+
+

अमेरिकामा नेपोलियनको जग्गा किनेर संस्कृति प्रवर्द्धनमा नेपाली समुदाय

विष्णु शर्मा विष्णु शर्मा
२०८१ असोज १७ गते ९:५८

१७ असोज, काठमाडौं । ओकको हरियाली वन छिचोल्दै बाल्टिमोरदेखि उत्तरपूर्व हानिएपछि केही माइलको दूरीमा आइपुग्छ ग्लेन आर्म । चारैतिर हरिया रुख र घाँसले ढाकिएको चिटिक्कको यो बतासे थुम्को कुनैबेला फ्रान्सेली शासक नेपोलियन बोनापार्टको पुर्ख्यौली सम्पत्ति थियो ।

यतिबेला यो थुम्को नेपाली समुदायको स्वामित्वमा छ । ग्लेन आर्म डाँडाको एक हजार ९७१ रोपनीमा फैलिएको वन क्षेत्र जति मनोहर छ, उत्तिकै संस्कृति र ज्ञान हस्तान्तरणको माध्यम पनि ।

बोनापार्टको परिवारबाट सन् २०१७ मा जग्गा लिएपछि नेपाली समुदायले त्यहाँ यतिबेला हिन्दू-बुद्ध मन्दिर बनाएका छन् । यतिबेला यो थलो हिन्दू र बौद्ध धर्मावलम्वीको आस्थाको प्रतीक बनेको छ ।

यो जग्गाको आफ्नै ऐतिहासिक मूल्य छ । अमेरिकी राष्ट्रपति रुजभेल्टको समयमा ऊर्जामन्त्री र न्यायाधिवक्ता बनेका बोनापार्टका कजनको शेषपछि त्यो जग्गा बिक्रीमा राखियो । महँगो छ भन्ने जान्दाजान्दै नेपाली समुदायले त्यो जग्गा किने ।

हिन्दू र बौद्ध धर्मावलम्वीको आकर्षक गन्तव्य हिन्दू-बुद्ध मन्दिरमा दैनिक २०० भक्तजन पुग्छन् । स्वयम्भु र मुक्तिनाथजस्तै यो मन्दिर यी दुई धर्मावलम्वीको आस्थाको संगमस्थल हो । शनिबार, आइतबार र चाडपर्वमा यहाँ प्रार्थना हुन्छ । मन बहलाउन पनि ग्लेन आर्मको डाँडो उपयुक्त थलो हो । कतिपयका लागि सामाजिक सद्भाव आत्मसाथ गर्ने थलो पनि ।

यो थलो नेपालीको मात्र होइन बरु थाई, बर्मिज, भुटानी र भारतीयको पनि गन्तव्य बनिरहेको छ । मेरिल्याण्डमा नेपालीको संख्या बढ्न थालेपछि दैनिक पूजा, विवाह, व्रतवन्ध र श्राद्ध यहाँ हुन थालेको छ ।
जमरा राख्न पनि मुस्किल पर्ने, अपार्टमेन्ट र घरमा खुम्चिएका नेपाली समुदायले फराकिलो ढंगमा धार्मिक विधिको अभ्यास गर्न पाएका छन् ।

संस्कृति र सहिष्णुताको केन्द्र


अमेरिकामा बस्दै आएका नेपालीको पहिलो पुस्ता धर्म, संस्कृति संरक्षणमा जागरुक देखिन्छ, दोस्रो पुस्तामा नेपाली भाषा, संस्कृति र धर्मको प्रसारमा चिन्तित पनि । सन् २०१४ मा सामान्य भाषा स्कुलबाट सुरु भएको धर्म र संस्कृतिको केन्द्र बनाउने यो अभियान अहिले ग्लेन आर्मसम्म आइपुगेको हो ।

हिन्दु र बौद्ध मात्र होइन, इसाई धर्मावलम्बी पनि यो थलोमा पुग्छन् र धार्मिक सहिष्णुताको उदाहरण पेश गर्छन् । ‘यो थलो सांस्कृतिक केन्द्र बन्दैछ’ हिन्दू-बुद्ध मन्दिरका सचिव तथा पत्रकार तरुण पौडेल भन्छन्, ‘भाषा, संस्कृति र धर्मलाई जोड्नका लागि हामीले प्रयत्न गरिरहेका छौं । यो एउटा धार्मिक सहिष्णुताको थलो पनि हो । बढ्दो नेपाली जनसंख्या हेरेर पहिलो पुस्ताले संयोगवश यसको सुरुवात गरेको हो ।’

विदेशी भूमि, त्यो पनि अमेरिकामा नेपाली धर्मसंस्कार र संस्कृतिलाई जीवन्त तुल्याउनु चुनौतिपूर्ण हो । यसलाई सजीव तुल्याउन मन्दिर र हलबाट संकलन हुने मनग्य भेटी, विवाह र व्रतवन्धबाट प्राप्त हुने रकमले खर्च चलिरहेको छ । मेरिल्याण्ड राज्यले पनि बेलाबखत सहयोग पुर्‍याएकै छ ।

‘अमेरिकी कानूनअनुसार कुनै एउटा धर्मलाई राज्य र सरकारले सहयोग गर्न मिल्दैन’ पौडेल भन्छन्, ‘तर संस्कृति, भाषा, वृद्धवृद्धा र विभिन्न कार्यक्रम भनेर हामीले कनेक्सनबाट लिएका छौं । यसले आर्थिकरुपमा गतिशील तुल्याउन सजिलो भैरहेको छ ।’

अर्थ संकलनका लागि सन् २०१८ मा महायज्ञ पनि गरिएको थियो । सन् २०२४ मा गरिएको अर्को महायज्ञमा २० लाख डलर संकलन भएको थियो । अहिले राज्यबाट अनुमति लिने काम सबै सकिएको र सार्वजनिक थलो बनाउने काम तीव्ररुपमा भैरहेको पौडेल बताउँछन् ।

स्थानीय कानूनअनुसार सार्वजनिक थलो बनाएपछि पार्किङ, शौचालय, सुरक्षा संयन्त्रका पूर्वाधार, अपांगमैत्री हुनुपर्छ ।

अहिले नेपालबाटै पुजारी मगाएर पूजाआजा भैरहेको छ । स्वयंसेवकको रुपमा दुई जना बौद्ध लामा पनि छन् । लामाहरु बुद्धपूर्णिमा र बौद्ध धर्मको चाडबाडमा स्वयंसेवा गर्छन् ।

नयाँपुस्तालाई नेपाली भाषा, संस्कृति सिकाउँदै

यो ठाउँको निर्माण उद्देश्य नेपाली समुदायलाई जोड्नु रहेको पौडेल बताउँछन् । ‘नेपाली समुदायलाई केन्द्रित गरेर संरचना बनाइएको हो । बुद्ध भनेको पनि नेपाललाई जोड्ने कुरा हो । संस्कृति र भाषालाई सँगै लैजान खोजेका हौं’ पौडेल भन्छन् ।

‘जो नेपालमा १५-२० वर्ष, ४० वर्ष बसेर आएका छन्, उनीहरुलाई नेपालको धर्म, चलन सबै थाहा छ । जो यहाँ जन्मिए, जो यहाँ पढेका छन् । जो हुर्कनेवाला छन्, उनीहरुलाई कम थाहा हुन्छ भनेर यस्तो ठाउँ राखेको हो’ यो थलोको महत्वबारे पौडेलले भने ।

अहिले हिन्दू र बौद्ध परम्पराका सबै चाडपर्व मनाइन्छ मन्दिरमा । भाषा स्कुल पनि चलिराखेकै छ । ६५ जना विद्यार्थीले नेपाली भाषा सिकिरहेका छन् । नेपाली किताब पढाइ हुन्छ । उनीहरुले नेपाली भाषा सिके भने समुदायसँग सञ्चार सम्पर्क स्थापित गर्न सक्ने आशा छ ।


पछिल्लो समय बच्चा मात्र हैन, नाति-नातिनी हेर्न भन्दै अमेरिका पुग्ने प्रौढको संख्या पनि उच्च छ । ‘बाबु-आमालाई यतै बस्ने व्यवस्था मिलाएर ल्याइने गरिएको छ’ पौडेल भन्छन्, ‘हजुरबुवा हजुरआमा अंग्रेजी बोल्नुहुन्न । नाती-नातिनाले नेपाली बोल्दैनन् । उनीहरुमा पारिवारिक एकता गराउन पनि भाषा र संस्कृति सिकाउने कुरा महत्वपूर्ण रह्यो ।’

बाल्टिमोरका सामाजिक अगुवा तथा फिल्म निर्देशक गोपालचन्द्र लामिछाने पनि यस्ता सामाजिक थलोले परिवारलाई संस्कार र संस्कृतिसँग जोड्ने बताउँछन् । ‘सकेसम्म नेपालसँग नजिक बनाउने हाम्रो प्रयास हो,’ उनी भन्छन् ।

हुनसक्छ यही कारण, अहिले त्यहाँ नेपालकै शैलीमा इन्द्रजात्रा पनि मनाउन थालिएको छ । ‘फेमिली बन्डका लागि पनि यस्तो गतिविधि हुन जरुरी छ’ लामिछाने भन्छन् ।

कान्छो पुस्तालाई माटोसँग जोड्ने प्रयत्न

ग्लेन आर्मको हिन्दू-बुद्ध मन्दिर धार्मिक र संस्कृतिको केन्द्र मात्र हैन, कृषि र माटोलाई अमेरिकी डायस्पोरामा हुर्किएको पछिल्लो नेपाली पुस्तासँग जोड्ने प्रयत्न पनि हो । त्यहाँको भिरालो जमिनलाई उपयोग गर्न फलफूल रोपिएको छ । फिग र ब्लुबेरी फलाइएको छ ।

नेपालमा हुने कृषि उत्पादन लगाइएको छ । खुर्सानी, गोलभेँडा, सिमी र साग ग्लेन आर्मको भिरालो पाखोमा उमारिएको छ । ‘यो देख्यो भने परिवारभित्रको बच्चा पनि भान्सामा जान तयार हुन्छ । किचनमा गएर काम गरेको देखेपछि बुझ्न प्रेरित हुन्छ’ पौडेल भन्छन् ।

त्यहाँको भिरालो जमिनमा खेतीका लागि आकाशे पानी प्रयोग हुन्छ । यसका लागि आकाशे पानी संकलन गर्ने ट्यांकी राखिएको छ । कृषि उत्पादनमा आकाशे पानी मलिलो हुने भएकाले यस्तो पूर्वाधार बनाइएको हो ।

अमेरिकामा नेपाली समुदायको पछिल्लो पुस्ता यस्तो छ जसलाई कृषि उत्पादनको पद्दति थाहा छैन । ‘आलुको रुख कस्तो हुन्छ भन्छन् । आलु त रुखमा होइन, जरामा फल्छ भन्ने थाहा हुँदैन’ उनी भन्छन्, ‘यहाँ आलु पनि छ । पिँडालु पनि छ । यसले उनीहरुलाई कुनै न कुनै रुपमा माटो र प्रकृतिसँग जोड्छ ।’

‘माटोसँग जोडियो भने सबैकुरा त्यहाँबाट आउँछ । माटोलाई छुने र अनुभुति गर्ने कुराले उनीहरुलाई वास्तविक ज्ञानमा लैजान्छ’ उनको बुझाइ छ ।

प्रांगणकै एक घरमा म्याग्दी घर भएका एक व्यक्ति तुलसीको विरुवा बिक्री गरिरहेको अवस्थामा भेटिए । त्यहाँ उत्पादित तुलसीको बिरुवालाई उनी ५ डलरमा बिक्री गर्दै थिए ।

मेरिल्याण्ड अमेरिकामा तीव्ररुपमा फैलिएको नेपाली डायस्पोरा हो । नेपालीको जनसंख्या धेरै हुने ५ राज्यमध्ये यो पर्छ । पहिलो पुस्ता यहाँ के छ भनेर त्यसको खोजीमा निस्किएको छ भने, दोस्रो पुस्ता कसरी अमेरिकीसँग प्रतिस्पर्धी हुने भनेर अघि बढिरहेको देखिन्छ ।

– अमेरिकाबाट फर्केपछि

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?