनि पूर्णरुपमा बाहिरिने सम्भावना कम

नेपालको पूर्वी भागबाट प्रवेश गर्ने मनसुन पश्चिम भागबाट बाहिरिन सुरु गर्छ । सुदूरपश्चिमबाट यसै हप्ता मनसुन बाहिरिने संकेत देखिए पनि कोशी प्रदेशमा दशैंको टीकासम्म मनसुन कायमै रहने सम्भावना छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते ९:०१

१६ असोज, काठमाडौं । नेपालमा यस वर्षको मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिक आज हो । तर मनसुन बाहिरिएको छैन ।

मौसमविद प्रतिभा मानन्धरले अहिलेसम्मको अवस्था हेर्दा अक्टुबरको दोस्रो हप्तातिर मात्रै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना रहेको बताइन् ।

सुदूरपश्चिमका जिल्लामा यसै हप्ताबाट मनसुन बाहिरिन सुरु गरे पनि कोशी प्रदेशमा भने दशैंको टीकाको दिनसम्मै मनसुन कायम रहने सम्भावना छ । यस वर्षको दशैंको टीका असोज २६ गते अर्थात् अक्टुबर १२ तारिकमा छ ।

‘मनसुनी वायु रहेसम्म वर्षाको सम्भावना पनि कायमै रहने भएकाले कोशी प्रदेशमा हिले दशैंको सम्भावना रहन्छ,’ मौसमका अध्येता डा. धर्मराज उप्रेतीले अनलाइनखबरसँग भने, ‘तर अघिल्ला दिनहरुको जस्तो भारी र अति भारी वर्षा भने हुँदैन ।’

सुदूरपश्चिमका जिल्लामा भने मनसुन छिट्टै बाहिरिन सुरु हुने सम्भावना छ । सम्भवत सुदूरपश्चिममा आगामी शनिबारदेखि मनसुन बाहिरिन सुरु हुनेछ । तर पूरै नेपालबाट बाहिरिने सम्भावना भने अक्टुबर दोस्रो हप्तातिर मात्रै रहेको मौसमविदको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले भने, ‘नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन केही दिन लाग्ने सम्भावना छ, हामी त्यसलाई नजिकबाट हेरिरहेका छौं र अत्यावधिक गर्दै जाने छौं ।’

हाल भारतको गुजरात र पश्चिमको आसपासबाट मनसुन बाहिरिसकेको छ । तर भारतको सबै भूभागबाट भने बाहिरिसकेको छैन । मनसुनी वायुलाई धकेल्ने त्यो पश्चिमी वायु भारतको उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिमको भूभागमा प्रवेश गरेर पूर्वतिर सर्दै जाने छ ।

नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । तर यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १० अर्थात् जेठ २८ गते) नेपाल भित्रिएको थियो ।

नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालेको वर्ष १९६८ देखि हालसम्म सबैभन्दा ढिलो सन् २०१३ मा मनसुन बाहिरिएको थियो । सो वर्ष १९ अक्टुबरमा मनसुन बाहिरिएको रेकर्ड छ । यसैगरी सबैभन्दा छोटो अवधि सन् १९७९ मा ७३ दिनसम्म (जुन २४ देखि सेप्टेम्बर ४सम्म) मात्र मनसुन कायम थियो ।

जुन, जुलाई, सेप्टेम्बर र अक्टुबर चार महिनालाई मनसुनको अवधि मानिन्छ । यी चार महिनाको सरदर ११२ दिनको अवधिमा झण्डै १५ सय मिलिमिटर वर्षा हुन्छ । यस वर्ष असोज दोस्रो सातासम्म पूर्वानुमान गरिएअनुसार नै सरदरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविदका अनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ । यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?