+

विदेशी खेलाडीसँग खेल्दा स्तर बढाउन मद्दत भएको छ : सुमित्रा रेग्मी

२०८१ असोज  १७ गते १०:३७ २०८१ असोज १७ गते १०:३७
विदेशी खेलाडीसँग खेल्दा स्तर बढाउन मद्दत भएको छ : सुमित्रा रेग्मी

१७ असोज, काठमाडौंं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल  लिग (ईडब्लभीएल) मा कर्णाली यश्विस शीर्ष स्थानमा छ ।

लगातार तीन खेल जितेर ८ अंकका साथ शीर्ष स्थानमा रहेको कर्णालीले तेस्रो खेलमा बुधबार ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

लिगमा अपराजित हुँदा कर्णालीकी कप्तान सुमित्रा रेग्मी पनि निकै खुसी छिन् ।

पहिलोपटक भएको फ्रेन्चाइज लिगमा विभिन्न देशबाट नेपाली टिमहरुले विदेशी खेलाडी ल्याएका छन् । कर्णालीमा पनि तीन जना विदेश खेलाडी छन् । गाब्रिएले बेन्डा जसले टिममा सेटरको रुपमा खेलिरहेकी छिन् । उनी अमेरिकन खेलाडी हुन् । अथानासिया लिएगकी उनी ग्रिसकी अपोजिट हिटर हुन् । त्यस्तै, जेनेप ओटुरान टर्कीकी आउटसाइड हिटर हुन् ।

कर्णालीका यी तीन खेलाडीहरू टिममा आउँदा टिममा रहेका नेपाली खेलाडीको पनि उत्साह र स्तर बढेको कप्तान सुमित्राले अनलाइनखबरसँग भनिन्, ‘विदेशी खेलाडीले हामीलाई गल्ती गर्दा पनि सम्झाउनु हुन्छ । टिम गेममा एउटाले बिग्रायो भने अर्कोले मिलाउनु पर्छ भन्दै सम्झाउनु हुन्छ ।’

उनी आफूलाई कप्तानभन्दा पनि खेलाडीको रुपमा खेलिरहेको र टिमलाई फाइनल पुर्‍याउनमा आफू पनि उत्तिकै लागि परेको बताइन् । ‘कप्तानभन्दा पनि खेलाडीको रुपमा नै खेलिरहेको छु । कप्तान एउटा जिम्मेवारी मात्रै हो । हामी फाइनल पुगिन्छ भन्ने छ,’ उनले थपिन् ।

कर्णाली लिगमा हालसम्म सबैभन्दा बलियो टिमको रुपमा प्रदर्शन गरिरहेको छ । हालसम्म अपराजित रहेको कर्णालीमा टिममा एकदमै राम्रो मेल देखिन्छ । ‘अहिले हाम्रो टिममा कम्बिनेसन एकदमै राम्रो मिलिरहेको छ । विदेशी खेलाडीलाई सुरु अलिकति गाह्रो भएको थियो । हिजो र आज सेट हुँदा राम्रो भइरहेको छ ।’

विदेशी खेलाडी टिममा आबद्ध हुनुअघि कसरी खेल्ने होला, कस्तो होला भन्ने कौतुहलता भएको तर खेलाडी सजिलै घुलमिल हुँदा निकै सहज भएको सुमित्राले बताइन् । ‘खेलाडी कस्तो आउलान् भन्ने तनाव थियो । तर, उहाँहरु आएर सँगै प्रशिक्षण गरेपछि सहज नै भयो ।’

नेपाली खेलाडीलाई भने यो निकै ठूलो सिक्ने मौका हो । नेपालमा पहिलोपटक आयोजना भइरहेको फ्रेन्चाइज लिगले नेपाली खेलाडीको स्तर उकास्न निकै ठूलो भूमिका खेल्ने कप्तान सुमित्राको विश्वास छ ।

‘उहाँहरु एकदमै राम्रो खेलाडी हो । त्यसैले एकदमै धेरै सिक्ने मौका भएको छ नेपाली खेलाडीहरुले फरक-फरक टिममा आबद्ध भएर खेलिरहनु भएको छ । जसले गर्दा सबै नयाँ-नयाँ खेलाडीसँग खेल्न पाउँदा सबैको खेलको स्तर पनि उकासिएको छ । नयाँ-नयाँ टेक्निक सिक्ने मौका भएको छ ।’

यो प्रतियोगिताले नेपालमा आउँदै गरेका उदयीमान खेलाडीलाई पनि आशा जगाएको सुमित्राले बताइन् ।  ‘नेपाली खेलाडीले सिक्ने मौका भएको छ। जुनियर खेलाडीले पनि राम्रो खेल्दै गयो भने विदेशी खेलाडीसँग खेल्ने मौका पाइन्छ भन्ने उदाहरण बनेको छ । यसले नेपाली खेलाडीको स्तर बढाउन मद्धत गर्छ,’ उनले थपिन् ।

कर्णालीले पहिलो खेलमा मधेश युनाइटेडलाई र दोस्रो खेलमा गण्डकीलाई हराएको कर्णालीले  तेस्रो खेलमा बलियो मानिएको ललितपुर क्विन्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

कर्णालीले लिगको चौथो खेल बिहीबार चितवन शक्तिसँग खेल्दैछ । लिगको अन्तिम खेल काठमाडौं स्पाइकर्ससँग खेल्नेछ ।

एभरेष्ट महिला भलिबल लिग सुमित्रा रेग्मी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय