+
+

कसरी बस्ने नवरात्रको व्रत ?

पण्डित नारायणप्रसाद दुलाल पण्डित नारायणप्रसाद दुलाल
२०८१ असोज १७ गते १४:१७

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म पर्ने जसलाई नवरात्र, दशहरा वा दुर्गापक्ष भनिन्छ। यो समयमा विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूप अखिल ब्रह्माण्ड नायिका मातेश्वरी जगतजननी श्रीदुर्गा भवानीको पूजा, आराधना र उपासनाको लागि निकै महत्त्व रहने कुरा शास्त्रोक्त रहेको छ।

यो नवरात्र पर्वले हाम्रो सनातन परम्परा, आस्था, संस्कृति, धार्मिक र सामाजिक क्षेत्रमा विशेष महत्त्व राख्दछ। यो समयमा भगवतीको पूजा, पाठ, आराधना, उपासना, व्रत श्रद्धा र भक्‍तिपूर्वक बस्नाले दुर्गा प्रसन्न भएर मनोकामना पूर्ण गरिदिनुहुने जनविश्वास रही आएको छ।

धार्मिक, आध्यात्मिक वा व्यक्तिगत अनुशासनका लागि भगवान् वा देवी देवताप्रति समर्पण भावले गरिने एक प्रकारको सङ्कल्प नै व्रत हो। यस्तो व्रत धार्मिक समारोह, पर्व र विशेष अवसरहरूमा गरिन्छ। विशेष समयमा या विशेष अवधिसम्म खानेकुरा, भौतिक सुख–सुविधा वा अरू कुनै पनि बानीबाट देवी–देवताप्रति समर्पण भावले त्याग गर्नु वा बार्नु नै व्रत हो।

व्रतलाई शारीरिक, मानसिक र आध्यात्मिक शुद्धिका लागि गरिएको अभ्यासको रूपमा लिइन्छ। व्रतको मुख्य उद्देश्य भगवानको आराधना, आत्मनियन्त्रण र इच्छाशक्तिको परीक्षण गर्नु हो। नवरात्रमा व्रत बस्नका लागि विभिन्न परम्परागत तरिकाहरू छन्, जुन तपाईँको धर्म, संस्कृति, आस्था, देश, काल, परिस्थिति, स्वास्थ्य, विश्वास र व्यक्तिगत मान्यतामा आधारित हुन्छ।

विशेषगरी यो नवरात्रमा नवदुर्गा भवानीको व्रत बस्नुभन्दा पहिले शारीरिक र मानसिक रूपमा शुद्धि हुन जरूरी छ। यो अवधिमा नङ, केश काट्न वर्जित हुन्छ। ब्रह्‍मचर्यको पालना गर्नुपर्ने हुन्छ। पूजामा कालो वस्त्र पूर्ण निषेध हुन्छ। प्रत्येक दिन प्रातः उठेर स्नान गरेर नित्यपूजा सकेर विशेष देवी दुर्गाको भिन्न–भिन्न स्वरूपको दिन विशेषले पूजा गर्नुपर्दछ। यो अवधिमा दुर्गा सप्तशती, दुर्गा चालीसा र अन्य देवी स्तोत्रहरू पाठ गर्नु राम्रो हुन्छ। यदि हामी विदेशमा छौं भने त्यहाँको समय र परिस्थिति अनुसार श्रद्धा एवं भक्‍तिपूर्वक गरेको व्रत र पूजा भगवतीलाई मान्य हुन्छ।

दिनभरि केही पनि नखाई देवीको आराधना गर्नुहुन्छ र केवल पानी वा फलफूल मात्र खानुहुन्छ भने यसलाई पूर्ण व्रत भनिन्छ। यदि तपाईं केही चुनिएका फल, दूध या सात्विक खाना (व्रतको लागि उपयुक्त खाना जस्तै आलु, सामा, चम्सुर, कागुनो, फापर आदि) व्रतमा खानुहुन्छ भने यसलाई साधारण व्रत भनिन्छ। जसले साँझमा आरती गरेर एक छाक मात्र खाना खान्छन् भने एक छाक खाएर पनि व्रत या उपासना गर्न सकिन्छ। भोको बस्दैमा व्रत पूर्ण हुँदैन, मनमा स्वच्छ भावना पनि हुनुपर्छ। याद राख्नुपर्ने कुरा के हो भने व्रत या पूजा गर्दा “पहिले शरीर स्वस्थ हुनुपर्छ, त्यसपछि मात्र धर्मकर्म गर्नु” भन्ने उक्ति शास्त्रोक्त हो।

अझ नवरात्र जस्तो लामो पर्वमा पूर्ण व्रत बस्न गाह्रो हुने भएकाले केही निश्चित सात्विक चिजहरू खान सकिन्छ। फलफूलमा स्याउ, केरा, उखु, नास्पाती, अनार या मौसम अनुसारको फल आदि। दूध र दुग्धजन्य चिजमा दूध, दही र पनिर, फापरको पीठो, सामा, चम्सुर, कागुनो, ताल मखाना, सामा आदिबाट बनेका परिकारहरू।

तरकारीमा आलु, साग, काउली, घिरौंला, बोडी, परबल, केराउ, मेवा, काँक्रो आदि व्रतमा उपयुक्त तरकारी मानिन्छ भने लसुन, प्याज, टमाटर, जिम्बु, गुन्द्रुक, तामा, चिचिन्डो, कुभिन्डो, भान्टा, डल्लो लौका, सिमी, सिस्नो आदि भने पूर्ण निषेध हुन्छ। ड्राइफुड्समा काजु, बदाम, किसमिस, ओखर, नरिवल आदि राम्रो हो भने खजुर र पेस्ता नखाँदा राम्रो हुन्छ।

व्रतहरू देशाचार, कुलाचार, व्यक्तिगत आस्था, परम्परा र धार्मिक उद्देश्यका आधारमा फरक–फरक हुन्छन्। व्रतको मुख्य उद्देश्य भगवानको आराधना, आत्मनियन्त्रण, शारीरिक र मानसिक शुद्धि प्राप्त गर्नु हो। माता भवानीले सम्पूर्ण भक्तहरूको मनोकामना पूर्ण गरिदिनुहोस्। अस्तु !

(दुलाल ज्योतिषाचार्य तथा वास्तुविद् हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?