+

फाइनलका लागि तयार कर्णाली र ललितपुर, कसले जित्ला पहिलो उपाधि?

२०८१ असोज  १९ गते १०:५१ २०८१ असोज १९ गते १०:५१
फाइनलका लागि तयार कर्णाली र ललितपुर, कसले जित्ला पहिलो उपाधि?

१९ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ को उपाधिका लागि कर्णाली यस्विस र ललितपुर क्विन्सबीच आज प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५:३० बजे सुरु हुनेछ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा नेपाली भलिबलको इतिहासमै पहिलो पटक भएको फ्रेन्चाइल लिगमा ६ टोलीले सहभागिता जनाएका थिए । सिंगल राउण्ड रोविनका आधारमा भएको लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहँदै कर्णाली र ललितपुर फाइनल पुगेका छन् ।

लिग चरणमा अपराजित एक्लो टिम कर्णालीले सबै ५ खेल जित्दै १३ अंक जोडेर शीर्ष स्थानमा रह्यो । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटमा हराएपछि ललितपुर क्विन्स भाग्यमानी बन्यो । कोर्टमा नउत्रिए पनि ललिपुर दोस्रो हुँदै फाइनल पुग्यो । ललितपुर र काठमाडौंले समान ३ खेल जिते । तर ललितपुरले १ अंक बढी जोडेर फाइनल पुगेको हो । ललितपुरले गण्डकी थण्डर्स विरुद्धको खेल पाँच सेटमा हार्दा १ अंक जोडेको थियो र त्यो फाइदा हुन पुग्यो ।

लिग चरणमा कर्णाली र ललितपुर दुवैले उत्कृष्ट सुरुवात गर्दै त्यसलाई अन्तिमसम्म कायम राखे । कर्णालीले त सबै खेल जित्दा ललितपुर खेलाडीका चोटका कारण बीचमा केही धर्मराएको थियो । तर अन्तिम खेलमा चितवन शक्तिलाई ३-१ को से६मा हराएर ललितपुरले फँइनल सम्भावना कायम राखेको थियो र त्यसमा कर्णालीको साथ पनि पायो ।

अब त्यही अपराजित कर्णालीसँग भिड्न ललितपुर तयार छ । कर्णाली आफ्नो अपराजित यात्रालाई फाइनल खेलमा पनि निरन्तरता दिँदा अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ ।

यदी दुई टोली लिग चरणमा भिड्दा कर्णालीले ललितपुरलाई सोझो सेटमा हराएको थियो । थाइयाण्डका एक खेलाडी घाइते हुनु र पुनम चन्द विरामी पर्दा केही कमजोर बनेको ललितपुरलाई कर्णालीले सहजै हराएको थियो ।

अब फाइनल कर्णालीले लय कायम राख्ला वा ललितपुरले बदला लिन्छ त्यो हेर्न बाँकी छ ।

 

फाइनल पुग्ने दुई टोलीको प्रदर्शन

कर्णाली यस्विस

नेपालमा महिला भलिबलमा धेरै योगदान गर्ने र धेरै खेलाडीहरु उत्पादन गर्ने प्रशिक्षक कुमार राईको प्रशिक्षणमा यस पटक कर्णाली यस्विसले गजज्बको प्रदर्शन गरिरहेको छ ।

राईकै चेला सुमित्रा रेग्मी मार्की प्लेअर अनी अमेरिका,ग्रीस र टर्किस खेलाडीको साथ पाएको कर्णालीका लागि युवा खेलाडीहरुले पनि राम्रो साथ दिइरहेका छन् । लिग अघि यस टिमको खासै चर्चा नभएपनि लिगमा भने उत्कृष्ट खेल्ने टिम बन्यो । कर्णालीको टिममा हाल राष्ट्रिय टिममा रहेकी सुमित्रा मात्र छिन् भने राष्ट्रिय टिमबाट खेलिसकेकी र केही समयअघि काभा बिच भलिबलमा स्वर्ण जितेकी मनिषा चौधरी छन् । यस्तै यू२० राष्ट्रिय महिला टिमकी सदस्य मिना सुनार छन् । अन्य खेलाडीको नाम त्यति चर्चित छैन ।

कर्णालीले पहिलो खेलमै मधेश युनाइटेडलाई ३-१ को सेटमा हराएर सानदार सुरुवात गरेको थियो ।

गण्डकी थण्डर्स विरुद्धको दोस्रो खेल जित्न भने कर्णालीलाई केही सं३र्ष गर्नुपरेको थियो । लिगकै पाँच सेटमा पुगेको पहिलो खेलमा कर्णाली ३-२ सेटमा विजयी भएको थियो । पहिलो सेट गुमाएपनि कर्णालीले पुनरागमन गरेको थियो ।

तेस्रो खेलमा भने कर्णालीले ललितपुरलाई ३-० को सेटमा हरायो । चितवन शक्ति विरुद्धको चौथो खेल पनि पाँच सेटमा पुग्दा कर्णाली ३-२ सेटमा विजयी भएको थियो । उक्त खेलमा पनि कर्णालीले सुरुको सेट गुमाएर पूनरागमन गरेको थियो । तर लिगको अन्तिम खेलमा काठमाडौं स्पाइकर्स विरुद्ध पनि पहिलो सेट गुमाएको कर्णाली पुनरागमन गर्दै खेल ३-१ ले जितेको थियो ।

अमेरिकी गाब्रीएली बेन्डा, ग्रीसकी अथानासिया लियगकी र टर्किस जेनेब ओटुरानको उत्कृष्ट साथ पाएको कर्णालीले जस्तो सुकै अवस्थामा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । खेलम पछि पर्दा समेत कर्णालीले नआत्तिकन पुनरागमन गरिरहेको छ ।

 

कर्णालीको नतिजा

मधेश युनाइटेडविरुद्ध जित : २५-१५, २५-२०, २६-२८, २५-११

गण्डकी थण्डर्स विरुद्ध जित : १५-२५, २५-२३, २५-१७, १९-२५, १५-१२

ललितपुर क्विन्सविरुद्ध जित : २५-२२, २५-२२, २९-२७

चितवन शक्ति विरुद्ध जित : २१-२५, २५-१८, २१-२५, २५-१५, १५-१३

काठमाडौं स्पाइकर्स विरुद्ध जित: २३-२३, २५-१४, २५-२३, २५-१२

 

ललितपुर क्विन्सको प्रदर्शन

राष्ट्रिय टिमकी लिब्रो सलिना श्रेष्ठ मार्की रहेको ललितपुरको प्रशिक्षकमा युवा प्रशिक्षक उत्सव खड्का छन् । ललितपुरका सलिनासँगै राष्ट्रिय टिमका ४ खेलाडी र थाइल्याण्डका ३ खेलाडी हुँदै राम्रो देखिएको थियो । यस्तै यू२० राष्ट्रिय टिमकी पनि ३ सदस्य हुँदा अनुभवी खेलाडीहरु थिए ।

थाइल्याण्डका खेलाडी र नेपाली राष्ट्रिय टोद्यीका खेलाडीको सेट मिल्दा पहिलो खेलमै ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटमा हराएर सानदार सुरुवात गरेको थियो । उक्त खेलमा थाइल्याण्डका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सलिनासँगै कामना विष्टले पनि उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । पुनम चन्द भने विरामी हुँदा सबै खेल्न खेल्न सकिनन् । पहिलो खेलमै घाइते भएकी थाइ खेलाडी सुताड्दा चुएवुलिन विस्तारै पुनरागमन गर्दैछिन् ।

उनले गण्डकी थण्डर्सविरुद्धको लिग खेलमा पुनरागमन गरिन् र चितवन शक्ति विरुद्धको अन्तिम लिगमा पनि केही समय खेलिन् ।

दुई खेलाडी नहुँदा त्यसको असर ललितपुरको प्रदर्शनमा देखिएको थियो । दोस्रो खेलमा मधेश युनाइटेडलाई ३-१ को सेटमा हराएको ललितपुर तेस्रो खेलमा कमजोर बन्यो । कर्णाली यस्विससँग ललितपुर सोझो सेटमा पराजित भयो । त्यसपछि  गण्डकी थण्डर्ससँग पाँच सेटमा पुगेर ललितपुर ३-२ ले पराजित भयो । तर अन्तिम खेलमा चितवन शक्तिलाई ३-१ को सेटमा हराउनु ललितपुरको फाइनल पुग्ने आधार बनेको थियो ।

चितवनका लागि आउटसाइड हिटर वारान्या श्रीलाओङ र सेटर पत्राथिप सान्त्राकुनको प्रदर्शन निकै उत्कृष्ट रहेको छ । यो थाई जोडी निकै जमेको छ । यस्तै राष्ट्रिय टिमकी सदस्य कामना विष्टले पनि निकै सुधारिएको खेल प्रदर्शन गरिरहेकी छन् । यू२० राष्ट्रिय टिमकी सदस्य निशा चौधरी पहिलो रोजाईँमा खेलिरहेकी छन् ।

ललितपुरको नतिजा

काठमाडौं स्पाइकर्स विरुद्ध जित : २५-२०, २१-२५, २५-२१, २५-१९

मधेश युनाइटेडविरुद्ध जित : २५-१५, २६-२४, २४-२६, २५-२२

कर्णाली यस्विससँग पराजित : २२-२५, २२-२५, २७-२९

गण्डकी थण्डर्स विरुद्ध पराजित : २९-२७, २३-२५, १२-२५, २५-१३, ६-१५

चितवन शक्ति विरुद्ध जित : २०-२५, २५-२१, २५-१६, २५-१९

 

एभरेष्ट वुमन्स भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय