+

भलिबलको भरपर्दी स्पाइकर उषा भण्डारी

२०८१ असोज  १७ गते १२:०७ २०८१ असोज १७ गते १२:०७
भलिबलको भरपर्दी स्पाइकर उषा भण्डारी

१६ असोज, काठमाडौं । नेपाली महिला भलिबलमा अहिले चर्चित खेलाडीको रुपमा छिन् स्पाइकर उषा भण्डारी । १४ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यु गरेकी उषा सानो उमेरमै नेपाली राष्ट्रिय टिमको महत्वपूर्ण हिस्सा बनिसकेकी छन् ।

यसअघि स्टार स्पाइकरको रुपमा रहेकी प्रतिभा माली चोटका कारण राष्ट्रिय टिममा नपरेपछि अहिले अनुभवी खेलाडी सरस्वती चौधरीसँगै उषा भण्डारी निरुता ठगुन्ना मुख्य स्पाइकरको रुपमा छन् ।

५ फिट ७ इन्ट अग्ली उषा भर्खर २० वर्ष मात्र भइन् । तर भलिबल कोर्टमा उनको स्पाइक भने जोड्दार हुने गर्छ । अहिले धेरै भलिबल समर्थकले पछ्याइरहको एउटा नाम बनेको छ-उषा भण्डारी ।

उषाले नेपाली राष्ट्रिय टिमबाट एक उपाधि सहित दुई रजत पदक र एक कांस्य पदक जितेकी छन् ।

केही समय अघि मात्र माल्दिभ्समा पहिलो पटक भएको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब अपराजित रहँदै च्याम्पियन बन्दा उषाको योगदान उच्च रह्यो । उनले प्रतियोगितामा उत्कृष्ट आउटसाइड हिटर र मोस्ट भ्यालुएबल प्लेअर गरी दुई व्यक्तिगत अवार्ड समेत जितिन् ।

त्यसैले त उषा भण्डारी अहिले भइरहेको नेपालको पहिलो महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) २०२४ मा काठमाडौं स्पाइकर्सको मार्की प्लेअर बनिन् । त्यति मात्र होइन, उषा काठमाडौं टिमको कप्तानीसमेत गरिहरेकी छन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा भइरहेको ईडब्लूभीएलमा काठमाडौं स्पाइकर्स होम टिम नै हो । फ्रेन्चाइज लिग भएकोले टिममा नेपालकै पनि अनुभवी खेलाडी भएपनि काठमाडौंले उषालाई नै कप्तानीको जिम्मेवारी दिएको छ ।

फ्रेन्चाइज लिगको पहिलो खेलमै काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा भएको थियो । जसमा उषाको कप्तानीमा रहेको काठमाडौं सलिना श्रेष्ठको कप्तानीमा रहेको ललितपुर क्विन्ससँग ३-१ को सेटमा पराजित भयो ।

तर मंगलबार भएको दोस्रो खेलमा भने काठमाडौंले राष्ट्रिय टिमकी कप्तान अरुणा शाही कप्तान रहेको चितवन शक्तिलाई ३-१ कै सेटमा हराएर पहिलो जित निकाल्यो । पहिलो सेट गुमाएपनि काठमाडौंले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेको थियो ।

फ्रेन्चाइज भलिबल हुँदा यसमा फरक फरक टिमको खेलाडी एकै टिममा खेल्ने र विदेशी खेलाडीहरु समेत भएकोले उषा उत्साहित थिइन् । अहिले काठमाडौं स्पाइकर्सबाट युरोपियन राष्ट्र टर्किएका २ र बुल्गेरियाका १ गरी ३ खेलाडी खेलिरहेका छन् ।

बुबाको देन

उषा त्यस्तो भाग्यमानी खेलाडी हुन् कि जसलाई आफ्नै परिवारले खेलाडी नै होस् भन्ने चाह्यो । अरु परिवारले आफ्नो छोराछोरीलाई अन्य पेशा मै लगाउन चाहन्छन् र तर उषाकी बुबा गजेन्द्र भण्डारीको एउटै लक्ष्य उषालाई भलिबल खेलाडी नै बनाउने थियो ।

कुरा हो सन् २०१४ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमै भएको प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल च्याम्पियसिप । त्यतिबेला गजेन्द्र पनि भलिबल हेर्न कभर्डहल पुगेका थिए ।

त्यसमा उनले श्रीलंकाकी एक खेलाडीको खेल हेरेर आफ्नो छोरीले पनि कोर्टभित्र त्यस्तै हेरेको कल्पना गर्न थाले । जतिखेर उषा १० वर्षका मात्र थिइन् । सुरुमा उषा फुटबल ब्याडमिन्टन पनि खेल्थिन् । तर उनको बुबाको रुची उनलाई भलिबल खेलाडी नै बनाउनेतर्फ थियो । त्यसपछि उषाले पनि लगातार भलिबल खेल्न थालिन् । बुबा गजेन्द्रको सपना पाँच वर्षपछि नै पूरा भयो ।

सन् २०१९ डिसेम्बर अर्थात २०७६ सा मंसिरमा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट उषाले राष्ट्रिय टिममा डेब्यु गरिन् । साउद उषा र उनकी बुबा गजेन्द्रका लागि त्योभन्दा खुशी क्षण अरु थिएन होला । उषाले पहिलो खेल बंगलादेशविरुद्ध थियो । टिमकै अनुभवी खेलाडी कप्ता तथा सेटर अरुणा शाहीले उषाका लागि केही बल फालिन् र उषाले पनि स्पाइक किल गर्दै अंक जोडिन् ।

१३औं साग अघि २०१९ मै भएको पहिलो एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन भलिबलको लागि उषा क्याम्पमा थिइन् । तर उनी त्यसबेला टिममा पर्न सकिनन् ।

अहिले पनि उषाको भलिबल करियरको सुरुवाती क्षणको कुरा गर्दा बुबा गजेन्द्र र छोरी दुवै भावुक हुने गर्छन् । तर कोर्टमा भने उषाको प्रदर्शन झन् शसक्त हुँदै गएको छ ।

डेब्यु यता उषा लगातार राष्ट्रिय टिमको सदस्यको रुपमा छिन् । अझ पछिल्लो तीन वर्ष त उनी मुख्य स्पाइकर नै बनिसकिन् । त्यसैले पनि समर्थकहरु उषाको खेल हेर्न लालायित हुन्छन् ।

१२ वर्ष देखि नै भलिबल खेल्न सुरु

तनहुँ, भिमाद १ मा जन्मेकी उषाले घरेलु भलिबल खेल्न थालेको १२ वर्षको उमेर देखि नै हो । २०७४ सालमा सामाखुसीको नेपाल पुलिस स्कुलमा भर्ना भएपछि भने उनको भलिबल यात्राले औपचारिक गति लियो ।

पुलिस स्कुलमा पुगेको ६ महिनापछि नै उनले नेपाल पुलिस क्लबमा प्रशिक्षणको अवसर पाइन् र भलिबल खेल्न थालिन् । सुरुमा उषा अलरउण्डर पोजिसनबाट खेल्थिन् । त्यहिबेला पुलिसकी स्पाइकर कामना विष्ट घाइते भइन् । कामना घाइते भएपछि उषाले त्यही पोजिसनमा खेल्न थालिन् ।

त्यसबेला पुलिसमा कोपा उप्रेती देखि अनुभवी खेलाडीहरु हुँदा युवा खेलाडी उषाले पुलिस क्लबमा उनीहरुसँग खेल्न पाइन् । अनुभवी खेलाडीहरुसँग खेल्दा उनले धेरै कुरा सिक्ने अवसर समेत पाइन् । जसलाई उनले भरपुर सदुपयोग गरिन् र आफ्नो खेल कौशल पनि सुधार गर्दै लगिन् ।

उनले त्यतिबेलै भविष्यमा राम्रो खेलाडी बन्न सक्ने संकेत देखाइसकेकी थिइन् । राम्रो जम्प र पावरफुल स्पाइक हान्न सक्ने उनको खेल त्यो बेला पनि राम्रो थियो । त्यतिबेला भन्न गरिन्थ्यो कि उनी यो खेलमा ‘लामो रेसका घोडा’ हुन् ।

सानै उमेर देखि पुलिस क्लबमा खेल्न थालेकी उनी पुलिसको छिटै पुलिस क्लबको मुख्य खेलाडी बनिन् ।

उषाले नेपालमा मात्र नभएर माल्दिभ्समा समेत व्यावसायिक भलिबल खेलिसकेकी छन् । उनले माल्दिभ्समा गएर त्यहाँको प्रतियोगिता तीन पटक खेलिसकेकी छन् । माल्दिभ्समा उत्कृष्ट प्रदर्शन गरेकी उषा त्यहाँको दर्शकमाझ पनि निकै लोकप्रिय छिन् ।

उषाले राष्ट्रिय टिमबाट खेलेको पहिलो प्रतियोगिता १३औं सागमै ऐतिहासिक रजत जितिन् । त्यसपछि सन् २०२२ मा बंगलादेशमा भएको दोस्रो एभिसी एसियन वुमन्स सिनियर सेन्ट्रल जोनमा नेपालले उपाधि जित्दा उनी टिमको मुख्य सदस्य बनिसकेकी थिइन् ।

सन् २०२३ मा नेपालमै भएको काभा वुमन्स च्यालेन्ज कपमा नेपालले कांस्य जित्दा उनी टिमकै सदस्य थिइन् ।

यस्तै वर्ष नेपालमै भएको काभा नेसन्स लिगमा नेपालले पहिलो पटक भारतलाई हराएर ऐतिहासिक जित निकाल्दा उषानै मुख्य खेलाडीको रुपमा थिइन्  ।तर फाइनलमा भारतसँग नै पराजित हादा काभा नेसन्स लिगमा नेपाल उपविजेतामै सीमित भयो ।

घरेलु भलबिलमा नेपाल पुलिस क्लबबाट उषाले जितेको उपाधि र व्यक्तिगत अवार्डहरुको कुनै लेखाजोखा नै छैन । नेपाल पुलिस क्लबलाई एनभीए लिग च्याम्पियन बनाएर काभा क्लब च्याम्पियनसिपमा छनोट गराउने देखि अन्य विभिन्न प्रतियोगितामा उपाधि जिताउन उनको मुख्य भूमिका निर्वाह गरेकी छन् ।

उषाले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता

२०१९, १३औं साग : रजत पदक

२०२२, एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन : च्याम्पियन

२०२३, काभा वुमन्स च्यालेन्जस लिग : कांस्य पदक

२०२४, काभा वुमन्स नेसन्स लिग :  रजत पदक

२०२४, काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप : च्याम्पियन

 

उषा भण्डारी भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय