+
+

मुसहर समुदायमा जन्मदर्ता न नागरिकता

सरकारले नागरिकता समस्या समाधानका लागि त्यस सम्बन्धी ऐन नै संशोधन गरेको छ तर समस्या समाधान अझै हुन सकेको छैन । बुबा–आमाले नागरिकता नपाउँदा तिनका सन्तान शिक्षा, पोषण सुविधाबाट बन्चित छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ असोज १६ गते १८:२०
आफ्नो परिवार र सन्तानका साथ मुसहरबस्तीका ४६ वर्षीय जागेश्वर सदा मुसहर। तस्वीर : शैलेन्द्र महतो/अनलाइनखबर

१६ असोज, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १३ किरतपुरको मुसहरबस्तीका ४६ वर्षीय जागेश्वर सदा मुसहरका चार सन्तान छन् । एक छोरा १२ वर्षीय सनिकुमार सदा र तीन छोरी १० वर्षीया शिवानी, ८ वर्षीया सरिता र ६ वर्षीया सिया ।

घर छेउमै प्राथमिक विद्यालय भए पनि उनीहरुले पढ्न पाएका छैनन् । बालपोषण भत्ताबाट पनि बञ्चित छन् । किनभने ती बालबालिकाको जन्मदर्ता छैन । उनीहरुको जन्मदर्ता नहुनुको कारण हो बुवा जागेश्वर र आमा लालीदेवीको नागरिकता नहुनु ।

‘बालबच्चा स्कुल पढ्न जाँदा भर्ना गराउन जन्मदर्ता खोज्छ । वडामा जन्मदर्ता बनाउन जाँदा आमाबुबाको नागरिकता खोज्छ । हाम्रो नागरिकता छैन,’ जागेश्वर भन्छन्, ‘दिनभर बच्चाहरु खेलेर बिताउँछन् ।’ पढ्न नपाएकाले उनीहरुको भविष्य बिग्रिन्छ कि भन्ने चिन्ता जागेश्वरलाई छ ।

जितन सदा र भट्टी देवीका तीन छोरा मध्येका माहिलो हुन् जागेश्वर । ४६ वर्षीय जागेश्वरको जन्मदर्ता छ तर नागरिकता छैन । उनका दाइ राजेश्वर र कान्छो भाइ बिन्देश्वरको भने नागरिकता छ ।

दाइ र भाइको नागरिकता २०६३ मा घुम्ती टोली पुग्दा बनेको थियो । तर जागेश्वर भारतमा रोजगारीमा रहेकाले उनी नागरिकता बनाउन छुटे । भारतबाट फर्किएपछि नागरिकता बनाउन धेरै पटक जिल्ला प्रशासन कार्यालय पुगे पनि नागरिकता नबनेको उनको भनाइ छ । ‘धेरै वर्ष पहिले पटक–पटक सिडिओ कार्यालय पुगेँ । तर नागरिकता बनेन,’ जागेश्वरले भने, ‘हामीलाई साँझबिहान के खाने भनेर सोच्नुपर्छ । प्रशासन कार्यालयमा जान–आउन बस र रिक्सा भाडा चाहियो । पछि त जानै छाडेँ ।’

अहिले त जागेश्वर र उनकी श्रीमती लालीदेवी प्यारालाइसिसको समस्याबाट पीडित छन् । दुवै जनाको शरीरको वायाँ भागमा प्यारालाइसिसको समस्या भएपछि त झन् प्रशासन कार्यालय धाउनै सकेनन् । ‘हामी दुवै जनाको बायाँपट्टीको शरीरको भागमा पारालाइसिस छ । राम्ररी हिँडडुल र भारी काम गर्न सक्दैनौं’ जागेश्वर भन्छन् ।

उनको सम्पतिको नाममा डेढ धुर ऐलानी जग्गामा बनेको फुसको घर छ । आर्थिक विपन्नता र शरीरिक अपांगताको समस्याले थिचेपछि नागरिकता बनाउन नसक्दा उनका छोराछोरीको पनि नागरिकता बनेको छैन । त्यसैले छोराछोरी निरक्षर र अनागरिक हुने हुन् कि भन्ने चिन्ता जागेश्वरलाई छ ।

जागेश्वरकै जस्तो अवस्था छ बस्तीका ३० वर्षीय रामजतन सदा मुसहरको पनि । उनका जेठी छोरी १० वर्षीया निशा कुमारी, ८ वर्षीय छोरा निमेश सदा र ३ वर्षका रमित सदाको पनि जन्मदर्ता भएको छैन । जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना हुन नपाएको उनीहरु बताउँछन् ।

‘स्कुलमा पढ्न जाँदा भर्नाको लागि जन्मदर्ता माग्छ । हाम्रो नागरिकता नै छैन । बालबच्चाको जन्मदर्ता कसरी बनाउनु !’ रामजतन समस्या सुनाउँछन् ।

रामजतन सानै हुँदा उनको बुबा दिनमा सदा मुसहर र आमा रेवती सदा बिते । रामजतनलाई आफन्तले हुर्काए । अलि ठूलो भएपछि भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्न थाले । फर्केर उदयपुरकी सुमन सदासँग बिहे गरे । गाउँमै बुवाको पालाको डेढ धुर ऐलानी जग्गामा झुपडी बनाएर बस्न थाले । ‘मेरो त कोही छैन, न केही कागजात । खै कसरी बन्छ नागरिकता र जन्मदर्ता’ रामजतन सुनाउँछन् ।

७० वर्षीया एकासो देवीको नै छैन नागरिकता

रामजतनकै छिमेकी २५ वर्षीय कुशेश्वर सदाका तीन छोरा छन् । ८ वर्षका अमर, ६ वर्षका अमरेश र ३ वर्षीय बिमलेश । उनीहरुको पनि जन्मदर्ता छैन । उनीहरुको जन्मदर्ता नहुनुको कारण हो कुशेश्वरको र उनकी श्रीमती सरिताको नागरिकता नहुनु ।

सरिता भन्छिन्, ‘हामी दुवै जनाको नागरिकता छैन । नागरिकता नभएपछि बच्चाको जन्मदर्ता बनेन । बालबच्चाको पोषण भत्ता पाइँदैन । स्कुलमा भर्ना पनि लिँदैन । सबैको भविष्य बर्बाद हुँदैछ ।’

कुशेश्वरको हाल भारतको मद्रासमा मजदुरी गर्न गएका छन् । उनको नागरिकता नहुनुको कारण हो आमा एकाशो देवीको नागरिकता नहुनु । नागरिकता भएका बुबा बृहस्पतिया सदा १० वर्षअघि खसे । कुशेश्वर आफ्नो नागरिकता बनाउन जाँदा आमाको पनि नागरिकता माग्छन् । त्यसकारण उनी नागरिकता बनाउन छाडेर घरपरिवार चलाउन मजदुरीमा गएको उनकी दिदी प्रमेश्वरी देवी बताइन् ।

‘भाइ नागरिकता बनाएर विदेश जाने योजनामा थिए । तर आमाको नागरिकता नहुँदा सीडीओ अफिसले बनाइदिएन । अनि नागरिकता बनाउन छाडेर जेठ महिनामा भारतको मद्रास मजदुरी गर्न गए’ प्रमेश्वरीले सुनाइन् ।

प्रमेश्वरीका अनुसार आमा एकाशो देवीको नागरिकता बनाउने प्रयासमा १५ हजार रुपैयाँ खर्च भइसक्यो । तर नागरिकता बनेन । कर्मचारीले धेरै पैसा लाग्ने भनेपछि कार्यालय जान छाडेको गुनासो प्रमेश्वरीको छ । ‘आमाको नागरिकता बनाउन धेरैपटक जिल्ला प्रशासन कार्यालयमा गयौं । १५ हजार रुपैयाँ पनि खर्च भयो । तर एकजना कर्मचारीले धेरै पैसा खर्च गरे मात्रै बन्छ भन्यो,’ प्रमेश्वरीले सुनाइन्, ‘यहाँ खान पुग्दैन । पैसा कहाँबाट ल्याउने भनेर जान छाड्यौं ।’ नागरिकता नबन्दा ७० वर्षको उमेरमा पनि एकाशो देवी सामाजिक सुरक्षा भत्ताबाट बन्चित छन् ।

धनुषाको सबैला नगरपालिका १३ किरतपुरका ७० घर मुसहर बस्तीमा नागरिकताको साझा समस्या छ । त्यहाँका बासिन्दा पुस्तौंदेखि ऐलानी जग्गामा बस्दै आएका छन् ।

धनुषाको सबैला नगरपालिका १३ किरतपुरका ७० घर मुसहर बस्तीमा नागरिकताको साझा समस्या छ । त्यहाँका बासिन्दा पुस्तौंदेखि ऐलानी जग्गामा बस्दै आएका छन् ।

धनुषाको सबैला नगरपालिका १३ किरतपुरका ७० घर मुसहर पुस्तौंदेखि ऐलानी जग्गामा बस्दै आएका छन् । स्थानीय ७० वर्षीय रामवृक्ष सदा कतिपयले घुम्ती टोलीका सदस्यलाई घुस खुवाएर नागरिकता बनाएको र कतिपयले नागरिकता बनाउनै चासो नदिएको बताउँछन् ।

स्थानीय बमभोल सदा गरिबी र अशिक्षाका कारण पहिले नागरिकता प्राथमिकतामा परेन । तर अहिले बल्ल नागरिकताको महत्व बुझ्न थालेको बताउँछन् ।

‘पहिले नागरिकता लिएर के हुन्छ भन्ने गर्थे । तर अब जहाँ जाँदा पनि परिचयपत्र खोज्छ । सरकारी सेवासुविधाको लागि जन्मदर्ता, नागरिकता खोज्न थालेको छ । त्यसैले अहिले बल्ल सबैले चासो लिएका छन्’ उनले भने । जन्मदर्ता र नागरिकता समस्याले पिरोलिएकाहरुलाई जनप्रतिनिधिहरुले पनि बेवास्ता गर्न थालेको गुनासो छ ।

यता वडाध्यक्ष देवनारायण महतो नागरिकताबाट बन्चितहरुको बारेमा आफू जानकार रहेको बताउँछन् । त्यसैले नागरिकता बनाइदिने सिफारिस गरिदिएको उनको भनाइ छ । ‘एकासो देवीको सबै सिफारिस गरिसकेको छु । नागरिकता नबनेको मलाई थाहा छैन । सम्पर्कमै आउनु भएन । जागेश्वरको नागरिकताको विषयमा कुरा भएको छ । दशैंपछि बनाइदिने जिल्ला प्रशासनले भनेको छ । पहल पनि गरेको छु’ उनले भने । रामजतनको समस्याबारे भने आफू अनभिज्ञ रहेको उनले बताए ।

सरकारले नागरिकता समस्या समाधानका लागि त्यस सम्बन्धी ऐन नै संशोधन गरेको छ । तर समस्या समाधान अझै हुन सकेको छैन ।

संशोधित ऐनमा २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था छ ।

ऐन कार्यान्वयनमा आएसँगै बाबुको पहिचान हुन नसकेका व्यक्ति र गैरआवासीय नेपाली नागरिकका नातिनातिनासम्मलाई नागरिकता दिने बाटो खुलेको छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?