+
+

चितवनको क्यान्सर अस्पतालमा नयाँ बिरामीको संख्या घट्दा पनि बढे क्यान्सर बिरामी 

पाठेघर र स्तनको क्यान्सर बाहेक अधिकांश क्यान्सरमा महिलाको भन्दा पुरुषको संख्या बढी छ ।

सुवास पण्डित सुवास पण्डित
२०८१ असोज १७ गते १०:०३

१७ असोज, चितवन । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ बिरामीको संख्या घट्दा पनि क्यान्सर हुने बिरामीको संख्या भने बढेको देखिएको छ । अस्पतालले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा क्यान्सर बिरामी २.७ प्रतिशतले बढेको देखिएको छ ।

तथ्यांकअनुुसार नयाँ बिरामीको संख्या ४ हजार ६ सय ३५ ले घट्दा क्यान्सर रोग पुष्टि हुने बिरामी बढेका हुन् । सन् २०२२ मा ३२ हजार ३ सय १४ नयाँ बिरामी अस्पतालमा उपचारका लागि आएकोमा ६ हजार ४ सय ४६ मा क्यान्सर रोगको पुष्टि भएकोमा सन् २०२३ मा २७ हजार ६ सय ७९ नयाँ बिरामी आउँदा ६ हाजर २ सय ९४ जना नयाँ बिरामी पहिचान भएको छ ।

सन् २०२२ मा नयाँ बिरामी मध्ये २० प्रतिशतमा क्यान्सर पुष्टि भएकोमा सन् २०२३ मा २२.७ प्रतिशतमा क्यान्सर लागेको पत्ता लागेको थियो । सन् २०२१ मा भन्दा सन् २०२३ मा अस्पताल आउने नयाँ बिरामीको संख्या झण्डै २० हजारले कमी आएको छ ।

क्यान्सर रोग पहिचान हुनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । अस्पतालका अनुसार सन् २०२३ मा २ हजार ८२१ जना पुरुष र ३ हजार ४७३ जना महिलामा क्यान्सर रोग पुष्टि भएको थियो ।

यस्तै, अस्पतालको समग्र ओपीडीमा भने बिरामीको संख्या घटेको देखिँदैन । अस्पतालमा गत वर्ष सन् २०२२ मा १ लाख ६५ हजार ५० जना बिरामी ओपीडीमा आएकोमा सन् २०२३ मा १ लाख ७२ हजार ५६ जना नयाँ तथा पुराना बिरामीहरु ओपीडीमा आएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ ।

पछिल्लो दश बर्षको अवधिलाई हेर्ने हो भने ओपीडीमा झण्डै ७६ हजार ७ सय ३० जना बिरामी बढी आएको देखिन्छ । सन् २०१३ मा ९५ हजार ३ सय ६२ जना बिरामीले ओपीडी सेवा लिएका थिए ।

विश्वभरी क्यान्सरका विरामीहरूको तथ्यांक राख्ने एक संस्थाले गरेको अनुमानलाई आधार मान्ने हो भने नेपालमा बर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । तीमध्ये ३५ प्रतिशत मात्रै अस्पतालमा आउने गरेका छन् । अस्पतालमा दर्ता भएका बिरामीहरूको संख्याको आधारमा नेपालमा तीव्र रुपमा क्यान्सर रोगी बढिरहेको चिकित्सकहरुको भनाइ छ ।

गत वर्ष (सन् २०२३ मा) अस्पताल आएका नयाँ बिरामी मध्ये सबैभन्दा बढी नाक,कान घाँटीको समस्या भएका ५ हजार ५ सय ९६ जना, प्रसुति सम्वन्धी समस्या भएका ४ हजार ४ सय ३८, स्तन सम्बन्धी समस्या भएका ४ हजार ८२, पेट सम्बन्धी समस्या भएका ३ हजार ३ सय ८९ र हाडजोर्नी सम्बन्धी समस्या भएका २ हजार २ सय ७१ जनाले सेवा लिएका छन् ।

अस्पतालमा सन् २०२३ मा  ५ हजार ५ सय ६२ जनाको ठूला अप्रेशन गरिएको छ । दैनिक २० देखि २५ वटासम्म अप्रेशन हुने गरेको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए । यस्तो संख्या सन् २०२२ मा ४ हजार ८५० रहेको थियो ।

अस्पतालमा स्वीकृत ५ सय बेडमध्ये ४५० बेड सञ्चालनमा छन् । बाँकी ५० बेड चालु वर्षमा नै थप्ने योजना रहेको कार्यकारी निर्देशक डा. पौडेलले बताए । अस्पतालमा बिरामीका औसत बसाइ ७ दिन छ ।

केमोथेरापी लगाउनुपर्ने बिरामीको असौत साइकल २१ दिनको हुने गरेको छ । बिरामीको अकुपेन्सी दर ८० प्रतिशतभन्दा माथि छ । अस्पतालमा मृत्युदर २.०३ प्रतिशत छ । क्यान्सर अस्पतालमा दैनिक २२० देखि २४० जना जना बिरामीलाई रेडियोथेरापी (सेकाई) सेवा दिइएको छ । क्यान्सर पत्ता लागेका ६० देखि ७५ प्रतिशत विरामीलाई रेडियोथेरापी उपचार सेवा दिनु परेको तथ्यांकमा उल्लेख छ ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले अस्पतालले दिने सेवालाई प्रभावकारी बनाउँदै लगिएको बताए । उनले क्यान्सर रोग चाँडो पत्ता लगाउनसके बिरामीलाई सजिलैसँग बचाउन सकिने बताए ।

सूर्तीजन्य पदार्थको प्रयोग, रासायनिक मल र किटनाशक विषादीको प्रयोग गरिएका, मिसावट भएका खाना र प्रदूषणका कारण क्यान्सरका रोगी बढिरहेको चिकित्सकको भनाइ छ । सूर्तीजन्य सामग्रीको प्रयोग क्यान्सर लाग्ने ३० प्रतिशत कारक बन्ने गरेको तथ्यांकले देखाउँछ ।

सचेतना बढाउँदा बिरामीहरु समयमा नै अस्पताल आउन सक्ने र क्यान्सरको उपचार पनि समयमा नै हुन सकिने कार्यकारी निर्देशक डा. पौडेलले बताए ।

सन् २०२३ मा मेडिकल अंकोलोजी विभागमा ८ हजार ४४७ जना  र सर्जरी विभागमा ४ हजार जना बिरामीहरु भर्ना भएर उपचार सेवा लिएका छन् ।

सन् २०२२ मा अस्पतालमा १० हजार २७५ जना बिरामी भर्ना भएर उपचार गराएका थिए । अस्पतालमा सन् २०२१ मा ९ हजार २४९ जना भर्ना भएका थिए । सन् २०१९ मा यस्तो संख्या ७ हजार ९०८ थियो ।

फोक्सो र स्तनमा सबैभन्दा धेरै क्यान्सर

नयाँ क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी फोक्सोका क्यान्सरका बिरामी छन् । गत वर्ष अस्पतालमा थपिएका ६ हजार २ सय ९४ नयाँ क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी फोक्सोका क्यान्सरका बिरामी छन् ।

फोक्सोका ३६१ पुरुष र ३५३ जना महिला गरी ७१४ जनामा फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो । यो संख्या सन् २०२२ मा ८३२ जना रहेको थियो ।  फोक्सोको क्यान्सर भएका बिरामी पत्ता लागेको अस्पतालले जनाएको छ । पुरुष र महिलामा झण्डैं बराबर जस्तो संख्यामा फोक्सोको क्यान्सर भएको पत्ता लागेको छ ।

दोस्रो स्तनको क्यान्सर छ । गत वर्ष ७१२ जना महिला र पुरुषमा स्तनको क्यान्सर भएर उपचार गरिएको अस्पतालको तथ्यांकमा उल्लेख छ । २० देखि ६० वर्ष र ६० देखि ७० वर्ष उमेर समूहका महिला र पुरुषमा यो क्यान्सर अधिक देखिएको छ । तेस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । गत बर्ष ६४८ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएर अस्पतालमा उपचार गराएका छन् ।

चौथौंमा रक्त तथा बोनम्यारोको क्यान्सर रहेको देखिन्छ । गत वर्ष ४३३ जना यस्ता नयाँ बिरामीमा यो रोग पत्ता लागेको थियो । पाँचौं नम्बरमा आमाशय क्यान्सर ३२८ जनामा भएको छ । अस्पतालका अनुसार ५३ वट थरी क्यान्सरका बिरामी गत वर्ष उपचारका लागि आएका थिए ।

अस्पतालमा टप १० क्यान्सर रोगमा फोक्सो क्यान्सर, स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, रगत तथा बोनम्यारो, आमाशय, जिब्रो, हड्डी, रेक्टम, थाइराइड ग्लाण्ड, गल ब्लाडर, युरिनरी ब्लाडर परेका छन् । पाठेघर र स्तनको क्यान्सर बाहेक अधिकांश क्यान्सरमा महिलाको भन्दा पुरुषको संख्या बढी छ ।

पुरुषमा पनि स्तन क्यान्सर भएको पाइएको छ । गत वर्षको तथ्यांकमा १० जना पुरुषलाई स्तनको क्यान्सर भएको पुष्टि भएको थियो । यस्तो संख्या सन् २०२२ मा २३ रहेको थियो । शहरीया जीवनशैली र खानपानका कारणले क्यान्सरका रोगीहरू बढिरहेको चिकित्सकहरु बताउँछन् ।

सूर्तीजन्य पदार्थको प्रयोग, रासायनिक मल र किटनाशक विषादीको प्रयोग गरिएका, मिसावट भएका खाना र प्रदूषणका कारण क्यान्सरका रोगी बढिरहेको चिकित्सकको भनाइ छ । सूर्तीजन्य सामग्रीको प्रयोग क्यान्सर लाग्ने ३० प्रतिशत कारक बन्ने गरेको तथ्यांकले देखाउँछ ।

सबैभन्दा बढी बिरामी चितवनका

भरतपुरको क्यान्सर अस्पतालमा देशका ७७ वटै जिल्ला र भारतका विभिन्न ठाउँबाट विरामीहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये अधिकांश चितवनका छन् ।

सन् २०२३ मा अस्पताल आएका नयाँ बिरामी मध्ये ४ हजार ५ सय ६२ जना चितवनका, १४ सय १४ जना रुपन्देहीका, १२ सय ३३ जना नवलपुरका,  १ हजार ६४ जना दाङका, १ हजार ३५ जना सर्लाहीका, मकवानपुरका ९ सय ६१, धनुषाका ९ सय २४ जना, रौतहटका ८ सय ५६ जना, तनहुँका ८ सय ४२ जना छन् ।

सन् २०२२ मा अस्पतालमा चितवनका ५ हजार ६५४, रुपन्देहीका १ हजार ६३८, नवलपुरका १ हजार ३४०, बाराका १ हजार १९६, दाङका १ हजार १४३ जना, तनहुँका ९१२ जना नयाँ बिरामी आएका थिए । गत बर्ष सन् २०२३ मा सबैभन्दा कम रसुवा जिल्लाबाट १ जना,  सोलुखुम्बुबाट ३ जना, हुम्लाबाट ३ जना,  सिन्धुपाल्चोकबाट ८ जना बिरामी उपचारका लागि आएको देखिन्छ ।

देशभर हुने क्यान्सरका बिरामी मध्ये ५० देखि ६० प्रतिशत बिरामीहरू उपचारका लागि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गरेको अस्पतालका अध्यक्ष डा.विजयराज न्यौपानेले दावी गरे । उनका अनुसार ५० देखि ६० प्रतिशत भरतपुर क्यान्सर अस्पतालमा, २० प्रतिशत देशका अन्य भागका अस्पतालमा, २० प्रतिशत भारतसहितका तेस्रो देशमा उपचार गराउन पुग्ने गरेको पाइन्छ ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल

देशका अन्य अस्पताल भन्दा एकीकृत विशिष्ट सेवा अस्पतालले प्रदान गर्ने भएकाले बिरामीहरू टाढा–टाढाबाट रेफर भएर आउने गरेको कार्यकारी निर्देशक डा.पौडेलले बताए । अस्पतालमा क्यान्सरको पहिलो स्टेजमा आएमा ८० प्रतिशत, दोस्रो स्टेजमा आएका बिरामी ६० प्रतिशतसम्म र तेस्रो स्टेजका बिरामी २५ देखि ३० प्रतिशतसम्म निको हुने गरेको अस्पतालका चिकित्सकहरूको भनाइ छ ।

२० देखि ६० वर्षका झण्डै ५५ प्रतिशतलाई क्यान्सर

अस्पतालमा क्यान्सर रोग पहिचान भएका ६ हजार २ सय ९४ जना मध्ये ५५ प्रतिशत २० देखि ६० वर्ष उमेर समूहका छन् ।  क्यान्सर पुष्टि भएका २८ सय २१ पुरुष र ३४ सय ७३ महिला मध्ये २० देखि ५९ वर्ष उमेर समूहका पुरुष २१ सय १२ जना र महिला १३ सय ३४ जना छन् ।

९ वर्षभन्दा कम उमेरका ३७ जना बालबालिकालाई क्यान्सर भएको पुष्टि भएको ति मध्ये १७ जनालाई रगतको क्यान्सर भएको देखिन्छ । १० देखि १४ वर्ष उमेर समूहका ३६ जना, १५ देखि १९ वर्ष उमेर समूहका ३० जनामा क्यान्सर भएको देखिएको छ । रगतको क्यान्सर अधिक सानो उमेरका बच्चाहरूलाई लागेको देखिन्छ । जन्मिएदेखि १५ बर्षसम्मका बालबालिकाहरू रगतको क्यान्सरबाट पीडित बनेका छन् ।

६० देखि ६९ वर्ष उमेर समूहका ७७८ जना पुरुष र ७०६ जना महिलामा क्यान्सर रोग लागेको देखिएको छ ।

चीनको बोनम्यारो प्रत्यारोपण केन्द्र खोलिँदै

चीन सरकारको पूर्ण लगानीमा अस्पताल भित्र बोनम्यारो प्रत्यारोपण परियोजना सुरु गर्ने तयारी अगाडि बढेको छ । त्यसका लागि नेपाल सरकार र चीन सरकारका बीचमा सम्झौतासमेत भैसकेको अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले बताए ।

५ शय्याको विश्व मापदण्डको बोनम्यारो प्रत्यारोपण सेवा १ वर्षभित्र सुरु हुने विश्वास लिइएको अस्पतालले जनाएको छ । त्यसका जग्गा, नक्साको कार्य टुंगो लागिसकेको छ । चीन सरकारले भवनसहित उपकरण र आवश्यक तालिम दिएर परियोजनाको चाँबी हस्तान्तरण गर्नेछ । यसका लागि चीनको १२ देखि १४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

रगतको क्यान्सर भएका बिरामीलाई यो उपचार पद्धति प्रभावकारी हुने अस्पतालका उपकार्यकारी निर्देशक डा. उमेश नेपालले बताए । क्यान्सर रोगको उपचारको क्षेत्रमा यो परियोजना उत्कृष्ट हुनेछ विश्वास अस्पतालको छ ।

अस्पतालमा रोबर्टीक सर्जरी सेवा पनि सुरु गर्ने पहल थालिएको छ । पेट स्क्यान मेसिनसहित साइक्लोटोन मेसिन ल्याउन इआइए अन्तिम चरणमा पुगेको छ । सरकारको लगानीमा यो मेसिन ल्याउन टेण्डर प्रकृया अन्तिम चरणमा पुगेको उपकार्यकारी निर्देशक डा.नेपालले बताए ।

पेट स्क्यान गर्दा सुईबाट दिने औषधि बनाउने काम साइक्लोटोन मेसिनले गर्दछ । देशका अन्य अस्पतालमा पनि यहीँबाट औषधि उत्पादन गरेर पठाउन सकिने उनको विश्वास छ । पेट स्क्यान मेसिन ल्याउने यसअघि धेरै पहल भए पनि विभिन्न मुद्दामामिला र विवादका कारणले रद्द गरिएको थियो । तर, यसपटक भने जिरोबाट काम थालेर प्रकृया अगाडि बढेको छ ।

मेसिन राख्ने नयाँ घर र बंकर बनाउने ठाँउको समेत पहिचान गरिएको उपकार्यकारी निर्देशक डा.नेपालले जानकारी दिए । अस्पतालमा लिन्याक मेसिन ३ वटा मध्ये २ वटा सञ्चालनमा छन् । अस्पतालले केही महिना अगाडि इकोकार्डियोजी सेवा सुरु गरेको छ ।

यो सेवा लिन बिरामीलाई अस्पताल बाहिर पठाउने गरिएको थियो । अस्पतालमा क्यान्सरको स्तनको क्यानसर स्क्रीनिङ्ग  तथा डाइग्नोसिस सेवा दिने मेमोग्राफी मेसिनसमेत सञ्चालनमा छ । आगामी आर्थिक बर्षमा रेडियोथेरापी सेवालाई प्रभावकारी बनाउन तथा प्रतिक्षा सूची घटाउन १ थान लिन्याक र १ सय सिटी सिमुलेटर मेसिन खरिद तथा जडान गर्ने योजना रहेको अस्पतालका अध्यक्ष डा.विजय न्यौपानेले जानकारी दिए । मोलिक्यूलर ल्याब सञ्चालनको चरणमा रहेको छ । चालु बर्षमा थप २ वटा फार्मेसी थप गर्ने, डेन्टल सेवा चलाउने तयारी पनि गरिएको अध्यक्ष डा.न्यौपानेले जानकारी दिए ।

 

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?