+
+

‘पर्यटकीय हब’ मुलकोट माथि बाढीको बज्रपात

कुनै समय फिल्म र म्युजिक भिडिओका सुन्दर दृश्य छायांकन हुने बीपी राजमार्ग र मुलकोट अहिले कुरुप दृश्यका कारण चर्चामा छन् । रिलमा देखिने मुलकोटका ती दृश्यहरू तत्कालका लागि रिलमै सीमित भएका छन् । रियल मुलकोटको मुहार भने अहिले उजाड बगर बनेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ असोज १७ गते २०:०५

१७ असोज, काठमाडौं । बीपी राजमार्गको नागबेली बाटो हुँदै यात्रा गर्नेहरूले एउटा चित्र पक्कै सम्झेको हुनुपर्छ, सिसै–सिसाको लम्बेतान लस्कर । राजमार्गको भित्ताभरि किला ठोकेर झुन्ड्याइएका ऐनाको बीच भागमा छ, सेतीदेवी मन्दिर । त्यही सेतेदेवी मन्दिरको उकालोबाट देखिन्छ, सुनकोसी किनारको समथर भू–भागमा झुरुप्प मिलेर बसेको बस्ती । होटल, रिसोर्ट र बजारको चहलपहल । करोडौं खर्च गरेर बनाइएका संरचना, स्वीमिङ पुलसहितका सुविधा सम्पन्न रिसोर्ट । सुनकोसीका छालसँगै र्‍याफ्टिङको मज्जा । आन्तरिक र वाह्य पर्यटकको रोजाइ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित मुलकोट पछिल्लो समय यही रूपमा चिनिँदै थियो । सुनकोसीको शान्त बेगसँग आनन्दित भएर बसेको मुलकोटको अहिलेको अवस्था भने ठिक विपरीत छ । पानीको फोहरासहितको स्वीमिङ पुल, गार्डेन, पार्क अहिले मरुभूमिमा परिणत भएका छन् ।

गत शुक्रबार र शनिबारको भारी वर्षासँगै आएको बाढीले मुलकोटको हराभरालाई तहसनहस बनाएको छ । होटल, रिसोर्ट, बजार, स्कुल, पुल, स्थानीयका घरहरूमा बाढीले वितण्डा मच्चाएको छ । शान्त र आकर्षक मुलकोट अहिले विपत्तिसँग जुधिरहेको छ ।

संघीय राजधानी काठमाडौंबाट ९० किलो मिटरको दुरीमा रहेको मुलकोट एक रात बास बसेर फर्कने (वान नाइट स्टे) आन्तरिक पर्यटक र वाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै थियो । दिन दुगुना रात चौगुनाको हिसाब द्रुत गतिमा ‘पर्यटकीय हब’ बन्दै गरेको मुलकोटको अहिलेको अवस्था भने विकराल छ, अझ भनौं बाढीको संकटै–संकटबाट गुज्रेको छ ।

सुनकोसीको बाढीले सुनकोसी गाउँपालिका–५ स्थित मुलकोट बजार, सित्खा, खैरनी, रातमाटा डुबान परेर करोडौंको क्षति भएको छ । मुलकोटमा रहेको पशुपति आधारभूत विद्यालयसँगै दर्जनौं होटल तथा रिसोर्ट र बस्तीहरू डुबानमा परे ।

राति नै बस्तीमा सुनकोसी नदी प्रवेश गरेपछि झनै अर्को विपत्ति आइलाग्यो । स्थानीयले भागेर बल्लतल्ल ज्यान त जोगाए, तर सामान भने जोगाउन सकेनन् । जसकारण पनि मुलकोटले झन् ठूलो क्षति बेहोर्नु पर्‍यो ।

सुनकोसीको बाढीबाट मुलकोटमा मात्रै ६० घरहरू डुबानमा परेको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा दाहाल बताउँछिन् ।

‘मुलकोट बजार र आसपासका ६० घर डुबानमा परे । त्यहाँ भएका सरसामान बाढीसँगै बगे । केही पानीमा डुबेर नष्ट भए, जसकारण झन् ठूलो क्षति बेहोर्नु पर्‍यो,’ उनले भनिन् ।

मुलकोटमा बाढीले कटान र घरहरू बगाउने भन्दा पनि डुबानका कारण धरै क्षति भएको छ । भुइँ तलामा ६/७ फिटसम्म बालुवा थुप्रिएको स्थानीय बताउँछन् ।

मुलकोटको स्कुलमा पनि ठूलो क्षति पुगेको छ । जस्ताको छानो मुनिको केही भाग मात्रै देखिन्छ । स्कुल नजिकै रहेको रिसोर्ट र अन्य घर डुबानमा पर्दा ठूलो क्षति भएको छ । सुनकोसीको तीर नजिकै स्कुल बनाइएको थियो । अहिले त्यो स्कुल कोसीले पुरेको छ । त्यहाँ स्कुल बनाउनु नै गलत रहेको मुलकोटकै स्थानीय बताउँछन् ।

राजनीतिक पहुँचका भरमा बजार जोगाउने उद्देश्यले कोसी बगरमा स्कुल बनाइएकाले अब सोही ठाउँमा स्कुल पुनर्निर्माण होइन, स्थानान्तरण गर्नुपर्ने समेत माग उठेको छ ।

०००

रामेछापसँग जोडिएका कारण पनि मुलकोट चम्किनुको मुख्य कारण हो । लुक्लाको एकमात्र उडान रामेछाप विमानस्थलबाट हुँदै आएको छ । कोसी पारिको रामेछापको विमानस्थललाई आधार बनाउँदै मुलकोटमा ठूलो होटल, रेस्टुरेन्टदेखि रिर्सोटहरूसम्म खुलेका थिए ।

जसकारण सोलु अर्थात सगरमाथा जाने वाह्य पर्यटकहरूको रोजाइ मुलकोट बन्न पुगेको थियो । काठमाडौंबाट गएर एक रात मुलकोटका रिसोर्टमा बस्ने र भोलिपल्ट बिहानै रामेछाप विमानस्थलबाट लुक्लाको उडान भर्ने वाह्य पर्यटकहरूको रोजाइ मुलकोट बन्दै आएको थियो ।

यसैलाई मध्यनजर गर्दै मुलकोटामा, क्वालिटीबीच रिसोर्ट, पौवा होटल तथा रिसोर्टसहित चार वटा रिसोर्ट र ३५ वटा होटल सञ्चालनमा आएका थिए । तर, सुनकोसीको बाढीले रिसोर्टमा ठूलो क्षति पुगेको क्वालिटी रिसोर्टका भुमराज श्रेष्ठ बताउँछन् ।

करिब २० रोपनी क्षेत्रफलमा ५० करोड रुपैयाँको लगानीमा ९ साउनमा मात्रै सञ्चालनमा आएको पौवा होटल तथा रिसोर्टमा पनि बाढीले वितण्डा मच्चाएको छ । होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले उद्घाटनका बेला नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्‍याउने उदेश्यसहित रिसोर्ट खोलिएको बताएका थिए ।

तर, लगानीको दुई महिना नबित्दै बाढीले वितण्डा मच्चाएपछि व्यवसायीहरू त्रसित बन्ने अवस्था आएको छ । बाढीको क्षतिपछि पौवा रिसोर्टले भनेको छ, ‘यो विपदबाट हामी पनि अछुतो रहन सकेनौं । रिसोर्ट बगरमा परिणत भएको छ । यो विपद्‍मा सहयोग गर्नुहुने प्रहरी प्रशासन, जनप्रतिनिधिसहित अभिभावकत्व दिई गाँस, बास कपास उपलब्ध गराउनुहुने सुनकोसी गाउँपालिकालाई साधुवाद ।’

यसबाट के प्रष्ट हुन्छ, कि पाहुनालाई गाँस, बास, कपास उपलब्ध गराएर सत्कार गर्ने रिसोर्ट आफैं अहिले सहराको भरमा परेको छ । आन्तरिक र वाह्य पर्यटकीय हब बनेपछि रामप्रसाद नेपालले झन्डै १५ करोड लागतमा अक्सिट विच रिसोर्ट एन्ड र्‍याफटिङ सञ्चालनमा ल्याएका थिए । यी सबै होटल रिसोर्टहरू अहिले बन्द अवस्थामा छन् ।

०००

वर्षाले बीपी राजमार्ग पूर्ण ठप्प र होटल रिसोर्टमा समेत करोडौंको क्षति गरेपछि लुक्लाको उडान रामेछापबाट जनकपुर सारिएको थियो ।

अहिले यी सबै रिसोर्ट र होटलहरू विपद्सँग जधेर तंग्रिने प्रयासमा छन् । अब मुलकोट फेरि जुरमुराउनको विकल्प पनि छैन । बीपी र मुलकोटमा क्षति पुगेपछि एभरेस्ट उडानलाई रामेछापबाट जनकपुर सारियो । तर, त्यो दुई दिन पनि टिक्न सकेन । जनकपुरका अस्तव्यवस्थताका कारण अहिले पर्यटन व्यवसायीहरूले पर्यटकलाई जनकपुर पठाउन छाड्न थालेका छन् ।

लामो र घुमाउरो बाटो र त्यहाँमाथि अस्तव्यस्त र होटलहरूको सेवामा पर्यटकले गुनासो गरेपछि व्यवसायीहरू जनकपुर पठाउने अवस्थामा छैनन् । मंगलबार उडान सुरु भएको दि तारा एअरले २ पटक र बुधबार ५ पटक यात्रु लुक्ला पुर्‍याएको थियो । समिट र सीताले भने यो रुटबाट उडान नगर्ने निर्णय यसअघि नै गरेका थिए ।

जसकारण पनि मुलकोटको अब उठ्नुको विकल्प छैन । मुलकोटलाई फेरि पहिलेकै अवस्थामा ल्याउने गरी काम सुरु गरिएको संघीय सांसद राजन दाहाल बताउँछन् । ‘विपद्पछि प्रारम्भिक चरणमा गर्नुपर्ने कामहरूमा केन्द्रित भएर हामीले काम सुरु गरेका छौं । अहिले अवरुद्ध बाटो खुलाउनेदेखि राहतमा केन्द्रित भएर काम गरिएको छ । अब बिस्तारै मुलकोटलाई पुरानै लयमा फर्काउने गरी काम अघि बढाउँछौं ।’

अब भने पुनर्स्थापना र पुनर्निर्माणको कामलाई सँगैसँगै अघि बढाउने गरी काम गरिने उनले बताए ।

०००

पर्यटकीय हब मुलकोटको मुहार चम्काउने मुख्य भूमिका बीपी राजमार्गकै हो । बीपी राजमार्ग सञ्चालनमा आएपछि नै राजमार्गभन्दा मुनि बस्ती र बजार विस्तार भएको थियो । त्यसपछि नै सुनकोसी किनारमा होटल र रिसोर्ट खुलेका थिए भने र्‍याफ्टिङ पनि सञ्चालन गरिएको थियो । यी सबैको सञ्चालनसँग जोडिएको बीपी राजमार्गको पहिरोले ध्वस्त बनाएपछि मुलकोट पनि उजाड हुन नै भयो ।

अझै पनि तत्कालै बीपी राजमार्ग नखुल्ने संकेत देखिएपछि मुलकोटको भविष्य पनि बीपीसँगै जोडिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बिहीबार पत्रकार सम्मेलन नै गरेर दशैंअघि बीपी राजमार्ग नखुल्ने बताएपछि मुलकोटको चमक पनि अहिले नै फर्कन अवस्था देखिँदैन । र, यो अवस्था कहिलेसम्म रहन्छ भन्ने पनि यकिन छैन ।

बाढीको विपत्तिकै कारण कुनै समय फिल्म र म्युजिक भिडिओका सुन्दर दृश्य छायांकन हुने बीपी राजमार्ग र मुलकोट अहिले कुरुप दृश्यका कारण चर्चामा छन् । रिलमा देखिने मुलकोटका ती दृश्यहरू तत्कालका लागि रिलमै सीमित भएका छन् । रियल मुलकोटको मुहार भने अहिले उजाड बगर बनेको छ । अब रिलमा देखिएको सुन्दर मुलकोटको मुहार हेर्न कति समय लाग्छ अहिले नै भन्न सक्ने अवस्था छैन ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?