+
+

१६ महिनामा लुम्बिनी केबलकारमा पौने ३ लाख पर्यटक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते ८:०५

१७ असोज, बुटवल । बुटवलको लुम्बिनी केबलकारमा १६ महिनामा पौने तीन लाख पर्यटक आएका छन् ।

बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुर जोड्ने गरी बनेको केबलकार २०८० साल जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो । केबलकार सञ्चालनमा आएको १६ महिनामा आन्तरिक र वाह्य गरी २ लाख ८५ हजार पर्यटक भ्रमणमा आएका कम्पनीले जनाएको छ ।

आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको गरी डेढ अर्ब बढी लगानीमा बनेको लुम्बिनी केवलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

कुल पर्यटकमध्ये एक लाख ६० हजार नेपाली, भारतीयसहित सार्क राष्ट्रका २२ हजार र तेस्रो मुलुकका १०० जना पर्यटक लुम्बिनी केबलकार चढेर बसन्तपुर पुगेका कम्पनीका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले बताए ।

यस्तै कम्पनीले टिकट दरमा विशेष छुट दिएर सञ्चालन गरेको मर्निङ अफर, चाडपर्व अफर लगायतका अफरमा नेपाली र भारतीय गरी करिब ६९ हजार जना पर्यटकले केबलकार यात्रा गरेका अपरेसन म्यानेजर सैंजूले जानकारी दिए ।

बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुर्गा माताको मन्दिर छन् । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु आउने गरेको धर्मगुरु किशोर गौतम बताउंछन् ।

समुद्री सतहबाट ९४० मिटर उचाइमा रहेको बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको छ ।

केबलकारमा नेपाली संगै भारतको गोरखपुर, लखनउ लगायत उत्तर प्रदेशका विभिन्न शहरका पर्यटक समेत उल्लेख्य संख्यामा आउने गरेका केबलकारका व्यवस्थापक प्रज्वल घिमिरेल बताए ।

माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुरा, ज्वायन्ट स्वीङ (पिङ)लगायत पूर्वाधार बनेका छन् । बसन्तपुरबाट बुटवल, तिलोत्तमा हुंदै भैरहवासम्मको दृश्य र मौसम सफा हुँदा हिम श्रृंखला समेत देख्न सकिन्छ ।

अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६०० मिटर लामो छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।

विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर सैंजू बताउंछन् ।

‘पर्यटकलाई शहरको कोलाहलबाट मुक्त भई स्वच्छ, शान्त वातावरणमा दिनभर घुम्न र रमाउन सक्ने पुर्वाधार बनाएका छौ,त्यसैले पर्यटकको आगमन उत्साहजनक छ,’ घिमिरेले भने, ‘पर्यटकको माग र चाहना अनुसार सुविधा थप्दै यसलाई प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउंदैछौं ।’

केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले बसन्तपुरलाई प्रमुख पर्यटकीय थलको सूचिमा सूचीकृत गरेको परिषद्का प्रमुख रामु जोशीले बताए ।

लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बुटवल र बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको र बुटवलको व्यवसाय चलायमान भएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

केबलकारले प्रति टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिंदै आएको छ । यसबाट दुवै पालिकाको राजस्व वृद्धिमा योगदान पुगेको छ । यहाँ करिब सय जनाले रोजगारी पाएका छन्, जसमा स्थानीयको बाहुल्यता छ ।

केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

लगानी अनुसारको प्रतिफल प्राप्त गर्न आन्तरिक पर्यटक मात्र पर्याप्त नहुने भएकाले भारतीय पर्यटक भित्राउन आगमन संख्या बढाउन र बसाई लम्ब्याउन सरकारले नीतिगत सुधार गर्र्नुपर्ने अध्यक्ष ढकालको माग छ । ‘भारतसंग सीमा नाका जोडिएको जिल्लाको कम्तीमा चुरे फेंदीसम्म भारतीय पर्यटकलाई आफ्नै सवारी साधनमा सहजरुपमा आउन र चाहेजति रकम नेपालमा खर्च गर्न पाउने व्यवस्था सरकारले गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘अर्कोतर्फ भारतीय पर्यटकको सवारी साधनलाई अनसुरक्षा निकायबाट हुने अनावश्यक चेकजांच पनि रोक्नुपर्छ ।’

उत्तर प्रदेशको २४ करोड जनसंख्याको एक–दुई प्रतिशत जनसंख्यालाई हरेक वर्ष रुपन्देही भित्राउन सके पर्यटन क्षेत्रमा भएको लगानीको प्रतिफल प्राप्त हुने र त्यसले समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

बुटवलमै स्थानीय लगानीकर्ता रहेको सिद्धार्थ केबलकार पनि सचालनको तयारीमा छ । भारतीय प्रविधिको उक्त केवलकार लुम्बिनी भन्दा झण्डै आधा छोटो दूरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?