+
+

सुरेश राईका ५ कविता

सुरेश राई  सुरेश राई 
२०८१ असोज १९ गते ७:४४

१. को शक्तिशाली ?

केही रात लगातार

नराम्रा सपनाहरू देखेपछि

भगवान्‌को मूर्ति राख्न थालेको छ

उसले आजकल सिरानीपट्टि

उसको शक्ति त हेर्नुहोस्

विपना र भविष्यको त के कुरा

जाबो रातको सपना सुधार्नलाई

उसले काममा लगाएको छ

त्यसरी आफ्नो भगवान्‌लाई  ।

 

२.ब्याड टच 

सक्छौ

उसको हृदयलाई छाम

तिमीलाई पाएर मुस्कुराइरहेको

उसको अबोध अनुहारलाई छाम

एकोहोरो उसको

बैंकको खाता नछाम

घर–घडेरी र जायजेथा नछाम

तिमीलाई थाहा छ ?

त्यस्तो छमाइ पनि एउटा

‘ब्याड टच’  नै हो  ।

३. देशी-विदेशी 

मालिक !

निरपेक्ष केही रहेनछ यहाँ

को देशी ? को विदेशी ?

तिम्रो देशमा म विदेशी

मेरो देशमा तिमी विदेशी

४. फुर्सद 

ती अर्थ न बर्थका गुनासाहरु

ती स-साना झै–झगडाहरु

केवल हामी बीचका

फुर्सदहरु थिए मेरी ज्यान !

अब व्यस्ततै व्यस्ततापछि

बाँकी जे रह्यो

प्रेमै प्रेम बाँकी रह्यो

खुबै प्रतीक्षा रहनेछ मेरी ज्यान !

आउँदो फुर्सदको ।

५. सामान्य कुरा

जंगल घरदेखि पर हुनुपर्छ

जंगलमा बाघ–भालु बस्नुपर्छ

बगैंचा घरसँगै हुनुपर्छ

बगैंचामा पुतली डुल्नुपर्छ

यो कुरा त्यस्तै हो मेरी ज्यान !

जस्तो कि तिमी मसँग हुनुपर्छ

जस्तो कि म तिमीसँग हुनुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?