+
+
संस्मरण :

ती एक दिनकी सहयात्री

तिनलाई चाहिं मेरो सेतै फुलेको कपाल देखेर अलि अनौठो लागेको रहेछ । आफ्ना साथीहरूसँग घरीघरी मेसेन्जरमा गफ गर्दा ‘फुलेको कपाल भएको मान्छे नजिक छ’ भन्ने जनाउ दिएर हाँस्थिन् ।

झलक सुवेदी झलक सुवेदी
२०८१ असोज १९ गते १७:१२

साउनको पहिलो साता । केही दिनको चर्को घामपछि त्यो रातभर पानी परेको थियो । म बिहानै पूर्व जाने बस समातेर चितवन जाने सोचाइमा थिएँ । झमझम पानी परिरहेकोले ट्याक्सी भेटिएला भन्दै अघि बढ्दाबढ्दै भद्रकाली चोक हुँदै अमरसिंह पुगियो । जुत्ता चप्लक्कै भिज्यो, मोजा समेत ढाडिइसकेका थिए ।

अमरसिंह पुगेपछि थाहा भयो राइड सेयरिङ गर्ने व्यवस्था नआओस् भनेर यातायात व्यवसायीहरू हड्तालमा उत्रेका रहेछन् । पोखराको बद्नाम ट्याक्सी सेवाले उपभोक्तालाई दिएको सास्तीमा राइड सेयरिङले राहत दिन सक्थ्यो ।

तर यहाँ पनि यातायात व्यवसायीहरूको संगठन ठग्न पाउने अधिकारका लागि आन्दोलन गरिरहे झैं देखिन्थ्यो । यो मामिला हेर्ने प्रदेश मन्त्रीले आफू दिनभर अलिअलि रक्सी खाएर सुत्छु तर माग पूरा गर्दिनँ भनेर अघिल्लै दिन जानकारी दिएका थिए ।

मैले चितवन जाने योजना स्थगित गरें । पोखरा बसिरहन पनि मन थिएन । बुझ्दै जाँदा काठमाडौं जाने पर्यटक बसहरू नरोकिने थाहा भयो । र, चितवनको यात्रा रद्द गरेर म काठमाडौंतिर हिंडें । यसरी मान्छेले आफ्नो गन्तव्य सजिलै किन र कसरी बदल्छ होला ? चितवनको यात्रा तय गरेर निस्केको मान्छे काठमाडौं कसरी मोडिन्छ ?

‘गोधूलिमा हिंड्ने एउटा जिउँदो मान्छे….’ आभासको रचना संगीत र स्वर रहेको एउटा गीत छ, ‘संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ ।’ अर्थात् आफ्ना आदर्शहरू समेत मान्छे मौसम अनुरूप कसरी बदलिरहन सक्छ ? न्यायपूर्ण र समतामूलक समाज बनाउन हिंडेका नेता कसरी आफैं सनातनदेखि चलिआएको शोषण र थिचोमिचो जोगाउने व्यवस्था र पात्र या चरित्रको शरणमा पुग्छन् ?

बाटोमा अवरोध आउँछन्, बाटो मोडिन्छ तर गन्तव्य त नफेरिनुपर्ने नि ! गन्तव्य स्थायी र निश्चित प्रक्रिया हो कि जताबाट जता पनि मोडिन सक्ने कुरा हो ? सूक्ष्म र अरूका लागि महत्वहीन भए पनि छिनभरमा लिएको आफ्नै निर्णयले मलाई यस्ता केही प्रश्नमाथि एकछिन घोत्लिन लगायो ।

मनमा यस्ता कुरा खेल्दै गर्दा अर्को सन्दर्भले मेरो सोचाइको लय पनि त्यसरी नै मोडियो र अर्को धार समात्यो जसरी मेरो यात्रा मोडिएको थियो ।

****

म आफ्नो सिटतिर तन्किंदै बस्न पुग्दा झ्यालतिरको सिटमा एक जना स्कुले विद्यार्थी जस्तो लाग्ने मैले नातिनी भन्नुपर्ने उमेरकी नानी मोबाइल खेलाइरहेकी थिइन् । म सिटमा बसें र झोलाबाट निकालिराखेको प्लेटोको ‘गणराज्य’ पुस्तकको नेपाली अनुवाद पढ्न थालें ।

यो पुस्तकका अनुवादक कतिको भरपर्दा र विश्वसनीय हुन् भन्ने थाहा नभएर अघिल्लै दिन अंग्रेजी भर्सन डाउनलोड गरेर मोबाइलमा राखेको पनि थिएँ । बाटो कटाउन सहज होस् भनेर कुनै न कुनै पुस्तक झोलामा हालेर हिंड्ने बानीले यहाँ सहयोग गरेको थियो ।

पहिले लामो यात्रामा कहिले कहिले त उभिएरै या छतमा यात्रारत रहँदा पनि हातमा पुस्तक लिएर पढी हिंडिन्थ्यो । ‘अग्निदीक्षा’ लगायतका उपन्यास छतमा बसेर पढ्दै यात्रा गरेको अझै सम्झन्छु ।

प्लेटो २५०० वर्ष पहिले युनानी या ग्रिसेलीहरूले आफ्ना पुर्खाबाट सम्हालेर राखिएका ज्ञान परम्परामाथि प्रश्न गर्ने र त्यसलाई अझ समय सापेक्ष उजिल्याउने चिन्तक हुन् । मैले आरम्भमा समाजवादबारे पढ्दा प्लेटोलाई पनि एउटा समाजवादी धारणा भएका मानिसका रूपमा चिनेको थिएँ ।

उनको तर्क प्रणाली पूर्वीय दर्शनको भन्दा भिन्न आलोचनात्मक चिन्तनलाई प्रश्रय गर्ने खालको छ । उनको समयको सेरोफेरो र त्यसपछि लेखेर पूरा गरिएको ‘महाभारत’मा जीवन, समाज, राज्य र राजाहरूबारे जे लेखिएको छ त्यसको तुलनामा प्लेटो निकै आधुनिक र भौतिकवादी लाग्छन् । आदर्श शासक र राज्यको कल्पना भने उस्तै उस्तै लाग्ने तत्कालीन समयका ज्ञानको सीमाको सापेक्ष छ ।

उनले आदर्श शासक र युवाहरूलाई तालिम दिने सम्बन्धी जे परिकल्पना गरेका छन् त्यसलाई केही हदसम्म अट्टोमन साम्राज्य (चौधौंदेखि बीसौं शताब्दी)ले प्रयोगमा ल्याएको रहेछ । त्यसको लामो समय अनुसरण पनि गरेको रहेछ ।

फ्रान्सिस फुकुयामाका अनुसार अट्टोमन साम्राज्यले पूर्वी युरोपका उपनिवेश (बाल्कन क्षेत्रका देशहरू) बाट तीन–चार वर्षका खासगरी क्रिश्चियन परिवारका बालबालिकालाई उनीहरूको वाप्टिष्ट गरेको खाता समेत मेटाएर अपहरण गरेर टर्की पुर्‍याउँथ्यो । तिनको पालनपोषण र हुर्काइ, सैन्य तालिमको विशेष व्यवस्था हुन्थ्यो । बाबु, आमा, आफन्त, आफ्नो देश या समाज, धर्म या वंश परम्पराबारे शून्य जानकारी भएका नयाँ मान्छे तयार पारिन्थ्यो ।

यी युवाहरूबाट राज्यप्रति निष्ठा भएको सैन्य दस्ता तयार हुन्थ्यो । ल्याइएका बालिकालाई पनि विशिष्ट रूपमा हुर्काइन्थ्यो र ती युवाहरूसँग बिहे गराइन्थ्यो । त्यसो गर्दा कति आफ्नै दाजु बहिनीका बीच पनि बिहे हुनसक्थ्यो । अचम्म लाग्छ यस्तो परम्परा केही सय वर्ष पहिलेसम्म पनि कायम थियो ।

प्लेटोले चाहिं तीन पुस्ताका बीच विवाह र सन्तान उत्पादन गर्न अनुचित हुने बताएका रहेछन्, बाजे र नातिनी पुस्तासम्म । उनीहरूका बीच यौन समागम हुनसक्ने कुरालाई भने नकारेका रहेनछन् । यो क्रिश्चियानिटीको विकास हुनुभन्दा धेरै वर्ष अगाडि अर्थात् क्राइष्ट जन्मनुभन्दा पनि पाँच सय वर्ष अगाडिको कुरा थियो ।

त्यतिबेलासम्म युनानी र ग्रिसेलीहरू पनि बहुदेवतावादमा विश्वास गर्थे । हामी हिन्दु खस आर्यमा चाहिं हाडनातामा मात्र होइन सगोत्री बीचको सम्बन्धलाई पनि निषेध गर्ने उताको भन्दा भिन्न मान्यता छ । यस्तो परम्परा कति पहिले बन्यो भन्नेबारे चाहिं मलाई थाहा छैन ।

****

बसले अमर सिंह चोकमै केही अलमल गर्‍यो । आउँछु भनेको कसैलाई अलि लामो समय पर्खंदै पनि थियो । मेरो आजकी सहयात्री हुनलागेकी ती नानीको छटपटी बढ्दै थियो । मोबाइलमा कसैसँग कुरा पनि गरिरहेकी थिइन् । घरीघरी आफैंसँग बोल्दै पनि थिइन् । उनले कसैसँग भन्न मन लागे झैं गरी बसको ढिलाइबारे कुरा गरेको सुनेपछि मैले उनीतिर चासो दिएँ ।

चासोको अर्थ यहाँ सहज रूपमा अनुमान लगाउन सकिने विषयमा कुरा भयो । कहाँ जान लागेको, कहाँबाट आएको, घर कता हो यस्तै त हुन्छ । अलिकति कुन कक्षामा पढ्दै हुनुहुन्छ ? भनेर थपे भयो । मैले तीनवटा कुरा जानीजानी सोधिनँ– उनको नाम र उमेर अनि एक्लै छन् कि साथीसँग छन् । पछिल्लो प्रश्न सोध्न उचित लागेन ।

आज सोधेको नाम भोलि बिर्सनेले किन सोध्ने ? फेरि उनले आफ्नो सिट नजिकको यात्रीसँग सहज अनुभूति गरुन् भन्ने पनि मेरो आशय थियो । पराइसँग बोल्नु परेको नठानुन् र मबाट ‘प्याट्रोनाइज’ भएको अनुभव नगरुन् भन्नेमा म सतर्क थिएँ ।

नानी निकै फरासिली रहिछन् । छिनछिनमा बिसाएर गफ गर्दै जाँदा बाबु आमा के गर्नुहुन्छ, परिवारमा को–को छन्, विद्यालय कस्तो छ, पढाइ, शिक्षक यस्तै प्रसंग आइहालेका थिए । उनले आफ्नो विद्यालयको एउटा फोटो र भिडियो पनि देखाइन् ।

उनका दिदीहरूको स्कुले पढाइ पनि पूरा नगरी १५ वर्ष पुग्दा नपुग्दै बिहे भएको थियो । किन त्यति छिटो भयो होला त बिहे ? टिनएज प्रेममा पो परे कि ?

यिनी मैले सोचेको भन्दा धेरै अर्थात् कक्षा नौमा पढ्दै रहिछिन् । हेर्दा १२ वर्ष पुग्दै गरेकी जस्ती बच्चै देखिन्थिन् । उनको उमेर भन्दा उनका कुरामा पाकोपन थियो । बोलीमा आत्मविश्वास झल्किन्थ्यो ।

फोनमा उनले गरेका संवाद सुनेर थाहा पाएको थिएँ उनलाई बस चढाउन आएकी उनकी दिदी थिइन् । उनी काठमाडौंमा दाइकहाँ जान लागेकी थिइन् । ती उनका दाइ आफन्त थिए, आफ्नै दाइ थिएनन्, जो काठमाडौंमा बसेर सानो काम गर्दै विदेश जाने तयारी गरिरहेका थिए ।

उनलाई बस चढाउने दिदी पनि पारिवारिक आफन्त रहिछन् । यसरी हामीकहाँ कसै न कसैले कोही न कोही आफन्तहरूको सहयोगले जीवनलाई सहज बनाइरहेको हुन्छ । सामाजिक पूँजीबाट सबैजसोले जीवनका कठिन समयमा केही न केही राहत पाएका हुन्छन् ।

केहीलाई छाडेर सबैजसोले आफूलाई असहाय महसुस गर्नुपरेको छैन– राज्य र ऋण लागेको समयमा बाहेक । नानी यात्रा गर्न पाएकोमा खुशी थिइन् । एक्लै हुँदाको हिच्किचाहट थिएन । बालसुलभ चञ्चलता र उत्सकुता चाहिं छताछुल्ल थियो ।

****

जब सडक खाल्डाखुल्डीले बनेको हुन्छ तब बस यात्रामा पढ्न सहज हुँदैन । पहिले पहिले लामो यात्रामा कहिले कहिले त उभिएरै या छतमा यात्रारत रहँदा पनि हातमा पुस्तक लिएर पढी हिंडिन्थ्यो । ‘अग्निदीक्षा’ लगायतका उपन्यास छतमा बसेर पढ्दै यात्रा गरेको अझै सम्झन्छु ।

पछि चालीस लागेपछि लामो समय बसमा पढ्न नसकिने, चक्कर लाग्ने र वान्ता होेला जस्तो हुन थाल्यो । साठी कटेपछि फेरि बसमा पढ्न सक्ने भएको छु । अहिले पनि घरबाट शहरतिर जाँदा–आउँदा पढिबस्ने बानी छ र कतिपय पुस्तक यस्तै यात्रामा मात्र पढेर सकेको हुन्छु ।

पोखरा मुग्लिङ (अब यो बढी मुग्लिन भएको छ) राजमार्ग विस्तारको क्रम जारी छ र केही भाग अझै पिच हुन बाँकी छ । त्यस्ता भागमा रहेका खाल्डाखुल्डीले बस जोल्ठिङ खान थालेपछि केहीबेर पुस्तक थन्क्याएर यी नानीसँग संवाद जारी राख्थें ।

तिनलाई चाहिं मेरो सेतै फुलेको कपाल देखेर अलि अनौठो लागेको रहेछ । आफ्ना साथीहरूसँग घरीघरी मेसेन्जरमा गफ गर्दा ‘फुलेको कपाल भएको मान्छे नजिक छ’ भन्ने जनाउ दिएर हाँस्थिन् । सायद म पुस्तक पढिरहेको बेला भिडियो कुरा गर्दै आफ्ना साथी र आमालाई पनि मेरो टाउको देखाइदिएकी हुँदी हुन् ।

समग्रमा उनीसँग भएका संवादबाट थाहा भएका सीमित कुराले मलाई नेपाली समाजको विशिष्ट तर बासी बसेका चरित्रको केही ज्ञान प्राप्त भयो । यिनी आफ्ना पचास वर्ष पनि नपुगेका बाबा ममी (उनी त्यस्तै सम्बोधन गर्थिन्) का चार सन्तानमध्ये तेस्रो नम्बरमा थिइन् ।

सन्तानमध्ये सबैभन्दा कान्छो भाइ हो र उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् । तीन जना छोरीपछि चौथो सन्तान छोरो हुनु र त्यसपछि सन्तान नथपिनुले हाम्रो पारिवारिक मूल्य प्रणालीमा रहेको सांस्कृतिक प्रभावको अवशेषतिर संकेत गर्छ ।

उनले बताए अनुसार गाउँको भए पनि उनको विद्यालय भौतिक सुविधासम्पन्न छ । फोटो हेर्दा पनि कुनै दाताले सहयोग गरेर बनाइदिएको जस्तो लाग्थ्यो । त्यहाँ कम्प्युटर ल्याब छ, फर्निचर राम्रै छन् । विद्यार्थी पनि धेरै नै छन् ।

उनको क्लासमा मात्र ४३ जना । बसाइँसराइले रित्तिंदै गएको हाम्रो गाउँघरमा अहिलेका लागि यो निकै ठूलो संख्या हो । अंग्रेजी शिक्षक पनि राम्रा छन् । उनका अनुसार पढाइ पनि राम्रो छ ।

बाबु कृषि काम गर्छन् । आमा दीर्घ रोगी छिन् । विद्यालय दश मिनेटको दूरीमा छ । विद्यालय आउनुअघि र फर्केपछि बाबुआमालाई घाँसपात गर्न या भान्सामा सघाउनुपर्छ । प्रायः भान्सा आफैंले सम्हाल्नुपर्छ । भन्दै थिइन्– ‘आमा कतिबेला बिरामी हुनुहुन्छ भन्ने नै थाहा हुन्न । तत्काल फत्रक्फत्रक् पर्नुहुन्छ । भान्साको काम त मैले नै गर्ने हो !’

मैले आफ्नै आमालाई सम्झें, आफ्नो बाल्यकाल र किशोरवयका दिन सम्झें । मलाई स्कुले जीवन र पछि पनि घरतिर गइरहँदा जहिले पनि मनमा कतै आज आमा बिरामी त हुनुुहुन्न भन्ने झस्कोले पछ्याइरहन्थ्यो । आमा बिरामी हुनु भयानक अत्यासलाग्दो कुरो हुन्थ्यो । चञ्चल उमेरमा बिहान–बेलुका भात भान्सामा पस्नु परेपछि खेल्नु कतिबेला, पढ्नु कतिबेला ?

मैले उनका हाततिर देखाएर ठट्टा गर्दै सोधें हात यति सफा हुनेले घाँसपात र भान्सामा काम गरेको हैन होला ? उनले सहज रूपमा लिइन् र भनिन्– ‘तीन चार दिन भयो पोखरामा आएर एउटा बिहेका लागि बसेको, त्यही भएर हात सफा भएको हो ।’

म अलि होचो र कलिलो भएको ठहर गरेर बिहे नगर्ने निर्णय भयो उहाँहरूकै बीचमा । केटीका लागि लोग्नेका रूपमा पुरुषोचित आवश्यकता पूरा गर्न अयोग्य ठहरिएर होला म त्यो जालबाट बचेको थिएँ ।

आफूले कति कक्षासम्म पढ्न पाउने हो भन्नेमा यिनी विश्वस्त छैनन् । किनभने उनका दिदीहरूको स्कुले पढाइ पनि पूरा नगरी १५ वर्ष पुग्दा नपुग्दै बिहे भएको थियो । किन त्यति छिटो भयो होला त बिहे ? टिनएज प्रेममा पो परे कि ? यस्तो स्कुले प्रेम गरेर भागी बिहे गर्ने र पछि दुःख पाउनेका कथा नेपालका केही भागमा बाक्लै सुनिने गरिएको छ ।

‘हैन, बाबाले नै सानोमा बिहे गरिदिनुभयो । नबुझ्ने बाबा भएपछि के गर्नु ?’

‘नबुझ्ने बाबा भएपछि के गर्नु’ यो उनको जीवनले अनुभव गरेको एउटा शक्तिशाली भाव थियो । यसो भन्दै गर्दा उनको शब्द, उच्चारणको लय, ध्वनि र अनुहारमा एकैपटक निराशा र असन्तोष, बाध्यता र जीवनमा गर्नुपर्ने सम्झौताका अनेक सुस्केरा व्यक्त भएका थिए ।

म खङ्ग्रङ्गै भएको थिएँ । लाग्यो¬– यिनी आफूलाई पनि अब छिटै, विद्यालय शिक्षा पनि पूरा नगर्दै बाबाले बिहे गरेर पठाउलान् र आफ्नो सबै सपना त्यतै चुँडिएला भनेर मानसिक दबाबमा छन् ।

यो आधुनिकतातिर लम्क्यो भनिएको, एक्काइसौं शताब्दीको भनिएको या आधुनिक आमसञ्चारका कारण चेतनास्तर र सूचनामा पहुँच निकै बढ्यो भनिएको हाम्रै समयको कुरा थियो, कुनै विगतको सम्झना मात्र थिएन । र यो पोखरा महानगरबाट आठ दश किमी दूरीमा रहेको गाउँको कुरा थियो ।

****

मलाई आफ्नै विगतको सम्झना भयो । म आठ कक्षाको पढाइ सकेर नौ कक्षामा पढ्न थालेको मात्र थिएँ । चौध वर्ष पुगिसकेको पनि थिइनँ । प्रेम र विवाहपछिको जीवनबारे किशोर वय सापेक्ष जिज्ञासा जाग्न थालेको थियो । उपन्यास पढ्दा त्यसतर्फ रुचि राख्ने भएको थिएँ ।

वैवाहिक जीवनमा प्रवेश गर्ने कल्पना पनि गरेको थिइनँ । मलाई स्वैरकल्पनामा समाजको जड र सनातन व्यवस्थाबाट बाहिर भाग्न मन लाग्थ्यो ।
कुरा २०३२ साल माघ महिनाको थियो । मावली गएको बेला हजुरआमाले बिहेको कुरा चलाएको सम्झन्छु । चिशंकुको डाँडाथोकतिरका एकजना पुरुष त्यहीं आएका थिए ।

करापुटार रामबजार भन्दा उत्तरतिर ठिक्क माथिको राम्चेमा हुस्सुले डम्मै ढाकेकोले बिहान निकै चिसो थियो । म बर्को ओढेर मावली भाइबहिनीहरूसँगै पिंढीमा बसेको थिएँ ।

उक्त पुरुषलाई मेरो शरीरको बनोट र उचाइ देखाउनकै लागि हजुरआमाले मलाई बसेको ठाउँबाट उठेर उभिन बाध्य पार्नुभएको थियो । म कुनै हालतमा अहिले बिहे गर्दिनँ आँवोइ भन्दा पनि उहाँले सुन्नुभएको थिएन ।

ती पुरुष (मैले मामा भन्ने गर्थें) की छोरी र मेरो उचाइ अनुमान गरियो । म अलि होचो कलिलो भएको ठहर गरेर बिहे नगर्ने निर्णय भयो उहाँहरूकै बीचमा । केटीका लागि लोग्नेका रूपमा पुरुषोचित आवश्यकता पूरा गर्न अयोग्य ठहरिएर होला म त्यो जालबाट बचेको थिएँ ।

अहो आधा शताब्दी ठ्याक्कै पछि, नेपालले आधुनिकताको यात्रा थालेको झण्डै शताब्दी नजिक पुग्दा पनि नेपाली समाजमा कलिला नानीहरूलाई बिहे गरेर पठाउने चलन गएको रहेनछ !

यता प्लेटो पढ्दै थिएँ । पच्चीस सय वर्ष पहिले प्लेटोले बिहेयोग्य उमेर र सन्तान जन्माउने उमेरका बारेमा उल्लेख गरेका कुरा र अहिलेको नेपाली गाउँमा भइरहेको अभ्यासका बीचको दूरी देखेर मलाई अचम्म लाग्दै थियो । प्लेटो केटीका लागि विवाहयोग्य उमेर २० वर्ष मान्छन् ।

सन्तान जन्माउने उमेर २० देखि ४० भित्र भन्छन् । पुरुषका लागि यस्तो उमेर महिलाको भन्दा ढिलो सुरु हुन्छ र ढिलोसम्म रहन्छ । शरीर विज्ञान र होमो सेपियन्सको पुनरुत्पादन प्रक्रियाको आधुनिक ज्ञान नहुँदैको कुरा थियो त्यो ।

यता नेपालको कानूनले २० वर्षलाई विवाहयोग्य उमेर मानेको छ तर गाउँमा अझै पनि कानून र स्वास्थ्य विज्ञान सम्बन्धी चेतना दुवैलाई संस्कार र परम्परागत मूल्यले उछिनिरहेको छ ।

****

किशोर अवस्थामै बिहे भएका उनका दिदीहरूको जीवन पनि सहज छैन । एक जनाका पतिमा स्वास्थ्य सम्बन्धी समस्या छ र सानोतिनो खेतीपाती गरेर बसेका छन् । काम गर्न गाह्रो हुन्छ ।

अर्का चाहिं खाडीमुलुक पुगेको महिना दिनमा नै स्वास्थ्य सम्बन्धी समस्या देखिएर फर्किनु परेको थियो । यताबाट जानु अगाडि स्वास्थ्य चेक गर्ने संस्थाले उनलाई स्वस्थ रहेको प्रमाणित गरेको थियो उता पुगेपछि परीक्षणमा फेल भए । अर्थात् लेवर माइग्रेसनको झुटमुटले उनलाई फँसायो । अहिले दुवै जना घरमा सानोतिनो कृषिकर्म गरेर बसेका छन् ।

किशोर वयमा भर्खर जीवनका सपनाहरू बुन्दै गरिएको बेला हुने विवाहका जीवनभर पर्ने आर्थिक, सामाजिक, मनोवैज्ञानिक र स्वास्थ्य सम्बन्धी समस्याका बलशाली प्रभावले उनीहरूको जीवन कति अप्ठेरोमा धकेलेको होला भन्ने कल्पेर पनि मलाई उराठ लाग्यो ।

यसमा ती नानीको बुझाइ जस्तो उनका बाबुको मात्र कमजोरी छैन । समाजले यस्तो संस्कृतिलाई प्रोत्साहन र संरक्षण गर्ने वातावरण दिएको छ । कमसेकम कक्षा १२ सम्म अनिवार्य शिक्षा र २० वर्ष नपुगी बिहे गर्न निषेध गरे यी जस्ता नानीहरूको जीवन छिट्टै श्रम र अभावको गोलचक्करमा धकेलिने थिएन ।

अवश्य हो यसमा वर्गको प्रभाव पनि छ । सम्पन्न परिवारकाहरू अहिले उमेर नपुगी हत्तपत्त सन्तानको बिहे गरिदिन्नन्, पढाउँछन् । सचेत परिवारकाहरू छोरी र छोरा दुवैलाई आत्मनिर्भरताको नयाँ परिभाषा अनुकूल हुर्काउँछन् ।

छोरी बिहे गरेर दिने जात मात्र मान्दैनन् । तर, गरिबी आफैंमा एउटा मनोसामाजिक रोगको कारण पनि हो जसले छोरीलाई छिट्टै अर्कोसँग ‘भिराइदिन पाए’ भन्ने मान्यता बोकाउँछ अभिभावकमा ।

****

बाटोमा उनी बस छुट्छ कि भनेर होला या अरू के सतर्कता अपनाउन खोजेकी थिइन् कुन्नि, खाजाचिया खान बसिनन् । बरु पछि मैले देखें उनको सिट अगाडिको ब्यागमा फ्रुटी र लेजको खोल कोचिएको थियो ।

बसबाट झर्नु अगाडि मैले सोधें– ‘तपाईंले पढेपछि के गर्ने विचार गर्नुभएको छ त ?’

उनी अनिश्चित थिइन्, खासगरी पढाइ पूरा गर्न पाइएला नपाइएला भन्ने अलमल थियो । मैले उनलाई कमसेकम १२ कक्षासम्मको पढाइ कसैगरी पूरा गर्नु किन राम्रो हुन्छ भन्ने बारे थोरै अर्ति दिएँ । नदिए पनि उनले अवश्य त्यति त बुझेकै थिइन् । यो आफ्नो कमजोरी हो बुज्रुक टोपलिने भन्ने पनि मलाई थाहा थियो ।

छुट्टिने बेला मैले ‘उनको विद्यालय हेर्न कुनै दिन आइपुग्छु’ भनेर विदा लिएँ । उनले खुशी व्यक्त गर्दै ‘पक्का आउनु है भनेर’ विदा गरिन् । थाहा छैन म उक्त विद्यालय हेर्न कहिल्यै पुगुँला नपुगुँला । तर मलाई यिनको भविष्य के भयो होला भन्ने कुराले भने पछिसम्म पछ्याउनेछ ।

लेखकको बारेमा
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?