+
+

ब्रोकर कम्पनीको नयाँ टीएमएस सञ्चालन, यस्ता छन् सुविधा

कमल नेपाल कमल नेपाल
२०८१ असोज २० गते ८:५७

२० असोज, काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि आजदेखि ब्रोकर कम्पनीकै टीएमएस सञ्चालनमा आउने भएको छ ।आइतबारदेखि सेक्योर्ड सेक्युरिटिजले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने भएको हो । ‘आइतबारदेखि औपचारिक रुपमा नयाँ टीएसमएस सञ्चालनमा ल्याउँदैछौं’ सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले भने ‘नयाँ टीएमएस सञ्चालनमा आएपछि हाम्रा सबै ग्राहकले कारोबारका लागि यहीं प्रयोग गर्नुपर्छ ।’

हिजोअस्तिसम्म सीमित ग्राहकमा मात्रै परीक्षण गरिएको थियो । मैनालीका अनुसार  बुधबारसम्म १ हजार ५२ ग्राहकले नयाँ टीएमएसको पहुँच पाइसकेका छन् । सेक्योर्ड सेक्युरिटिजको नयाँ टीएमएस सञ्चालनपछि अन्य ब्रोकर कम्पनीले पनि नयाँ सुरुआत गर्नेछन् । ‘नयाँ टीएमएस प्रयोगकर्ताको संख्या बढेर यहाँबाट सहज कारोबार भइसकेपछि अरु ब्रोकरले पनि प्रयोग गर्नेछन्’ मैनालीले भने ।

डीजीहब कम्पनीमार्फत ब्रोकरहरुले नयाँ टीएमएस खरिद गरेका हुन् । करिब ३ दर्जन ब्रोकर कम्पनीले डीजीहबबाटै टीएमएस खरिद गर्न सहमत भएका छन् । डीजीहबले श्रीलंकाको आइरन वान टेक्नोलोजीले विकास गरेको टीएमएस यहाँका ब्रोकर कम्पनीलाई पूर्णतयार गरी हस्तान्तरण गर्दछ ।

संसारभर कारोबार प्रणाली ब्रोकर कम्पनीकै हुन्छ, नेपालमा नेप्सेले अस्थायी रूपमा ब्रोकर कम्पनीलाई टीएमएस दिँदै आएको थियो । अब ब्रोकर कम्पनीहरूको आफ्नै टीएमएस प्रयोग हुन थालेपछि आधुनिक प्रविधि अवलम्बनमा प्रतिस्पर्धा हुन गई ग्राहकले स्तरीय सेवा सुविधा पाउने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

हाल ब्रोकर कम्पनीले नेप्सेको टीएमएस प्रयोग गर्दा मासिक २५ हजार रुपैयाँ शुल्क बुझाउँदै आएका छन् । तर, नयाँ टीएमएसको मासिक शुल्क ब्रोकर कम्पनीलाई औसतमा करिब १५ हजारजति पर्न आउँछ । यसले ब्रोकर कम्पनीलाई आर्थिक फाइदाका साथै चाहेका बेला आफैंले टीएमएस विकास गर्दै लैजान सक्नेछन् ।

नयाँ टीएमएसमा के के छन् सुविधा ?

हालसम्म मोबाइल एपबाट सहज रुपमा सेयर कारोबार गर्ने सुविधा थिएन । तर ब्रोकर कम्पनीको नयाँ टीएमएस भने मोबाइल एप भर्सनमा पनि उपलब्ध छ । नयाँ टीएमएस मोबाइल एप, डेस्कटप र वेब गरी तीन भर्सनमा उपलब्ध रहेको मैनालीले बताए ।

‘अब मोबाइल एप नै प्रयोग गरेर सजिलो तरिकाले सेयर किनबेच गर्न सकिन्छ’ उनले भने । सुरु–सुरुमा चलाउने तरिकाबारे भिडियो बनाएर सार्वजनिक गरिनेछ ।

ग्राहकले कारोबारका लागि टीएमएस चलाउँदा कुनै शुल्क बुझाउन पर्दैन, जुन पहिलेदेखि रहँदै आएको छ । नयाँ हालको टीएमएस मार्फत ग्राहकले कारोबारका लागि धितो (कोल्याटरल) लोड त गर्न सक्छन्, तर कोल्याटरको विवरण सही रूपमा देखिँदैन । नयाँ टीएमएसमा भने लोड भएको कोल्याटरल, खरिदपछि बाँकी रहेको कोल्याटरल सही रूपमा देखिने छ ।

त्यस्तै नयाँ टीएमएस मार्फत ग्राहकले आफूले गरेको कारोबार विवरण, भुक्तानी लिन/दिन बाँकी रकमको हिसाबकिताब सही रूपमा हेर्न पाउनेछन् । हाल आफ्नो हिसाबकिताब विवरण ब्रोकर कम्पनीसँगै माग्नुपर्ने बाध्यता लगानीकर्तामा छ ।

त्यस्तै सेयर बिक्री भइसकेपछि त्यहीं रकमबाट तुरुन्तै अरु कम्पनीको सेयर किन्न सक्नेछन् । हाल कोल्याटरल नभएको अवस्थामा बेचेको पैसाबाट सेयर खरिद गर्न मिल्दैन । तर ब्रोकर कम्पनीलाई नै फोन गरेपछि धेरैले बेचेको पैसालाई कोल्याटरका रुपमा मिलाइदिँदै आएका छन् ।

‘नयाँ टीएमएस मार्फत तथ्यांकीय रूपमा पनि विभिन्न कम्पनीको एनलाइसिस गर्न सकिने छ, प्राविधिक विश्लेषणका विभिन्न टुल्स उपलब्ध हुनेछ’ मैनालीले भने । आफ्नो टीएमएस खोलिसकेपछि चार्ट हेर्नका लागि अरु वेब तथा एप चलाउनु पर्दैन ।

टीएमएसमा केही समस्या देखिए तुरुन्तै हल गर्न सकिने ब्रोकर कम्पनी बताउँछन् । कारोबारका थप औजार विकास भए ती औजार पनि टीएमएसमा समेट्दै चाहे अनुसार ब्रोकर कम्पनीले नै स्तरोन्नति गर्दै लैजान सक्ने छन् ।

नयाँ टीएमएसमा ब्याकअप कारोबार समेत जोडिने भएकाले वास्तविक हिसाबकिताब एउटै प्लेटफर्ममा देखिने छ । हालको टीएमएसमा दिनभरि भएको कारोबार त देखिन्छ, तर त्यो पहिलेको कारोबारसँग जोडिएको हुँदैन, एकमुष्ठ हिसाबकिताब हेर्न सकिँदैन ।

नासाको छुट्टै टीएमएस

नासा सेक्युरिटिजसहित केही ब्रोकर कम्पनीहरूले छुट्टाछुट्टै टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेका छन् । नासाले छुट्टै टीएमएस एस्टेरिस्क टेक्नोलोजी मार्फत खरिद गरेको छ । भारतको डिओन ग्लोबल सोलुसनले बनाएको टीएमएस नासाले प्रयोग गर्ने प्रबन्ध सञ्चालक मदन पौडेलले बताए ।

ग्राहकलाई थप सेवा सुविधा दिन नै आफूहरूले छुट्टै टीएमएस सञ्चालन गर्न लागेको उनले बताए । छुट्छाछुट्टै टीएमएस लिँदा ब्रोकरबीच पनि आधुनिक प्रविधिमा प्रतिस्पर्धा हुन जाने र यसले समग्र बजारको विकासलाई टेवा पुग्ने ब्रोकर कम्पनी बताउँछन् ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?