+
+

इनरुवाका बाढी पीडितको गुनासो : पाँच दिनदेखि भुजा खाएर बस्न बाध्य छौं

रासस रासस
२०८१ असोज १८ गते १४:४५

१८ असोज, सुनसरी। जिल्ला सदरमुकाम इनरुवा-९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो।

बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर अझै ओभाएको छैन। विस्थापित भएको कुमारीको घरमा शिशुलाई स्तनपान गराउने ठाउँसमेत छैन । आँगनमा हिलो हुँदा खाना पकाउन समस्या छ ।

अहिलेसम्ममा यहाँका पीडित परिवारलाई कतैबाट सहयोग प्राप्त नभएको पीडित सत्रुघन खत्वेले बताए । बाढीका कारण बबियामा खत्वे टोलका मात्र करिब ४० घरपरिवार प्रभावित छन् ।

सुनसरी खोलामा आएको बाढीले इनरुवा– ४ र ९ मा असर पुर्‍याएको छ । घरमा हिलो र बाहिर पानी भएकाले दिसापिसाब गर्नसमेत समस्या भएको स्थानीय कुमारी खत्वेको भनाइ छ । बाढीपीडित पाँच दिनदेखि एक छाक भुजा खाएर बस्‍न बाध्‍य भएको  विस्थापित अनुशा मरिकले बताइन् ।

उनले भनिन्, ‘ हामी पाँचदिनेदेखि एक छाक खाएर बाँचेका छौं। पीडितका लागि न गाँस छ न बाँस छ । तीन तहको  सरकार कोहीले पनि सहयोग गरिरहेको छैन। हामी अब के खाएर बाँच्‍ने ? कहाँ बस्‍ने ? केही थाहा छैन ।’

वडा कार्यालयले पीडितका लागि भुजा च्युरा सहयोग गरेको इनरुवा– ९ का अध्यक्ष वसिरमुद्धिन मन्सुरीले जानकारी दिए ।

गत साताको अविरल वर्षासँगैको बाढीले घर डुबानमा परेका खत्वे, मरिक र सदा सुकुम्बासीको आठ परिवार सबैभन्दा बढी समस्यामा छन् । मजदुरी गरेर खाने उनीहरु बाढीपछि काम नपाउँदा भोकभोकै बस्न बाध्य भएको कुमारीदेवी खत्वेले बताइन् ।

पीडितको गुनासो सुन्न कोही नआएको र विद्यालयमा बस्दै आएको पीडित बताउँछन् । तीनै तहको सरकारले पीडितलाई गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरुको गुनासो छ ।

पीडित परिवारलाई दुई दिनअघि मात्र राहत सामग्री वितरण गरेको र कोही भोकभोकै बस्नु नपरेको इनरुवा–४ का वडाध्यक्ष बौवालाल मेहताले दाबी गरे । पीडितलाई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पहल भइरहेको उनले बताए ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगर क्षेत्रका बाढीपीडितलाई  वडाबाट राहत सामग्री वितरण भएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?