+
+

काठमाडौंबाट हेटौंडा जान कुन सडक प्रयोग गर्ने ?

हालका लागि काठमाडौंबाट चन्द्रागिरी-चित्लाङ-पालुङ-भैंसे हुँदै हेटौंडा पुग्न सकिन्छ । यसैगरी बाइरोडको सडक (त्रिभुवन राजपथ) अर्को विकल्प हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते २०:३२

१८ असोज, काठमाडौं । काठमाडौंबाट पूर्वी नेपाल जान भरपर्दो सडक हो बीपी राजमार्ग । तर, असोज दोस्रो साता आएको वर्षा र त्यसले निम्त्याएको बाढी–पहिरोका कारण यात्रुले विकल्प खोज्नु पर्ने भएको छ । यसका लागि यात्रुलाई विकल्प बनेको छ, काठमाडौं–हैटौंडा ।

काठमाडौंबाट हेटौंडा पुग्न धेरै वटा विकल्पहरू छन् । तर, वर्षाका कारण काठमाडौं–हेटौंडा रुटका विभिन्न सडक पनि अवरुद्ध छन् ।

भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माका अनुसार बाढी–पहिरोले देशभर ३४ वटा राजमार्गको ८०५ स्थानमा पहिरो गएको थियो । जसमध्ये ७७४ स्थानको पहिरो हटाएर राजमार्ग सुचारु गरिसकिएको छ । अझै पनि ५ मुख्य राजमार्गका ३१ स्थानमा अवरोध यथावत छ । जसमा सबैभन्दा धेरै मध्यपहाडी राजमार्गमा अवरोध देखिन्छ । दोस्रोमा बीपी राजमार्गमा अवरोध धेरै देखिन्छ । तेस्रोमा कान्ति राजपथ रहेको छ ।

काठमाडौंबाट हेटौंडा पुग्ने छोटो राजमार्गका रूपमा रहेको कान्ति राजपथ अवरुद्ध भएसँगै विकल्पमा अन्य राजमार्ग प्रयोग गर्न सकिन्छ ।

ट्राफिक प्रहरीका अनुसार विभिन्न स्थानमा पहिरो खसेका कारण बीपी राजमार्ग, फर्पिङ र कान्तिलोकपथ अवरुद्ध छ । अन्य नाकामा आवागमन सुचारु छ । तर, विकल्प खोज्दै हिँडेका सवारीसाधन लेनमा नहिँड्ने, तँछाडमछाड गर्ने प्रवृत्तिले भने अन्य सडकमा समेत सवारी साधनहरूको चाप देखिन्छ ।

सिस्नेरीमा बाढीले क्षति पुर्‍याएको सडक ।

हालका लागि काठमाडौंबाट चन्द्रागिरी-चित्लाङ-पालुङ-भैंसे हुँदै हेटौंडा पुग्न सकिन्छ । यसैगरी बाइरोडको सडक (त्रिभुवन राजपथ) अर्को विकल्प हो ।

अहिले रात्रिकालीन ठूला बस काठमाडौं–नारायणगढ–हेटौंडा रुटमा समेत गुड्ने गर्छन् । जुन अन्यको तुलनामा बढी लामो पर्छ ।

  • कान्ति लोकपथ : सातदोबाटो–हेटौंडा (अवरुद्ध)
  • बल्खु–दक्षिणकाली–सिस्नेरी–कुलेखानी–भिमफेदी–हेटौंडा (अवरुद्ध)
  • बल्खु–दक्षिणकाली–फाखेल–कुलेखानी–भिमफेदी–हेटौंडा (अवरुद्ध)
  • चन्दागिरी–मार्खु–कुलेखानी–भिमफेदी–हेटौंडा (अवरुद्ध)
  • त्रिभुवन लोकपथ : थानकोट–चन्द्रागिरी–चित्लाङ–कुन्छाल–पालुङ-सिमभञ्ज्याङ–भैंसे–हेटौंडा (सुचारु)
  • त्रिभुवन लोकपथ : थानकोट–नौबिसे–पालुङ– सिमभञ्ज्याङ –भैंसे–हेटौंडा (सुचारु)
  • काठमाडौं–नारायणगढ–हेटौंडा (सुचारु)

भौतिक मन्त्रालयका अनुसार कान्तिलोकपथको घपेली–बगुवा खण्डको १३ किलोमिटर सडकमा क्षति पुगेको छ ।

साथै बागमती पुलमा समेत क्षति रहेको छ । बागमती पुलको एप्रोच छिटो निर्माण गरी सवारी साधन सुचारु गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

हेटौंडाबाट पूर्व जानका लागि दुई वटा राजमार्गहरू प्रयोग गर्न सकिन्छ । ती हुन्  हेटौंडा-सिन्धुली-चतरा–धरान (मदन भण्डारी राजमार्ग) र पूर्व पश्चिम राजमार्ग । यी दुवै राजमार्ग हाल सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?