+

जलवायु परिवर्तनले बस्तीविहीन हुँदै हिमाली र पहाडी गाउँ  

२०८१ असोज १८ गते १२:२०
  • पानी अभावमा पुर्ख्यौली बस्ती छोड्न बाध्य नेपालका जलवायु शरणार्थीको संख्या यकिन गर्न सजिलो छैन । तर, यो संख्या हरेक वर्ष बढिरहेको छ ।
  • उच्च हिमाली र पहाडी क्षेत्रका कैयौं गाउँ बस्तीविहीन हुँदै जाँदा त्यहाँ बाँदर र बँदेलको राज छ ।

१८ असोज, काठमाडौं । सोलुखुम्बुको सुन्दर हिमाली थामे गाउँ १ साउन २०८१ मा बाढीले एकनिमेषमै बगायो । तेन्जिङ नोर्गे, आङरिता र कामीरिता लगायतका कीर्तिमानी हिमाल आरोही शेर्पाको पुर्ख्यौली थामे गाउँ हेर्दाहेर्दै बगरमा परिणत होला भन्ने कसैले सोचेको थिएन । एउटा पर्यटकीय गाउँ खण्डहर भयो ।

राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार, बाढीले करिब ३,८०० मिटर उचाइमा रहेको थामे गाउँका १३ घर पूर्ण रूपमा क्षतिग्रस्त छन् । १० घर र दुई होटलमा आंशिक क्षति पुगेको छ । झोलुङ्गे पुल बगाएको छ ।

तेन्जिङ नोर्गे शेर्पासँग पहिलो पटक सगरमाथा आरोहण गरेका न्यूजिल्याण्डका नागरिक एडमण्ड हिलारीको सहयोगमा बनेको हिलारी स्कूल पनि बाढीले भत्कायो । गाउँमा बनाइएका स्वास्थ्य चौकी र जलविद्युत् आयोजना क्षतिग्रस्त भए ।

दिउँसो गाउँको माथिल्लो भागमा चौंरी चराउन गएका गोठालाहरूले तल्लो तटीय क्षेत्रमा रहेका गाउँलेलाई समयमै हिमताल फुटेको जानकारी दिएकाले कुनै मानवीय क्षति भएन । पर्यटकीय सिजन नभएकाले गाउँलेहरू काठमाडौं झरिसकेका थिए । गाउँमा भएकाहरू पनि हल्लाखल्ला पछि बेलैमा सुरक्षित स्थानतर्फ भाग्न सफल भए ।

त्यसैले मानवीय क्षति भएन । तर, एकैछिनको बाढीले करिब चार दर्जन घरधुरी बसोबास गर्दै आएको गाउँ तहसनहस बनाइदियो । गाउँ भन्दा माथि करिब ४,८०० मिटर उचाइमा रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेर आएको बाढीका कारण थामे गाउँ बगरमा परिणत भएको प्राधिकरणको अध्ययनले देखाएको छ ।

थामेको बाढीले पुर्याएको क्षति

हिमताल फुटेकै आसपासमा रहेका थप तीन हिमताल कुनै पनि बेला फुट्ने जोखिममा रहेकाले थामेमा विपद्को जोखिम कायमै रहेको प्राधिकरणले जनाएको छ । अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तानसम्म फैलिएको ३,५०० किलोमिटर भन्दा लामो हिन्दु कुश हिमाल पर्वतमालामा रहेका मध्ये ४७ वटा हिमताल कुनै पनि बेला फुट्ने अवस्थामा रहेको एक वैज्ञानिक अध्ययनले देखाएको छ ।

जोखिमयुक्त मानिएका तीमध्ये २१ वटा हिमताल नेपालमा पहिचान भएका छन् । बाँकी २५ वटा जोखिमपूर्ण हिमताल चीनको स्वशासित क्षेत्र तिब्बतमा र एउटा भारतमा रहेको इसिमोड र यूएनडीपी नेपालले गरेको अध्ययनमा उल्लेख छ । प्राधिकरणका वरिष्ठ मौसमविद् राजेन्द्र शर्माका अनुसार, जोखिमयुक्त भनेर पहिचान भएका २१ सहित नेपालको हिमाली क्षेत्रमा ३ हजार ६२४ हिमताल छन् ।

नेपालका बाहेक चिनियाँ स्वशासित क्षेत्र तिब्बतमा रहेका कतिपय हिमताल विस्फोट भएमा त्यसको असर भौगोलिक बनावटका कारण नेपालमा पर्ने भएकाले दक्षिणी सीमा क्षेत्रमा रहेका नेपाली बस्ती र पूर्वाधार झन् ठूलो जोखिममा छन् । कारणः यसअघि हिमताल विस्फोट हुँदाको असर नेपाली बस्तीमा परिसकेको छ ।

अझ डरलाग्दो तथ्य त के छ भने हिमालय क्षेत्रको विषयमा जानकार नेपाली अधिकारीहरूका अनुसार, चीनले ‘सुरक्षाको कारण देखाएर’ त्यस क्षेत्रमा रहेका जोखिमपूर्ण तालको बारेमा नेपाललाई समयमै सूचना दिइरहेको छैन ।

हिमतालको आकार र संख्याबारे निरन्तर अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरूका अनुसार, हिमताल विस्फोट र जलवायु परिवर्तनको जोखिम निरन्तर बढ्दो छ । यसबाट कल्पना गरेभन्दा धेरै नोक्सान हुनसक्ने उनीहरूको चेतावनी छ । त्यसको प्रत्यक्ष असर थामेका ४५ घरपरिवार जस्तै हिमाली र पहाडी क्षेत्रमा बसोबास गरिरहेका बासिन्दामा सबैभन्दा धेरै पर्नेछ । जलवायु परिवर्तनका कारण उनीहरूको जीविकोपार्जन र बसाइमा असर परिसकेको छ ।

गोरखाको लाप्राकका बासिन्दा ।

‘जसोतसो विद्यालय, हेल्थपोष्ट र जलविद्युत् सञ्चालनमा ल्याएका छौं’ हिमताल फुटेर गाउँलेलाई विस्थापित गरेको थामेको समेत प्रतिनिधित्व गर्ने सोलुखुम्बुका स्थानीय तथा सांसद सोनाम गेल्जेन शेर्पाले भने, ‘गाउँलेहरू नभत्किएका घरमा फर्किएका छन् । जोखिम कायमै भएकाले बस्ती स्थानान्तरण गर्ने कि के गर्ने भन्ने बारेमा छलफल गरिरहेका छौं ।’

सोलुखुम्बुको थामे गाउँमाथि फुटेका दुवै ताल जोखिमयुक्त तालको रूपमा सूचीकृत थिएनन् । अध्ययनमा संलग्न वैज्ञानिकहरूका अनुसार बढ्दो तापक्रम वृद्धिसँगै नयाँ–नयाँ हिमताल बन्ने क्रम तीव्र छ । यसअघि नै विकसित भएका तालको आकार पनि सोही गतिमा वृद्धि भइरहेको छ ।

बाढी पछि पनि थामे गाउँ पहिरोको जोखिममा छ । बस्तीमा ठूल्ठूला ढुङ्गा थुप्रिएका छन् । आलु खेती गर्ने जग्गा पुरिएको छ । थामेमा थप हिमतालको जोखिम कायमै रहेकाले सोही ठाउँमा पुनः बस्ती बसाल्न दिने वा अन्यत्र बसाइँसराइको व्यवस्था मिलाउने विषयमा प्राधिकरणले अध्ययन गरिरहेको छ ।

मानव जातिका लागि नै अदृश्य शत्रुको रूपमा लिइएको जलवायु परिवर्तनका कारण आन्तरिक र बाह्य बसाइँसराइले बढावा पाइरहेको छ । विविधतायुक्त नेपालको विभिन्न भौगोलिक खण्डमा रहेका हिमाली, पहाडी र तराई तीन क्षेत्र नै जलवायु परिवर्तनको असरबाट अछुतो छैनन्, जसले अन्ततः मानिसहरू थातथलो छाडेर बसाइँ सर्न बाध्य बनाएको छ ।

कागबेनीमा बाढीले भएको क्षति

तर हिमाली क्षेत्रका बासिन्दाले हिमताल विस्फोटको असर भोगिसकेका छन् । अझै डरलाग्दो जोखिमको खतरा देखिएकाले उनीहरू सुरक्षित स्थानतर्फ बसाइँ सर्ने क्रम सुरु भएको देखिन्छ । त्यस्तै बसाइँको क्रम सिन्धुपाल्चोकमा पनि देखिएको छ ।

१ असार २०७८ मा सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले तल्लो तटीय क्षेत्रका सयौं घर बगाएको थियो । हेलम्बु माथि रहेको एउटा हिमताल फुटेर आएको बाढीमा भाग्दाभाग्दै पाँच जनाले ज्यान गुमाए । बाढीमा हराएका २० जना बेपत्ता भए । परिवारलाई उनीहरू फर्केर आउने आशा छैन ।

स्थानीय निकायले संकलन गरेको विवरण अनुसार मेलम्चीको बाढीमा ३३७ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने ५२५ घरपरिवार विस्थापित भए । बाढीले नदीे छेउछाउमा रहेका कृषिमा आधारित २५९ साना उद्योगमा क्षति पुग्यो ।

हिमताल विस्फोट पछि राष्ट्रिय गौरवको परियोजनाको रूपमा ३४४ मिलियन अमेरिकी डलर बढीको लगानीमा बनेको मेलम्ची खानेपानी आयोजनाको हेडबक्स बगाएर सुरुङ र परियोजनाको भौतिक पूर्वाधारमा ठूलो क्षति भएको छ ।

अर्बौं लगानी भएको मेलम्ची खानेपानी आयोजनाको भविष्य अनिश्चित भएको छ । काठमाडौंवासीको तिर्खा मेटाउने एक मात्र खानेपानी परियोजना मानिएको मेलम्चीको लगानीलाई खेर जान नदिन एशियाली विकास बैंक र नेपाल सरकारले थप दुई अर्ब लगानी गरेर हेडबक्स सार्ने योजना अघि सारेका छन् ।

थप लगानी कति प्रभावकारी हुन्छ भन्ने भविष्यमा देखिएला । फेरि हिमताल फुटेमा खानेपानी परियोजनाको उपादेयता नै समाप्त पनि हुनसक्छ । त्यस्तो बेला राजधानी काठमाडौंमा हुनसक्ने खानेपानीको संकट भयावह हुने देखिन्छ ।

सबैभन्दा महत्वपूर्ण त बाढीमा भएको आर्थिक र भौतिक क्षति पछि त्यहाँ बसोबास गरिरहेका सयौं घरपरिवार उनीहरूको आर्थिक हैसियत र नाता सम्बन्धका आधारमा चौतारा, बनेपा, धुलिखेल र काठमाडौं लगायत स्थानमा बसाइँ सरे । आर्थिक अवस्था कमजोर भएकाहरू जोखिम मोलेरै हेलम्बु र मेलम्ची किनारमै बसोबास गरिरहेका छन् ।

‘ठूलो पानी परेको दिन बाढीले घर बगाइहाल्छ कि भनेर रातमा पालो गरेर सुत्नुपर्छ । धनीमानीले अरू ठाउँमा घर बनाएर गए, हामी कहाँ जाऔं ?’, मेलम्ची बजारमा बाढीले पुरेको बालुवा निकालेर पुरानै घरमा  बसिरहेकी शर्मिला श्रेष्ठले भनिन् । उनको आसपासका अधिकांशले बाढी नपुग्ने ठाउँमा घर बनाएर बसिरहेका छन् ।

बगर बनेको मेलम्ची नदी किनारको बस्ती

एउटा पछिल्लो अध्ययन अनुसार हालसम्म कम्तीमा डेढ दर्जन बढी हिमताल फुटेका छन् । हिमताल विस्फोट पछि हुने बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल, जलविद्युत् परियोजना जस्ता पूर्वाधारका साथै मानव बस्ती कम हुन थालेका छन् । पहाडी जिल्लाहरूमा जनसंख्या ऋणात्मक दरमा झरिसकेको छ ।

पछिल्लो जनगणनाले भौगोलिक क्षेत्र अनुसार जनसंख्याको वितरणमा निकै परिवर्तन आएको देखाएको छ । जन्मदर सामान्य रहेको भए पनि हिमाली र पहाडी क्षेत्रमा जनसंख्या ऋणात्मक बन्दै गएको छ । बसाइँसराइको जनसांख्यिक भार खेतीपातीका लागि पानी पाइने उर्वर भूमि तराईमा पर्न थालेको छ ।

जनगणनाको पछिल्लो तथ्यांक अनुसार करिब तीन करोड जनसंख्या रहेको नेपालमा २०६८ सालसम्म तराईले कुल जनसंख्याको ५०.२७ प्रतिशत भार ओगटेको थियो । दश वर्षको अन्तरालपछि २०७८ सालमा तराईको जनसंख्या तीन प्रतिशतले वृद्धि भई कुल जनसंख्याको ५३.६१ प्रतिशत पुगेको देखिन्छ ।

यो क्रम पछिल्ला वर्षमा झन् धेरै बढेको छ । हिमाली क्षेत्रले ओगटेको कुल जनसंख्याको ६.७३ प्रतिशतको अंश घटेर ६.०८ मा झरेको छ । २०६८ सालसम्म ४३.०३ प्रतिशत जनसंख्याको भार ओगटेको पहाडी क्षेत्रमा १० वर्षपछि ४०.३१ प्रतिशतमा झरेको देखिन्छ ।

जलवायु परिवर्तनको असर उच्च हिमाली क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि पर्न थालेको छ । मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालीकोट, रामेछाप र बझाङ लगायतका जिल्लाहरूबाट विस्थापित हुनेहरूको संख्या ठूलो छ । खानेपानीका मूल सुकेर समस्या थपिएको छ ।

चुरे क्षेत्रमा पानीको संकट परेपछि काठमाडौंमा गरिएको प्रदर्शनमा सहभागीहरु ।

यस्तै यहाँ सिंचाइको सुविधा प्रभावित भएको छ भने बढ्दो तापक्रमले परम्परागत बाली उब्जन छाडेको छ । खानेपानी र सिंचाइको अभावमा माथिल्लो मुस्ताङको धे, सामजोङमा पूरै बस्ती बसाइँ सरेर ऐलानी जग्गा खोज्दै तल्लो क्षेत्रमा बसाइँ सरेको एक दशक बढी भइसकेको छ ।

‘गाउँमा पानीको अभाव भएपछि ३० वर्षको उमेरमा परिवार लिएर पोखरा गएँ, केही वर्ष भाडा तिरेर बसें, पछि नसकेपछि १२ वर्ष शरणार्थी शिविरमा गएर बसें’, छिरिङ लाम्के गुरुङले केही वर्ष पहिले अन्तर्वार्ताका क्रममा भनेका थिए । कालीगण्डकीको किनारामा रहेको नयाँ बस्तीमा भेटिएका उनले भनेका थिए, ‘आफ्नो नाभि गाडेको ठाउँ खोज्दै आएको, अवस्था झन् विकराल देखेपछि सबै सल्लाह गरेर यहाँ बसेको पनि वर्षौं भयो ।’

पानीको अभावमा पुर्ख्यौली बस्ती छोड्न बाध्य भएर घरबारविहीन भएका उनी नेपालमा जलवायु शरणार्थी बनेका छन् । यसरी बसाइँ सर्ने आन्तरिक शरणार्थीको संख्या हरेक वर्ष बढिरहेको छ । उच्च हिमाली र पहाडी गाउँ बस्तीविहीन हुँदै गएकाले उच्च हिमाली र पहाडी गाउँमा बाँदर र बँदेलको राज्य चलिरहेको छ ।

उपल्लो मुस्ताङमा बसोबास गरेका छिरिङ जस्तै २६ घरपरिवारले नयाँ ठाउँमा लालपुर्जा पाएका छैनन्, सुकुम्बासीको हैसियतमा बसिरहेका छन् । अतिवृष्टि र अनावृष्टिका कारण पहाडी गाउँ पहिरोको चपेटामा परेका छन् भने उच्च पहाडी क्षेत्रमा पानीको चरम संकटले बस्ती रित्तिन थालेका छन् । पानीको खोजीमा तल्लो क्षेत्रमा बसाइँ सरिरहेका छन् ।

पानीको अभावले कति मानिस बसाइँ सरे भन्ने आधिकारिक तथ्यांक कसैले संकलन गरेको छैन । ठाउँ अनुसार जवाफ पनि फरक–फरक आउँछ । रिपोर्टिङका क्रममा मनाङ र मुस्ताङ जस्ता हिमाली क्षेत्रमा गरिएको अन्तर्वार्तालाई आधार मान्ने हो भने हिमाली क्षेत्रका पचास प्रतिशत बासिन्दा पानी पाइने सुगम ठाउँमा सरिसकेका छन् । त्यहींबाट अधिकांश नागरिक अध्ययन, पेशा र कामको खोजीमा विदेश हिंडिसकेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीका लागि जानेहरुको भिड

वैदेशिक रोजगार विभागका अनुसार प्रति वर्ष करिब सात लाख नागरिक रोजगारीको खोजीमा खाडी तथा युरोपेली मुलुकमा जाने गरेका छन् भने करिब डेढ लाख विद्यार्थी अध्ययनका लागि बाहिरिने गर्छन् । यसबाहेक अवैध बाटो भएर खाडी, युरोप र अमेरिका पुग्नेहरूको तथ्यांक यसमा समेटिएको छैन ।

त्यसरी नै खुला सीमा पार गरेर रोजगारीका लागि भारत पस्ने मध्य तथा सुदूरपश्चिमका लाखौं नागरिकको बसाइँसराइ यो तथ्यांकमा समावेश छैन । रोजगारी, व्यवसाय र अध्ययनका लागि वैदेशिक रोजगारीमा जानेहरूको बसाइँसराइमा जलवायु परिवर्तनको त्यति सम्बन्ध नभए पनि जलवायुजन्य विपद्का कारण आन्तरिक बसाइँसराइमा भने अस्वाभाविक तीव्रता आइरहेको छ ।

जलवायु परिवर्तन उनीहरूको एकमात्र कारण नभए पनि पानीको अभावले खेतीपातीमा आएको कमी, जलवायुजन्य विपद्ले गरेको क्षति र जीविकोपार्जनमा देखिएको सास्तीलाई सहज बनाउन बसाइँ सर्नेको ताँती लम्बिरहेको छ । क्लाइमेट एक्सन नेटवर्क साउथ एसिया (कान्सा) ले सन् २०२१ मा गरेको अध्ययनले, सन् २०५० सम्ममा नेपालबाट तीस लाख नागरिक बसाइँ सर्न बाध्य हुने प्रक्षेपण गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले गरेको देशव्यापी सर्वेक्षणले पनि जलवायु परिवर्तनको असर भयावह बन्दै गरेको देखाउँछ । कार्यालयले सन् २०२२ मा प्रकाशित गरेको सर्वेक्षणमा सहभागीहरूमध्ये १४ प्रतिशतले जलवायु परिवर्तनका कारण कुवा, चापाकल जस्ता पानीका स्रोत विगत २५ वर्षमा प्रभावित भएको बताएका थिए ।

त्यसैगरी, ७८.३ प्रतिशत घरपरिवारले खोला र नदीमा पानीको सतह घटेको बताएका थिए भने सर्वेक्षण गरिएका ५५ प्रतिशत घरपरिवारले कुवा, ढुङ्गेधाराको प्रयोगमा कमी आएको बताएका थिए ।

एकीकृत बस्ती भरपर्दो विकल्प

पछिल्लो समय निरन्तर भइरहेका प्राकृतिक विपद्का कारण पनि भएको थातथलो छोडेर आन्तरिक बसाइँ सर्ने प्रवृत्ति बढेको छ ।

प्राधिकरणका अनुसार २३६ जना भन्दा बढीको ज्यान लिने गरी यसै महिना काभ्रेपलाञ्चोक, दोलखा, काठमाडौं उपत्यका, धादिङ लगायत देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा चार हजार ६ सयभन्दा बढी निजी घर पूर्ण रुपमा भत्किएका छन् भने पाँच हजार तीन सय १० घरमा आंशिक क्षति पुगेको छ ।

यो क्षतिसँगै १० हजार आठ सय सात घरपरिवार पूर्णरुपमा विस्थापित भएका छन् । यो विपद्मा आंशिक रुपमा प्रभावित हुनेहरुको संख्या १६ हजार दुई सय ४३ पुगेको छ । घरबासका साथै खेतीयोग्य जमिन बगाइसकेको, गाउँमा गर्दै आएको पेशा व्यवसाय प्रभावित भएको अवस्थामा विपद् प्रभावितहरु पुर्ख्यौली बस्ती छाडेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रवृत्ति पनि बढिरहेको छ ।

ठाउँठाउँमा एकीकृत बस्ती विकास गर्नु यसको भरपर्दो विकल्प हुने कतिपय विज्ञको भनाइ छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसंख्या विभाग प्रमुख डा. योगेन्द्रबहादुर गुरुङ भन्छन्, ‘प्रकोपका कारण विस्थापित हुने प्रवृत्ति सम्बोधन गर्ने हो भने ठाउँ–ठाउँमा एकीकृत बस्ती बनाउन ढिलाइ गर्नुहुँदैन । २/३ दिन निरन्तर पानी आउँदा कतिपय पहाडले थेग्न नसक्ने अवस्था छ । त्यसैले जोखिमयुक्त पहाडबाट बसाइँ सारेर एकीकृत बस्तीमा रूपान्तरण गर्नुको विकल्प छैन ।’

मानव जातिका लागि नै अदृश्य शत्रुको रूपमा लिइएको जलवायु परिवर्तनका कारण आन्तरिक र बाह्य बसाइँसराइले बढावा पाइरहेको छ । विविधतायुक्त नेपालको विभिन्न भौगोलिक खण्डमा रहेका हिमाली, पहाडी र तराई तीन क्षेत्र नै जलवायु परिवर्तनको असरबाट अछुतो छैनन्, जसले अन्ततः मानिसहरू थातथलो छाडेर बसाइँ सर्न बाध्य बनाएको छ ।
एउटा पछिल्लो अध्ययन अनुसार हालसम्म कम्तीमा डेढ दर्जन बढी हिमताल फुटेका छन् । हिमताल विस्फोट पछि हुने बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल, जलविद्युत् परियोजना जस्ता पूर्वाधारका साथै मानव बस्ती कम हुन थालेका छन् । पहाडी जिल्लाहरूमा जनसंख्या ऋणात्मक दरमा झरिसकेको छ ।

कभर स्टोरी

यसै महिना काभ्रेपलाञ्चोक, दोलखा, काठमाडौं उपत्यका, धादिङ लगायत देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा चार हजार ६ सयभन्दा बढी निजी घर पूर्ण रुपमा भत्किएका छन् भने पाँच हजार तीन सय १० घरमा आंशिक क्षति पुगेको छ । यो क्षतिसँगै १० हजार आठ सय सात घरपरिवार पूर्णरुपमा विस्थापित भएका छन् ।
भद्र शर्मा
लेखक
भद्र शर्मा

भद्र शर्मा न्युयोर्क टाइम्सका लागि रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय