+
+

पत्रकार बसन्त बस्नेतले ल्याए दोस्रो उपन्यास ‘सिमसारा’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १८:४५

काठमाडौं । पत्रकार तथा लेखक बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’ सार्वजनिक भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा फिल्म निर्देशक मीन भाम, संगीतकर्मी उज्ज्वल सागर, अस्मिता गौतम र लेखक बस्नेतले पुस्तक लोकार्पण गरे ।

यसअघि ‘महाभारा’ लेखेका बस्नेतको ‘सिमसारा’ दोस्रो उपन्यास हो भने कृतिका रुपमा तेस्रो हो । उनको पहिलो पुस्तक ‘७२ को विस्मय’ हो ।

विमोचनपछि निर्देशक भामले पुस्तकबारे समीक्षा गरेका थिए भने त्यसपछि अस्मिता गौतमसँग लेखक बस्नेतको अन्तरसंवाद भएको थियो । कार्यक्रमको सुरुवात गायक तथा संगीतकार उज्ज्वल सागरको २० मिनेट लामो पियानो प्रस्तुतिबाट भएको थियो ।

पुस्तकमाथि धारणा राख्दै चलचित्र निर्देशक मीन भामले आफू ‘सिमसारा’का पात्रहरूको प्रेममा परेको टिप्पणी गरे ।

‘भेटघाटका क्रममा साथीहरू सोध्थे— वास्तवमा तपाईं कसको प्रेममा हुनुहुन्छ ? म उत्तर दिन्नथें’ निर्देशक भामले भने, ‘तर वास्तवमा म पहिल्यैदेखि पारिजातको प्रेममा थिएँ । उनका उपन्यास एवम् कथाहरूको पात्रको प्रेममा थिएँ । अहिले पनि उत्तिकै प्रेम गर्छु । अहिले बसन्तजीको सिमसाराका पात्रहरूको प्रेममा परें ।’

लेखक बस्नेतले नेपालको पूर्वी क्षेत्र इलामको सेरोफेरोमा रहेर उपन्यास लेखेको र आफू कर्णालीको एउटा जिल्ला मुगुमा जन्मे–हुर्केको भए पनि कथा आफ्नै भनिदिएको जस्तो लागेको चलचित्र निर्देशक भामले जनाए ।

‘बसन्तजीले इलामको सेरोफेरोलाई आधार बनाएर उपन्यास लेख्नुभयो, तर म कर्णालीको मुगुको एउटा गाउँमा हुर्के–बढे पनि उहाँको र मेरो कथा मिल्दो रहेछ । मेरा बा पनि सरकारी जागिरे हुनुहुन्थ्यो, त्यति बेला मैले मेरी आमाको पीडालाई नजिकबाट नियालेको छु । ‘सिमसारा’ पढ्दा आफूलाई  बाल्यकालमा पाएको भामले बताए ।

कार्यक्रममा सांगीतिक प्रस्तुति दिने क्रममा गायक एवं संगीतकार उज्ज्वल सागरले यो पुस्तक आफूलाई असाध्यै मन परेको बताए । सरल भाषामा सुललित ढंगले लेखिएको उपन्यास ‘सिमसारा’ सबै पाठकलाई रुचिकर लाग्ने उनको भनाइ छ ।

प्रकाशक फाइनप्रिन्टका नीरज भारीले लेखक बस्नेत अहिलेको समयको उपहारका रूपमा आफूहरूले पाएको बताए । उनले भने, ‘बसन्त बस्नेत हाम्रा लागि अहिलेको समयको गिफ्ट हुनुहुन्छ । किनकि आख्यान र गैरआख्यान दुवै विधामा उहाँको कलम जबरजस्त चल्छ ।’

‘सिमसारा’मा सरल एवम् सहज रूपमा बसन्त बस्नेतले कथा बुनेको उनले बताए । ‘जुन मार्मिक छ, यथार्थपरक छ र हृदयस्पर्शी छ’ उनले भने ।

कार्यक्रममा लेखक बस्नेतले आफूले हृदय निचोरेर उपन्यास ‘सिमसारा’ लेखेको बताए । यसमा आफूले बाल्यकालमा देखेको र केही भोगेको कथालाई प्रस्तुत गरेको उनको भनाइ छ ।

‘परिवार भनेको युद्ध हो, शान्ति हो, माया हो, र अलिअलि अप्रेम पनि हो’ उनले भने, ‘मैले उपन्यासमा यसैको सेरोफेरोमा रहेर कथा बुनेको छु । मलाई लाग्छ, यसले तपाईंहरूको हृदय छुनेछ ।’

‘इमोसन’ मायाभित्र खतरनाक अभ्यासका रूपमा आउने गरेको उनले जनाए । यसलाई पनि आफूले उपन्यासमा उतारेको बस्नेतको भनाइ छ ।

पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो । ‘सिमसारा’को मूल्य ६५० रुपैयाँ राखिएको छ ।

लामो समयदेखि पत्रकारिता तथा लेखनमा सक्रिय बस्नेत अनलाइनखबर डटकमका सम्पादक हुन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?