+
+

राजेश हमाल र प्रियंका कार्की अन्तर्राष्ट्रिय बलुन फेस्टिभलको सदभावना दूत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १९ गते १७:५४

काठमाडौँ । अन्तर्राष्ट्रिय बलुन फेस्टिभलको सद्भावना दूतमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनलाई उनीहरुलाई फेस्टिभल आयोजकले दूतमा नियुक्त गरेको हो ।

कार्यक्रममा हमालले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर फिल्म छायांकन गरेको अनुभव सुनाए । नयाँ फिल्ममा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए ।

पदयात्रादेखि पर्यटनका अन्य क्षेत्रमा एड्भेन्चरले महत्व पाउन थालेको उनले बताए । महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत उनले बताए ।

अभिनेत्री कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन् ।

बलुन नेपालको आयोजना र रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटनको राजधानी पोखरामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना गर्न लागिएको हो ।

क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा नेपालसहित ३० देशका व्यवसायिक बलुन कम्पनीको सहभागिता रहनेछ ।

जसमा बेलुन नेपालको तर्फबाट ५ वटा हट-एयर बलुन सञ्चालन गरिनेछ । स्पेन, फ्रान्स, अमेरिका, युके, लात्भिया, जर्मनी, लाओस, अस्ट्रिया, दक्षिण कोरिया, इटलीलगायत विभिन्न मुलुकबाट २५ वटा देश सहभागी हुने गरी तयारी भइरहेको कम्पनीका निर्देशक बीबी ढकालले जानकारी दिए ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए ।

महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरूले अपेक्षा गरेको उनले बताए ।

कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिवल प्रभावकारी हुने उनको भनाइ छ।

महोत्सवमा बलुनभित्रै डिजे सेसन पनि रहनेछ जसलाई मुख्य आकर्षणको रूपमा समावेश गरिएको कम्पनीले जनाएको छ । रातिको समयमा पनि बलुन उडाएर बेलुन ग्लो लगायतका हट एयर बेलुनसम्बन्धी खेलमार्फत मनोरञ्जन दिलाइने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?