+

बार्बिक्यु गरेको मासुले क्यान्सर हुन्छ ?

२०८१ असोज  १८ गते १३:३९ २०८१ असोज १८ गते १३:३९
बार्बिक्यु गरेको मासुले क्यान्सर हुन्छ ?

दशैंमा छाकैपिच्छे तारेको, साँधेको, मसालेदार, ग्रेभी माछामासुका परिकारहरु घरघरमा पाक्छ । अहिले त मसालेदार खानेकुरासँगै सपरिवार बसेर मदिरापान गर्ने ट्रेन्ड जत्तिकै भइसक्यो ।

चाडबाड आयो भन्दैमा ज्यान नै जोखिममा पार्ने गरी शरीरले सहनै नसक्ने गरी मदिरा तथा चिल्लो र मसालेदार खानेकुरा अत्यधिक खाँदा आकस्मिक स्वास्थ्य समस्या लिएर अस्पताल जानुपर्ने हुन्छ ।

आजभोलि त मासुका परिकारलाई बार्बिक्यु गरेर पनि खाइन्छ । यसरी खाँदा जिब्रोले स्वाद त मीठो पाउँछ । तर स्वास्थ्यका लागि त्यति फाइदाजनक मानिंदैन । त्यति मात्र होइन, जो घरमा पहिलेदेखि नै  क्यान्सर वा अन्य बिरामी छन्, उनीहरुका लागि कस्तो खानेकुरा खाने ? कति मात्रामा खाने ? मसालेदार खानेकुराले कस्तो असर गर्ला ? भन्ने हेक्का राख्नुपर्छ ।

बिरामीले मात्र होइन, लगातार तारेको, भुटेको, चिल्लो र अत्यधिक मसालेदार खानेकुरा अत्यधिक खानु स्वस्थ व्यक्तिकै लागि पनि हानिकारक हुन्छ ।

किन यस्ता खानेकुरा हानिकारक हुन्छ ?

धेरै अध्ययनले आगोमा सोझै पोलेको, डढाएको बार्बिक्यु गरेको राँगा, खसी, बंगुर, माछा, कुखुराको मासुको बढी सेवनले क्यान्सर समेत गराउन सक्ने प्रमाण भेटिएका छन् ।

आगोमा पोल्दा क्यान्सर गराउने तत्वहरु उत्पन्न हुन्छन् । जस्तो कि हेटेरोसाइक्लिक एरोमाटिक एमाइन (एचएए) र पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (पीएएच) ।

यी दुवै तत्वले मानिसको अनुवांशिक इकाई डीएनएमा भएको परिवर्तनले विभिन्न अंग फोक्सो, पेट, छाला, पिसाबथैलीमा क्यान्सर गराउने विज्ञहरु दाबी समेत गर्छन्  ।

उच्च तापक्रमको आगोमा मासु पोल्दा हेटेरोसाइक्लिक एरोमेटिक कम्पाउन्ड र बेनजीनमा पनि क्यान्सर उत्पन्न गर्ने तत्व हो । एचएए कम्पाउण्डको उपभोगले आन्द्रा तथा मलद्वारको क्यान्सर गराउन सक्छ । तसर्थ, मासु र तरकारी पनि पोलेर खाने गरेमा, डढेको खानोकुरा खाएमा शरीरमा हानि पुग्छ ।

मासु मात्र होइन, धेरै तातो खाना, तरलपदार्थ, तातो चिया पिउनु पनि हानिकारक छ ।

यी तत्वको वृद्धिलाई कम गर्न मासुलाई सफा सुकिलो भाँडामा राखेर मन्द आँचमा पकाउनुपर्छ । यसरी पकाउँदा पनि मासु वा तरकारीलाई डढ्न दिन हुँदैन । यसरी पकाइएको खाना सुरक्षित हुन्छ ।

रातो मासु हानिकारक

मासुमा पनि रातो मासु शरीरका लागि हानिकारक मानिन्छ । एक, दुई टुक्रा रातो मासु खाएर केही फरक पर्दैन । तर धेरै मात्रामा दैनिक रातो मासु खाने गर्दा पेट, आन्द्रा र मलद्वारको क्यान्सरलाई बल्झाउँछ ।

त्यस्तै, प्रशोधित मासु बढी खाँदा पनि स्वास्थ्यलाई असर गर्न सक्छ । ती मासुभित्र कीटाणु नष्ट पार्ने कीटाणुहरु हुन्छन् । ती कीटाणु मार्ने रसायन हालिएको हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

मिठाइमा पनि हुनसक्छ हानिकारक रसायन

चाडबाडमा सबैभन्दा बढी मिठाइका परिकारको व्यापार हुन्छ । किनकि यो बेलामा मिठाई बाँडेर एकअर्कोमा मिठास बाँड्ने चलन छ ।

लड्डु, बर्फी, लालमोन, रबडी जस्ता आकर्षक देखिने मिठाईहरुमा एक त अखाद्य रंग (चाँदीको पन्ना र अन्य रंगहरु) हालिएको हुन्छ ।

अर्को भनेको उच्च मात्रामा तेल र चिनीको मात्रा हालिएको हुन्छ । यी दुवैले स्वास्थ्यलाई स्वादसँगै मन्द विष दिइरहेको हुन्छ । अखाद्य रंगमा पनि क्यान्सर गराउने तत्व हुन्छ ।

सफ्ट ड्रिंक

ताजा जुस वा फलफूल स्वास्थ्यका लागि फाइदाजनक छन् । यी खानेकुरामा शरीरको विकास, कार्य र ऊर्जा दिने आवश्यक भिटामिन, खनिज, फाइबर, एन्टी अक्सिडेन्ट तत्व हुन्छ ।

तर फ्लेभर राखिएका पेय, कोक, फेन्टा जस्ता पेयहरु पनि चाडबाडमा निकै खपत हुन्छ । यस्ता पेयमा पनि हानिकारक रसायन हुन्छ । जुन स्वास्थ्यका लागि कदापि राम्रो होइन ।

घरमा अस्वस्थ सदस्यलाई कस्तो खानपान ?

क्यान्सर र अन्य दीर्घकालीन रोगमा प्रोटिनयुक्त, बोसोरहित मासु, गेडागुडी, भिटामिनयुक्त र खनिज भएको खाना खानुपर्छ ।

कति मात्रामा खाने भन्ने कुरा रोग अनुसार सम्बन्धित चिकित्सकको सल्लाहमा खानुपर्छ ।

डा. समिम अख्तर पोलेको मासु स्वास्थ्य समस्या

धेरै कमेन्ट गरिएका

डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट

डा. अख्तर हाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय