+
+
स्थलगत :

बाढीले चाल्नाखेलमा ७० परिवारको बंगुर फार्म सोत्तर

विकास रोकामगर विकास रोकामगर
२०८१ असोज १६ गते २१:४५

१६ असोज, चाल्नाखेल । सुसाउँदै बगिरहेको बागमती निकै धमिलो छ । त्यही बागमती झैं धमिलिएको छ–नरबहादुर मगर (६८) को आशाको क्षितिज पनि ।

असोज १२ गते बिहानको बाढीले ८० वटा बंगुर खोरसहित सोत्तर बनाएपछि उनी निकै निराश छन् ।

नरबहादुर बाढीले भत्काएको बंगुरको खोरसम्म हरेक दिन आउँछन्, आँखा डुलाउँछन्, अनि साँझमा फर्किन्छन् । अब के गर्ने ? कुनै उपाय छैन ।

‘गाउँको जग्गाजमिन सबै बेचेर केही हुन्छ कि भनेर यही सुँगुर र हाँसमा लगानी गरेको थिएँ । केही बाँकी राखेन’, लामो खुइय ताने ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–१, चल्नाखेलमा नरबहादुरको सुँगुर खोर थियो । यहाँ उनले ४ वर्षअघि १५ लाख रुपैयाँ लगानीमा सुँगुर फार्म खोलेका थिए । त्यसअघि जडिबुटीमा पनि सुँगुर नै पालेका थिए । ‘त्यहाँ टाउन प्लानिङ गर्ने भनेर हटाएपछि चल्नाखेल आएँ’, नरबहादुरले भने ।

८० वटा बंगुरमध्ये ४० वटा यही दशैंका लागि बेच्ने तयारी थियो । बाँकीचाहिँ केही माउ सुँगुर थिए अनि केही पाठापाठी । त्यहीँ ६० वटा हाँस पनि पालेका थिए ।

सबै बागमतीको बाढीमा हेलिए ।

भूकम्पले घर ढाल्यो, बाढीले बाँच्ने आधार

नरबहादुरमाथि परेको बज्रपात यो पहिलोपल्ट भने होइन । ०७२ वैशाखको विनाशकारी भूकम्पले दोलखामा भएको उनको घर भत्काइदिएको थियो ।

भत्किएको घरको आडमा केही समय छाप्रा बनाएर बसेपनि आम्दानी केही थिएन । त्यसैले कमाउने बाटो खोज्दै काठमाडौं पसेका थिए ।

०७६ सालतिर काठमाडौं झरेका नरबहादुरले गाउँले साथीभाइले सुँगुर पालनबाट राम्रो आम्दानी गरिरहेको देखे । अनि, गाउँको जमिन सबै बेचेर त्यसैमा लगानी गरे । तर, त्यही लगानी पनि बागमतीको बाढीसँगै बगेर गएको छ ।

‘हामीजस्तो गरिबलाई जहाँ गए पनि केही नहुने रैछ । न घरमा राम्रोसँग बस्न पाइयो, न यता व्यापार नै गर्न पाइयो’, नरबहादुरले दुःख पोखे, ‘उता गाउँमा भूकम्पले घर भत्काइदियो । यता बाढीले भत्कायो । अब यहाँदेखि कहाँ जाने होला ?’

बसिरहेको टहरो समेत बाढीले बगाएपछि उनले गाउँमाथि एउटा कोठा भाडामा लिएका छन् । बुधबार बाढीग्रस्त चल्नाखेल पुग्दा उनी छोरासँगै बचेखुचेका सामान ओसारिरहेका थिए ।

साउदीको कमाइ स्वाहा

बंगुर फार्म बगर बनेपछि रसुवाका टेकबहादुर तामाङको परिवार पनि ठाउँ छोडेर जाने तर्खरमा छ ।

उनले साउदीमा ८ वर्ष कमाएर ल्याएको कमाइ बुंगुर र हाँस पालनमै खर्चिएका थिए । १२ गते मध्यरातमा आएको बाढीले उनको परिवारलाई तहसनसहस बनाएर गयो ।

‘यस्तो पनि दिन आउला भन्ने कहिल्यै सोचिएको थिएन । ६५ वटा सुँगुर बाढीले बगाइदियो । हामीसँग एउटा कुकुर र केही परेवामात्रै बचे’, तामाङले भने, ‘जीवनभरको कमाइ सबै खोलामा गयो ।’

श्रीमती र छोरासहित त्यहाँ बंगुर र कुखुरापालन व्यवसाय गरेका तामाङ, २० लाखभन्दा बढीको सुँगुर बगेको सुनाउँछन् । ‘पहिलेपहिले खोला केही बढ्थ्यो, तर यतिसारै गरेको थिएन’ उनले भने, ‘राति घरभित्र खोला पस्न थालेपछि ज्यान जोगाउन भागाभाग भयो । मान्छे बच्यौं, अरु केही बाँकी रहेन ।’

चल्नाखेल क्षेत्रमा ७० जनाभन्दा बढी कुखुरा र बंगुर फार्म थिए । मुख्य बजार क्षेत्रमा बंगुरपालन गर्न नपाएपछि उनीहरु चाल्नाखेलमा जम्मा भएका थिए ।

बाढीले फार्म सबै बगाएपछि केही व्यवसायीले भने बचेखुचेका सामान बोकेर बसाइँ सरिसकेको उनीहरुले बताए । ‘अब यहाँ यो बगर हेरेर मात्रै के गर्नु र ? केही विकल्प छैन । अन्त कतै जग्गा पाइयो भने केही काम गर्नुपर्ला’, तामाङले अनलाइनखबरसँग भने, ‘खै त्यो पनि भनेको बेला के नै पो होला र ?’

टेकबहादुर जस्तै दमकका गंगाबहादुर मादेन १२ वर्ष साउदी अरबको चर्को गर्मीमा पाखुरा घोटेपछि ४ वर्षअघि नेपाल फर्किएका थिए । खाडीमा कमाएको केही बचत थियो, नेपालमै केही गर्ने सपना पनि । चल्नाखेलमै बंगुर पालन गर्दै आएका एकजना छिमेकी दिदीले त्यसमा लगानी गर्न सुझाइन् ।

काठमाडौंदेखि नजिकै र बजार माग पनि राम्रो माग रहेकाले उनले करिब ४० लाख लगानीमा ‘गंगा कुखुरा तथा पशु फार्म’ दर्ता गरे । ओसार पसारका लागि गाडी किने, वार्षिक १ लाख २० हजार रुपैयाँ तिर्ने गरी २ रोपनी जग्गा भाडामा लिए ।

गएको वर्ष हुर्किएर बेच्न तयार भएकै अवस्थामा अज्ञात रोगले ११५ वटा बुंगुर सबै मरे । उनले हिम्मत हारेनन् । कृषि विकास बैंकबाट ४० लाख रुपैयाँ ऋण लिएर बुँगुर हाले ।

‘खोरमा ६८ वटा बंगुर थिए । ११ सयवटा हाँस हुर्किसकेका थिए’, मादेनले भने, ‘बेच्न तयार भइसकेका थिए । त्यही बेचेर दसैं मनाउने कत्रो सोच थियो । सबै गयो । अब त खै ऋण पनि कसरी तिर्ने ?’

खाइनखाई बचत गरेको पैसा सबै त्यसैमा लगानी गरिसकेका छन् । दशैंको छेकोमा बंगुर र र हाँस बेचेर कम्तीमा ५० लाख रुपैयाँ जति उठाउने उनको सपना थियो । उनले निराशा पोखे, ‘दशैंको बेला बाढी दशा बनेर आइदियो ।’

मादेनले गाडी खोलाभन्दा पर खाली जग्गामा राखेका थिए । माथिबाट आएको खोल्साले धार बदलेर गाडी आधा पुरिदिएको छ । ‘झन् त्यहाँ सुरक्षित हुन्छ भनेर अलि माथि गाडी राखेको थिएँ । त्यहाँ पनि खोल्साबाट बाढी आएर पुरिदिएछ’, उनले भने ।

यो पनि बगाएको भए हुन्थ्यो !

नख्खुखोला किनारमा बंगुर पाल्दै आएका दोलखाका राम तामाङ फागुनमा मात्रै चल्नाखेलमा फार्म सारेका थिए । फार्मको रेखदेख गर्न उनी नख्खुबाट आउजाउ गर्दै आएका थिए ।

शुक्रबार बंगुर र हाँसलाई दानापानी दिएर कोठा निस्किँदै गर्दा पानी परिरहेको थियो । तर बागमतीले आकार बढाइसकेको थिएन । ‘जानेबेला पनि एकपटक पानी हेरेरै गएको हो, त्यस्तो बिगार गर्ला भन्ने लागेको थिएन’, उनले भने ।

तर, रातिसम्म पनि पानी थामिने संकेत नदेखेपछि तामाङको मनमा डर पस्यो । चल्नाखेल बंगुर फार्म क्षेत्रमा रहेका आफन्तलाई फोन गरेर अवस्था सोधे । उनीहरुले ‘केही भएको छैन’ भन्ने जवाफ दिए । तर राम ढुक्कले सुत्न सकेनन् ।

नख्खुखोलामा आएको बाढीले उनको टहरो जम्मै बगाइदियो । रातारात भागेर ज्यान त जोगाए, घरमा रहेका केही सामान बचेन । नख्खुको बास बाढीले उजाडिदिएपछि शनिबार बिहानै चल्नाखेलको अवस्था बुझ्न खोजे, फार्ममा रहेका आफन्तलाई फोन लाग्न छोडिसकेको थियो ।

उनी आउन खोजेका थिए, तर पानीले चल्नाखेलसम्म आउने अवस्था थिएन । ‘आफ्नै भताभुंग भइसकेको फार्म हेर्न पनि ३ दिनमा बल्लबल्ल आउन सकें’, उनले भने ।

तामाङको ६० वटा बंगुर थिए, त्यसमध्ये ५५ वटा सबै बागमतीमा आएको बाढीले बगाइदिएको छ । ‘कोही बेच्ने तयारी थिएँ, कोही माउ र पाठापाठी पनि थिए, सय वटा हाँस थिए’, उनी निराशा पोखे ‘बरु यो ५ वटा सुंगुर पनि बगाइदिए जाति हुन्थ्यो । यिनीहरुलाई के खुवाउने ? घाँडोमात्रै भए झन् ।’

बस्तीमा फैलिएको छ दुर्गन्ध

चाल्नाखेल क्षेत्रमा कति सुंगर, बुंगर तथा हाँस फार्म थिए भन्ने यकिन विवरण नगरपालिकासँग छैन । वडाध्यक्ष जय थापा मगरका अनुसार यो क्षेत्रको धेरै जग्गाधनी खोकनाका छन् ।

उनीहरुले नै बार्षिक रुपमा भाडामा दिए । एकपछि अर्को गर्दै सुंगर, बुंगर तथा हाँस फार्म खुले । तर दुर्गन्ध फैलिएको भन्दै स्थानीय फार्म दर्ता नगर्न स्थानीय तहलाई दबाब दिए ।

त्यसैले नगरपालिकाले यस्ता फार्महरु न दर्ता गरेको छ, न हटाउन सकेको थियो । मेयर मोहन बस्नेत भन्छन्, ‘कति फार्म थिए भन्ने यकिन विवरण हामीसँग छैन । ३ दिनभित्र नगरपालिकाभित्र कति पशुधनको क्षति भयो यकिन भनेर प्रतिवेदन पेश गर्न भनेका छौं । त्यो प्रतिवेदन आएपछि भन्न सकिएला ।’

स्थानीय व्यवसायीहरु भने यो क्षेत्रमा ७० भन्दा बढी परिवारले सुंगर, बंगुर तथा हाँसपालन गर्ने गरेको बताउँँछन् । उनीहरुका अनुसार फार्म क्षेत्रमा जाने बाटो मर्मतका क्रममा रकम पठाइएको थियो, त्यसक्रममा यो संख्या खुलेको हो ।

शुक्रबारदेखि शनिबारसम्म परेको भारी वर्षासँगै आएको बाढीले अधिकांश फार्म बगाएको छ । चल्नाखेलका बुगुर व्यवसायीका अनुसार बाढीले करिब एक हजार वटा सुँगुर बगाएर लग्यो भने हजारौं हाँस तथा कुखुरा मारिदिएको छ ।

२० करोड रुपैयाँभन्दा बढी क्षति भएको छ ।

दशैंको मुखमा आएको बाढीले व्यवसाय नै चौपट बनाएपछि बस्तीमा सन्नाटा छाएको छ । ‘यहाँ त एउटा समाज भइसकेको थियो । सबै मिलेर २/४ वटा बुंगुर काट्ने, रमाइलो गर्ने सल्लाह थियो’, टेकबहादुर भन्छन्, ‘सल्लाह राम्रोसँग गर्न नपाउँदै बाढीले खाइदियो । अब यस्तो समयमा कसरी दशैं मनाउने ?’

कालीकोटबाट आएर तरकारीसँगै कुखुरा पाल्दै आएकी धनषा बिकलाई त झन् साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ताले सताएको छ ।

२ जना छोराछोरीसहित त्यहाँ बसेकी उनको १६/१७ हजार रुपैयाँ बराबरको हाँस र तरकारी खेती सबै बग्यो । ‘कोठामा बस्न सक्ने अवस्था छैन, खानेकुरा पनि छैन’, भन्छिन्, ‘खेतीपाती गर्न ऋण लिएको थिएँ, त्यो पनि कसरी तिर्ने अर्को तनाव छ ।’

बाढीले क्षति पुर्‍याएका सुँगुर, कुखुराले बस्तीभरि बस्नै नसक्ने गरी दुर्गन्ध फैलिएको छ ।

माथिल्ला तटीय क्षेत्रबाट ल्याएका वस्तुभाउ पनि त्यहीं रोकिएका छन् । त्यहाँका व्यापारी मिलेर बुधबार पनि मरेका सुंगुर, बगुर र कुखुराहरु खोलामा बगाए ।

तर, कसरी पो सम्भव हुन्थ्यो ? ‘कुहिएर गन्हाएर बसिनसक्नु छ । लठ्ठीले धकेल्दै केही त खोलामै बगादियौं, तर अझै सकिएका छैनन्’, मादेन भन्छन्, ‘व्यापार त चौपट भयो भयो, महामारी फैलिएला भन्ने अर्को डर भो ।’

तर बढीले धेरै बंगुर मरेर दुर्गन्ध फर्लिएको भन्दै वडा नम्बर १ का वडाध्यक्ष जय थापा मगरले व्यवस्थापनका लागि पशु शाखालाई आग्रह गरेका छन् । उनले अनलाइनखबर भने, ‘रोकथाम गर्ने उपाय गरौं भनेर मेयरलाई भनेको छु । भोलि पशु शाखाका कर्मचारी जान्छन् होला । स्प्रे गर्ने भन्ने छ ।’

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?