+

चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?

२०८१ असोज  २० गते ८:३७ २०८१ असोज २० गते ८:३७
चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?

दशैं जस्ता चाडपर्वमा मनलाग्दी  खाने, पिउने गरिन्छ । अरूको कुरा छाडौं, स्वास्थ्यप्रति सजगहरू पनि भनिरहेका हुन्छन्- ‘चाडपर्वमा त मस्त खाने हो, रम्ने हो !’

यसको नतिजा चाहिं चाडपर्व सकिएलगत्तै देखिन थाल्छ । शरीरको तौल बढ्छ, मधुमेहले च्याप्छ, कोलेस्टेरोलले दुःख दिन्छ । तब उनीहरू भन्न थाल्छन्, ‘अब के गर्ने होला ?’

चाडपर्वमा लापरबाही

चाडपर्वमा शरीरले भन्दा पनि मनले खाइदिन्छौं । मन लागेर खान्छौं, मन राख्नका लागि खान्छौं । घरमा मीठो मसिनो खानेकुरा पाक्न थालेपछि हामी मन थाम्न सक्दैनौं, मस्त खाइदिन्छौं । आफन्त, इष्टमित्रकहाँ गइन्छ । त्यहाँ हाम्रो स्वागतार्थ खानेकुरा दिइन्छ । पाहुनालाई हार्दिकतासाथ पस्किएको खानेकुरा त्यसै पन्छाउन सक्दैनौं । पेट टम्म भरिए पनि मन राख्नकै लागि खाइदिन्छौं । त्यसमाथि- मासु, पनिर, तारेको, भुटेको, मसालेदार खानेकुरा । यस्तो खानालाई शरीरले कसरी थेग्न सक्छ ?

अनि बढ्छ मोटोपन

दशैं जस्ता चाडपर्वमा मीठो मसिनो खाँदै बस्ने, तासको खालमा जम्ने, मासु-मदिरा खाने चलन व्यापक छ । कोही तासको खालमा बस्छन्, कोही रमझम गर्न थाल्छन् । खाँदै, बस्दै गर्दा शरीरमा जम्मा भएको अतिरिक्त क्यालोरी खर्च हुन पाउँदैन ।
बिहान उठेदेखि राति अबेरसम्म खाने गरिन्छ । हाम्रो शरीरलाई राति अबेर खानेकुरा पचाउन गाह्रो हुन्छ । अर्कोतिर निद्राको तालमेल मिल्दैन । अत्यधिक खानाको सोझो असर भनेको पेटमा पर्छ । पेटले त्यसलाई पचाउन सक्दैन र बोसोको रूपमा संग्रहित गर्छ ।

बोसो लाग्दै गएपछि तौल बढ्ने नै भयो । तौल बढेसँगै चिन्ता पनि बढ्छ । किनभने शरीरको अनियन्त्रित तौलले अरू समस्याहरू पनि ल्याउँछ । जस्तो मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल आदि । धेरैले अनुभव गरेको हुनुपर्छ, दशैंपछि प्रायः चार-पाँच केजी तौल बढ्छ ।

मोटोपनसँगै अरू समस्या

दशैंमा सबैभन्दा बढी समस्या दीर्घ रोग भएकाहरूका लागि हुन्छ । युरिक एसिड, मधुमेह, रक्तचाप र कोलेस्टेरोलका बिरामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने भनेको मोटोपना, खानपान, निद्रा र औषधि हो ।
दशैंको माहोलको रमझम र घुमफिरले गर्दा यी सबै कुरामा सन्तुलन मिल्दैन । अत्यधिक मासुको साथै मदिरा पनि खाने हो भने त यी दीर्घरोगले मुटुमा समस्या गराई हृदयघात भई तत्काल अस्पताल लैजानुपर्ने हुनसक्छ ।

पुरुषमा बढी समस्या

दशैंमा सबैभन्दा बढी समस्या तुलनात्मक रूपमा पुरुषमा देखिन्छ । किनकि महिलाहरू पकाउने, पूजापाठ, सरसफाइकै लागि पनि भान्छा, कोठा र आँगनमा काम नै गरेर पनि शारीरिक अभ्यास भइरहेको हुन्छ । तर, पुरुषको हकमा भने तास खेल्न बसेपछि एकठाउँमै बसिरहने, त्यही ठाउँमा खानपान गरिरहने र खाइरहँदा कति खाएको पनि हेक्का नहुने हुँदा ढाड दुख्ने, मोटोपन बढ्ने, अनिद्रा, अपचको समस्या बढ्छ ।

के गर्ने ?

सम्भव भएसम्म खानपानमा नियन्त्रण गर्ने 

चाडपर्वमा मिठाई र तारेको, पोलेको खानेकुरा खाए पनि मात्रा घटाउनुपर्छ । त्यसको लागि मासुका परिकारसँगै ताजा फलफूल, सलाद, हरियो सागसब्जी र प्रोटिनयुक्त वस्तुहरू पनि प्लेटमा राख्नुपर्छ । र, खानेकुरा खाँदा हरियो सागसब्जी र फलफूलबाट सुरु गर्नुपर्छ । यसरी सुरु गरेमा भारी खानेकुरा खाने भोक पनि हराउँछ । र, मासुको मात्रा पनि कम खाइन्छ । मासुभन्दा बढी फाइबरयुक्त खानेकुराले खाएको मासु जस्ता परिकार पचाउन पनि मद्दत गर्छ ।

सानो प्लेटमा खाना राख्ने र विस्तारै खाने  

सानो प्लेटमा खाना खाँदा खानाको मात्रा स्वतः घट्छ । सानो प्लेटमा लिएर चपाई चपाई विस्तारै खाने गरेमा पनि अनावश्यक खानबाट बचिन्छ । एकपटक हालेपछि थप्ने बानी पनि कम गर्ने प्रयास गर्नुपर्छ ।

प्रशस्त पानी पिउने 

प्रशस्त पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । जसले भोक पनि कम लाग्छ । खाना खाएको ३० मिनेट अगाडि वा ४० मिनेटपछि पानी पिउने बानी बसाल्नुपर्छ । यसले मेटाबोलिजमलाई चुस्त राख्ने मात्र होइन, कम खान पनि मद्दत गर्नेछ ।

शारीरिक गतिविधि

सबैभन्दा बढी व्यायाम आवश्यक पर्ने भनेकै दशैं जस्तो लामो चाडपर्वमा हो । यो समयमा जीम तथा योगा हलहरू बन्द छन् भनेर ढुक्कले बस्नुहुँदैन ।
घरमै पनि १५ देखि २० मिनेट व्यायाम गर्नु पनि फाइदाजनक हुन्छ । घरमा पाहुना छन् वा माहोल मिल्दैन भने बिहानपख वा बेलुकीको समय व्यायाम तथा हिंडडुल गर्न सकिन्छ ।

समयमा खाना खाने

चाडपर्वमा हामी प्रायः खानाको नियमित समय बिर्सन्छौं । अनियमित समयमा खाना खाँदा मेटाबोलिजममा नकारात्मक असर पर्ने र तौल बढ्ने सम्भावना पनि बढ्छ ।
त्यसैले, दिनमा दुई पटक खाना खाने र त्यसबीचमा हल्का खाजा लिन सकिन्छ । मासुका परिकारहरू बेलुकाभन्दा बिहान खानु उचित हुन्छ । बेलुका हल्का खानेकुरा खाने र खाएको तीन घण्टा पछि सुत्नु उचित हुन्छ ।

पर्याप्त निद्रा 

निद्राको कमी पनि तौल बढ्नुको प्रमुख कारण हुनसक्छ । चाडपर्वमा भोजभतेर र अन्य गतिविधिका कारण निद्रा कम हुन्छ, जसले शरीरको ऊर्जा घटाउँछ र मेटाबोलिजममा पनि असर गर्छ । चाडपर्व होस् वा सामान्य दिन, दैनिक ७ देखि ८ घण्टा सुत्ने प्रयास गर्नुपर्छ ।

फिटनेस ट्रेनर सुब्बा काठमाडौँको नयाँ बानेश्वरस्थित एक्स्पोज फिटनेस प्रालिकी संचालक समेत हुन्।

चाडपर्व मोटोपन

धेरै कमेन्ट गरिएका

लेखक
सम्झना सुब्बा, फिटनेस ट्रेनर 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय