+
+

तीनै देशका अधिकारीले भने : बंगलादेश विद्युत् निर्यात सम्झौता ऐतिहासिक

नेपाल, भारत तथा बंगलादेश तीन देशकै अधिकारीले नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न भएको त्रिपक्षीय सम्झौता ऐतिहासिक भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १७:३३

१७ असोज, काठमाडौं । नेपाल, भारत र बंगलादेशका अधिकारीहरूले नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न भएको त्रिपक्षीय सम्झौता ऐतिहासिक भएको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको विकासमा यो सम्झौताले महत्त्वपूर्ण योगदान गर्ने बताए ।

बीबीआईएन क्षेत्रमा व्यापार साझेदारीमा यो महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो । यो पहललाई निष्कर्षमा पुर्‍याउन भारतको सहयोग महत्त्वपूर्ण भएको उनको भनाइ थियो ।

‘नेपालका तत्कालीन शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रको भिजन पेपरमा हस्ताक्षर गर्नुभएको थियो । हालै प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले यो सम्झौताका लागि संयुक्त बैठकमार्फत दिशा निर्देश गर्नुभएको थियो । उहाँहरूको पहलले यो सम्भव भएको हो,’ मन्त्री खड्काले भने ।

मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत् ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्ने भएकाले आजको कार्यक्रम नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको बताए ।

‘आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बंगलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको ६ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो,’ मन्त्री खड्काले भने ।

मन्त्री खड्काले बङ्गलादेशको नयाँ अन्तरिम सरकार र बंगलादेशीलाई मुलुक सुधारका एजेन्डामा सफलताको कामना गर्दै बधाइ दिए ।

बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले यो सम्झौता दक्षिण एसियाली विद्युत् सहकार्यमा कोशेढुंगा भएको बताइन् ।

‘बंगलादेश जनतालाई स्वच्छ र सुरक्षित ऊर्जा उपलब्ध गराउन प्रतिबद्ध छ । त्यसका लागि यो महत्त्वपूर्ण कदम हो,’ उनले भने ।

भारत, नेपाल र बंगलादेशको पारस्परिक लाभका लागि यो महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । आगामी दिनमा यो सहकार्य अझै बढ्ने उनले बताइन् ।

‘बंगलादेशलाई अझै ठूलो मात्रामा स्वच्छ ऊर्जाको आवश्यकता छ । जुन नेपालको ठूलो सम्भावनाले पूर्ति गर्न सक्छ,’ उनले भनिन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दक्षिण एसियाली उपक्षेत्रीय विद्युत् साझेदारीका लागि भारत प्रतिबद्ध भएको बताए । नेपालले भरतमा विद्युत् निर्यात गर्न थालेदेखि अहिलेसम्म निकै ठूलो उपलब्धि हासिल गरेको उनले बताए ।

‘नेपालले आज १ हजार मेगावाट विद्युत् भारत निर्यात गर्न सक्छ । जबकि तीन वर्षअघि यो ३० मेगावाटबाट सुरु भएको थियो । गत आर्थिक वर्षमा नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो,’ उनले भने ।

उत्पादन, प्रसारण र व्यापारमा काम गर्न भारतीय कम्पनीहरू इच्छुक रहेको उनले बताए ।

‘नेपालमा भारतको सरकारी लगानीका एसजेभीएन र एनएचपीसीले काम गरिरहेका छन्,’ उनले भने ।

हाल ढल्केबर-मुजफ्फरपुर क्रसबोर्डर लाइनबाट विद्युत् व्यापार भइरहेको भन्दै उनले बन्दै गरेको गोरखपुर-बुटवल बनेपछि दोब्बर हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?