+

विश्व कराते च्याम्पियनसिपमा खेल्न एरिका इटली जाँदै

२०८१ असोज  १९ गते ९:५६ २०८१ असोज १९ गते ९:५६
विश्व कराते च्याम्पियनसिपमा खेल्न एरिका इटली जाँदै

१९ असोज, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

असोज २३ देखि २७ गतेसम्म इटलीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन् । एरिकासहित नेपाली टोली आज इटली प्रस्थान गर्दैछ ।

एरिकाले यू-२१ उमेरसमूहको महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । एरिकाको खेल असोज २३ मै छ । यो स्पर्धाको सेमिफाइनल र फाइनल असोज २७ गते हुनेछ । क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने प्रतियोगितामा १ सय १३ राष्ट्रका १ हजार ९९५ खेलाडीको सहभागिता रहने टोलीका प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । टोलीको अफिसियलमा तारा गुरुङ र सन्तोष श्रेष्ठ  छन् ।

एरिकाको यो समग्रमा छैटौं अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका पाँचै अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई समग्रमा ८ पदक दिलाएकी छन् । त्यसमा ४ स्वर्ण, ३ रजत र १ कांस्य छ । एरिकाले यो सफलता १ वर्षको छोटो अवधिमा हासिल गरेकी छन् ।

एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । विदेशमै गएर खेलेको एरिकाको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यस्तै, एरिकाले १९ औं एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २ स्वर्ण र चीनको हाङझावमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत जितेकी छन् ।

एसियाली खेलकुद र एसियाली सिनियर करातेमा एरिकाले जितेको रजत नेपाली करातेको इतिहासमा हालसम्म कुनैपनि खेलाडीले जित्न सकेका छैनन् । एरिकाले यि सबै प्रतियोगितामा पदक जित्दा कुशल श्रेष्ठनै प्रशिक्षकको भूमिकामा थिए ।

प्रतियोगितामा सहभागी हुने एरिकासहित ४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । सोही अवसरमा जितेन्द्रमान गुरुङ र विशाल चौलागाईंले प्रायोजन गरेको किट्स र ट्रयाकसुट पनि टोलीलाई हस्तान्तरण गरिएको थियो ।

राखेप सदस्यसचिव घिसिङले रणनीतिक तयारीअन्तर्गत एरिकाले सहभागी हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता र तालिमका लागि राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सफलताका लागि शुभकामना दिए ।

कराते महासंघ अध्यक्ष लामाले करातेले एसियाली स्तरमा नेपालले पदक जितेर इतिहास रचिसकेको बताउदै नेपालले करातेको विश्व च्याम्पियनसिपमा नजितेको पदक एरिकाबाट सम्भव हुने विश्वास व्यक्त गरे ।

विश्व कराते च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय