+
+

मन्त्र थकाली : थाकखोलाको रैथाने स्वाद

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १६:४९

काठमाडौं । असली थकाली खानाको स्वाद कस्तो हुन्छ ? खानाका पारखीहरुलाई समेत अलमल बनाउने प्रश्न हो यो । किनभने सहरका चोक-गल्लीमा यस्ता भोजनालय छैनन्, जहाँ थकाली खानाको मेनु नभएको होस् । जताततै भेटिन्छन्, थकाली खाना ।

तर थकाली खानाको यो गञ्जागोलभित्र असली स्वाद खोज्न सानोतिनो मेहनतले पुग्दैन । थाकखोलाको रैथाने उत्पादन र त्यहीको स्वाद पाउन दुर्लभ जस्तै छ । यस्तै दुर्लभ ठाउँ हो, मन्त्र थकाली रेस्टुरेन्ट । यहाँको थालीमा तपाईंले जुन स्वाद पाउनुहुन्छ, अन्यत्र खोजेर भेट्नुहुन्न । किनभने मन्त्र थकालीको भान्सामा पाक्ने खानासँग थाकखोलाको स्वाद अभिन्न रुपले जोडिएका छन् ।

भनिहालौं, थकाली खाना नेपालकै एक समृद्ध खाना मानिन्छ । र, यो खानाको उद्गम मानिन्छ थाकखोलालाई । मुस्ताङको थाकखोलामा खाइने रैथाने भोजन नै अहिले देश–परदेशसम्म ‘थकाली खाना’को रुपमा विस्तारित छ । जहाँ जहाँ नेपाली पुगेका छन्, थकाली खाना त पुगेकै छ । किनभने थकाली समुदाय मात्र होइन, समग्र नेपालीलाई यसको स्वादले लोभ्याइसकेको छ ।

थाकखोला क्षेत्रलाई पितृथलो मान्ने थकालीहरुले आफ्नै माटोको उत्पादनलाई आफ्नो पाककौशलले तयार गरे । सम्पूर्ण स्वाद र पोषणको त्यो थाली अन्ततः उनीहरुको भान्साबाट क्रमश: अन्यत्र फैलिन थाल्यो । जहाँ जहाँ थकालीहरु पुगे, उनीहरुले आफ्नो स्वाद पनि फैलाउँदै गए । यसरी पोखरा, काठमाडौं हुँदै फैलिएको यो खानाले सहरिया जिब्रोलाई आफ्नो बसमा पार्न थाल्यो । अन्ततः थकाली खाना एक पृथक ब्रान्ड बन्यो ।

लेकाली माटोमा उब्जिएको फापरको ढिंडो, जिम्बुले झानेको कालो दाल, च्याङ्ग्राको सुकुटी, रायोको साग, साँधेको गुन्द्रुकसहितको समृद्ध थालीले थकाली खानालाई सर्वत्र चिनायो । यतिबेला थकाली खानाले देशदेखि परदेशसम्म परिक्रमा गरिसकेको छ । विदेशमा बस्ने नेपालीहरुले आफ्नो जिब्रोको तलतल मेट्न थकाली खाना खोज्ने गरेका छन् ।

यो त भयो थकाली खानाको बखान । अब थकाली खानाको असली स्वाद चाख्ने ठाउँको कुरा गरौं । तपाईं काठमाडौं महाराजगञ्जस्थित सेल्सबेरी पुग्नुभयो भने त्यसको ११ औं तलामा उक्लिनुपर्छ । त्यहाँ भेटिन्छ, मन्त्र थकाली रेस्टुरेन्ट ।

यो आउटलेट भर्खरै मात्र सुरु भएको हो । त्यसो त मन्त्र थकाली सञ्चालनमा आएको सन् २००९ बाट हो । त्यसयता मन्त्र थकालीको चारवटा शाखा विस्तार भइसकेका छन् । झम्सिखेल, पोखरा, महाराजगञ्ज र महाराजगञ्जकै सेल्सबेरी भवनमा ।

अब प्रवेश गरौं, सेल्सबेरी भवनको ११ औं र १२ औं तलमा रहेको मन्त्र थकालीमा । यो एक मौलिक थकाली खाना पाइने ठाउँ हो । थाकखोलाका थकाली सञ्चालकले आफ्नै रैथाने स्वादलाई यहाँ पेश गरेका छन् । पक्कै पनि यसमा केही नयाँ स्वाद समायोजन गरिएको छ । यद्यपि थकाली खानाको आफ्नोपन भने कायमै छ । त्यसैले त एक पटक यहाँको खाना चाखेपछि तपाईंले उमंगसाथ भन्नुहुनेछ, ‘अहो, यस्तो पो असली स्वाद त !’

मन्त्र थकालीको खानामा रैथाने स्वाद भेट्नुको पछाडि अर्को कारण हो, तिर्सना शेरचन । भनिरहनु परेन, उनी थकाली समुदायकी हुन् । त्यसमाथि खानाकी पारखी । उनले आफ्नै चुल्होमा पाक्ने खान्कीलाई सहरियामाझ पस्किने निधो गरिन् ।

अक्सर सासुआमा भन्ने गर्थिन्, ‘बुहारी तिम्रो हात मीठो छ । यस्तै पेशा गर ।’ उनी बारम्बार बुहारीलाई काम गर्न प्रेरित गर्थिन् । छोराछोरी हुर्किसकेका थिए । उनलाई एक हिसाबले फुर्सद थियो । आफूले जानेको कुरा पनि खाना पकाउने, आफूलाई रुचि भएको कुरा पनि खाना पकाउने । उनले आफ्नो रुचि र सीपलाई नै व्यवसायमा रुपान्तरण गर्ने भइन् ।

यसका लागि उनले साथीहरुको साथ लिए । सबै कुरा जुट्यो । अनि सुरु भयो, मन्त्र थकाली । मन्त्र थकालीमा तिर्सनासहित चार जना सम्मिलित छन् । विनिता गौचन, रोशनी शेरचन र नमिता भट्टचन ।

रेस्टुरेन्ट सुरु भयो । ग्राहकहरु बढ्न थाले । तर यो काम उनीहरुले सोचेजस्तो सरल र सजिलो थिएन । यसबीचमा धेरै अप्ठ्यारा थिए । स्टाफ थोरै थिए । संशाधन सीमित थिए । उनीहरु आफैं खाना पकाउन खटिन्थे । अन्ततः उनीहरुको दृढता, मेहनत, लगावले रेस्टुरेन्टको नाम र आयाम फैलिंदै गयो । अहिले यो रेस्टुरेन्टको चौथो शाखा विस्तार भइसकेको छ ।

भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?