+
+

ललितपुरका लागि खानेपानी माग्न दक्षिणकाली पुगे मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १९ गते १६:४२

१९ असोज, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरमा देखिएको खानेपानी समस्या समाधानमा सहयोग गरिदिन दक्षिणकालीका जनप्रतिनिधि र नागरिकलाई आग्रह गरेका छन् ।

१२ असोजको बाढी पहिरोपछि ललितपुर क्षेत्रमा दक्षिणकालीबाट गइरहेको खानेपानी अवरुद्ध भएको भन्दै उनले मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

‘कसैले प्यासले तड्पिनुपरेको छ भने हाम्रो कर्तव्य हो, हामीले सकेसम्म सहयोग गर्नु पर्छ’, उनले भने ।

मन्त्री यादव शनिबार फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर बाढीले पुर्‍याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि चलिरहेको कामबारे जानकारी लिएका थिए ।

मन्त्री यादवले केही पूर्वकर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउँदै, समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

‘तपाईंहरूका समस्या के छन् म समाधानका लागि पूर्ण प्रयास गर्नेछु । तर ललितपुरमा पानी पठाउन सहयोग गर्न आग्रह गर्दछु’, उनले भने ।

मन्त्री यादवसँगको छलफलपछि दक्षिणकालीका बासिन्दा ललितपुरमा खानेपानी पठाउन तयार भएका छन् । दक्षिणकालीबाट ललितपुरमा दैनिक १ करोड २० हजार लिटर पानी आपूर्ति हुँदै आएको छ ।

मन्त्री यादवले बाढी पहिरोले दक्षिणकालीमा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरेर तत्काल समाधानका लागि सरकारको पहल हुने जानकारी दिए ।

‘म मन्त्रिपरिषद्को निर्णयमार्फत आवश्यक सहयोग उपलब्ध गराउन प्रयासरत छु । क्षतिको मूल्याङ्कन चाँडो गरौँ, म समस्या समाधानको पहल गरिरहनेछु’, उनले दक्षिणकालीका बासिन्दासँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?