+
+

बंगलादेशमा विद्युत बेच्न भोलि त्रिपक्षीय सम्झौता, सुनकोशी–३ बनाउने कम्पनी स्थापना हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते २१:४८

१६ असोज, काठमाडौं । नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गर्नका लागि भोलि बिहीबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

बुधबार काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअनुसार नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गर्नका लागि भोलि असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसि विद्युत व्यापार निगमबीच विद्युत बिक्री सम्झौता हुनेछ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका ऊर्जा सचिव सुरेश आचार्यका अनुसार सुनकोशी–३ जलविद्युत आयोजना नेपाल, बंगलादेश र भारत बीच सहकार्यपूर्ण सहभागिता आधारमा विकास गर्ने समझदारी पनि भएको छ ।

उक्त आयोजना विकास गर्ने सम्बन्धमा विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौतामा अर्को बैठक अगाडि टुंगो लगाउने समझादारी भएको छ ।

सुनकोशी–३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुर्‍याउने सुनिश्चितताका लागि भारत सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।

नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ ।

नेपालको जलविद्युत क्षेत्रमा लगानीको प्रवर्द्धन गर्नको लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरुको खोजी गर्ने सहमति पनि भएको सचिव आचार्यले जानकारी दिए ।

वैकल्पिक उर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र सस्टेनेबल एन्ड रिन्युएबल इनर्जी डेभलपमेन्ट अथुरिटी बंगलादेशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सम्बन्धी समझदारीलाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रुप दिने र हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।

नेपाल, बंगलादेश र भारतबीच विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विद्युत क्षेत्रमा सहकार्य गर्नका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गर्ने समझदारी पनि भएको सचिव आचार्यले जानकारी दिए ।

बैठकमा बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व विद्युत, उर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हविबुर रहमानले गरेका थिए ।

बैठकमा दुवै देशका सहसचिव सम्मिलित संयुक्त कार्य समूहको मंगलबारको बैठकले गरेका सिफारिसहरुमा छलफल भयो । बंगलादेशी पक्षले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत बंगलादेशले खरिद गर्ने विषयमा भएको छलफलबारे जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?