+

किन आफूखुसी आइबुप्रोफेन खानु हुँदैन ?

आइबुप्रोफेन कस्तो औषधि ?

आइबुप्रोफेन एक ननस्टेरोइडल एन्टिइन्फ्लेमेटरी औषधि हो । जसले शरीरमा हुने दुखाइ, अंग सुन्निएको घटाउने र ज्वरो नियन्त्रणमा भूमिका खेल्छ ।

यसले शरीरमा गर्ने काम के हो ?

आइबुपोफ्रेनमा एन्टीपाइरेटिक र एनाल्जेसिक तत्व हुन्छ । एनाल्जेसिकले दुखाइ कम गर्ने र एन्टीपाइरेटिकले ज्वरो कम गराई शरीरको तापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

Advertisement

कस्तो अवस्थामा प्रयोग गरिन्छ ?

माइग्रेन, तनाव, दाँतसम्बन्धी दुखाइ, घाँटी सुन्निंदा, ढाड तथा मांसपेशी दुखाई, महिनावारीमा हुने तल्लो कम्मर तथा पेट दुखाइ र ज्वरो आएमा अस्थायी रुपमा आइबुपोफ्रेन प्रयोग हुन्छ ।

सम्भावित साइड–इफेक्ट

यो औषधि प्रयोगले पेट पोल्ने, मुटु पोल्ने, कब्जियत, पखाला लाग्ने, बान्ता हुने, रक्तचाप बढाउने जस्ता साइड-इफेक्ट देखिन सक्छ ।

कसले खान हुँदैन ?

मुटुको समस्या, ग्यास्ट्राइटिसका गम्भीर बिरामी, कलेजो तथा मिर्गौलामा रोग भएमा यो औषधिले जटिलता थप बढाउन सक्छ। यी समस्या हुँदा चिकित्सकलाई एकपटक सोध्नुपर्छ।

सावधानी

आइबुप्रोफेनको पनि आफ्नै मात्रा हुन्छ । सो औषधि कति खाने भन्ने कुरा चिकित्सकले बिरामीको अवस्था कतिको सामान्य वा जटिल छ, सो आधारमा खान सुझाउँछन् ।

‘ओभर द काउन्टर‘ नलिऊँ

सामान्य समस्या हुँदा पनि हत्तपत्त औषधि खानुको सट्टा एक पटक चिकित्सकको सिफारिस लिनु आवश्यक छ । किनकि औषधिको आफ्नै मात्रा र अवधि हुन्छ । यदि यी दुईको असन्तुलनले घातक परिमाण दिन सक्छ ।