+
+
सिनेमा र जगत :

जसले सर्वाधिक गाली खान्छ, उसैको फिल्म कसरी सुपरहिट हुन्छ ?

शिव मुखिया शिव मुखिया
२०८१ कात्तिक ४ गते ८:४९

उपरोक्त शीर्षकबाटै थाहा पाउनुहुनेछ यो विषय र प्रसंगले कसलाई लक्षित गर्छ भनेर । निःसन्देह दीपकराज गिरी र दीपाश्री निरौला यसको केन्द्रमा छन् ।

हुन पनि नेपाली सिनेवृत्तमा दीपक र दीपाले जति गालीगलौज कसैले खाएका छैनन् सायद । सामाजिक सञ्जाल चहार्ने हो भने यस्तो लाग्छ, मानौं दीपक–दीपा गाली खानका लागि नै जन्मिएका हुन् । यस्तो पनि लाग्छ, भएभरका दर्शक उनीहरूप्रति रुष्ट छन् ।

तर बक्स अफिसको गणितले त्यसो भन्दैन । सिनेमाको व्यवसाय मापन गर्ने यो इकाईले छर्लङ्ग भन्छ-‘दीपक–दीपाको सिनेमा सर्वाधिक दर्शकले हेरे ।’

गालीगलौजको उग्र ध्वनि र बक्स अफिसको अंक बीच कति बेमेल नतिजा ?

हो पनि, जसलाई दर्शकले देखिसहन्न उसैले निर्माण गरेको फिल्म ब्लकबस्टर हुन्छ । किन ? यसको जवाफ रोचक र घोचक मात्र होइन मनन्योग्य पनि हुनसक्छ । किनभने यसले हाम्रो समाजको चरित्र, मनोविज्ञान र आम मान्छेको वंशाणुगत प्रवृत्तिलाई पनि कता–कता धक्का दिन्छ ।

यहाँ दुई वटा सम्भावना देखिन्छ ।

एक, दीपक दीपालाई जतिसुकै गाली गरे पनि उनीहरू फिल्म हेर्न भने जान्छन् ।

दुई, दीपक दीपालाई जतिले गाली गर्छन्, उनीहरू नेपाली फिल्मका दर्शक होइनन् । उनीहरूले नहेरे पनि फिल्म सुपरहिट हुन्छ । अरू नै कोही दर्शक छन्, जो चुपचाप फिल्म हेरिदिन्छन् ।

यदि त्यसो नहुँदो हो त दीपक दीपाको फिल्म कसरी ब्लकबस्टर भइरहेका छन् ? कसरी औसतमा १७ करोड रुपैयाँ कमाइरहेका छन् ? अर्कै ग्रहबाट एलियनहरू फिल्म हेर्न आएका होइनन् ।

दुई–तीन करोडको लगानीमा निर्माण हुने, दुई-अढाइ सय हलमा प्रदर्शन हुने, कुल जनसंख्याको करिब २ प्रतिशत स्थायी दर्शकले हेरिदिने नेपाली फिल्मले १७ करोडको कारोबार गर्नु भनेको ‘ब्लकबस्टर’ ठहरिनु हो । ‘छ एकान छ’ देखि ‘छक्कापञ्जा’ सम्म उनीहरू यही अंकका साथ निरन्तर अग्रपंक्तिमा छन् ।

यहाँ तेस्रो सम्भावना के देखिन्छ भने दीपक-दीपालाई गाली गर्नेको जमात जसरी बढ्दैछन् उत्ति नै नयाँ दर्शक पनि थपिंदैछन् ।

चौथो सम्भावना, दीपक दीपाको दर्शक यथावत् छन् । गालीगलौज गर्दै विरोध जनाउनेहरू फगत नियोजित र प्रायोजिन ‘साइबर सेना’ हुन् । तर, यो सम्भावना त्यति पक्का छैन । किनभने ‘साइबर सेना’ हरदम यसरी परिचालन हुन सक्दैनन् ।

स्वीकानुपर्ने सत्य के भने, एउटा ठूलो जमात दीपक दीपालाई देखिसहन्न । सामाजिक सञ्जाल यसको साक्षी हुन् । जसै दीपक दीपाले केही बोल्छन्, अधिकांशले दिल्लगी गर्न थाल्छन् । गाली गर्न थाल्छन् । मुखै छाड्न थाल्छन् ।

समस्या कतिसम्म छ भने, खप्नै नसकिने गाली आउन थालेपछि छक्कापञ्जा टिमले पत्रकार सम्मेलन गर्नुपर्‍यो । दीपकराजले भनेका छन्, ‘छक्कापञ्जा–५ को घोषणादेखि स्वतन्त्र रूपले खुलेर सामाजिक सञ्जालमा प्रचारप्रसार गर्न पाइएको छैन ।’

दीपक दीपा मात्र होइन, कुनै तटस्थ दर्शकले छक्कापञ्जाको बारेमा राम्रो भन्नासाथ वा राम्रो लेख्नासाथ उनीमाथि गाली गर्नेहरूको ओइरो लाग्छ । आखिर यतिविघ्न के बिगारेका थिए दीपक-दीपाले ?

केही कुरालाई तपसिलमा राखेर यहाँ मान्छेको मनोविज्ञान र प्रवृत्तिलाई खोतल्नुपर्ने हुन्छ । मान्छेहरू सफलता चाहन्छन् र त्यसैका लागि मरिहत्ते गर्छन् । तर, अर्कोको सफलतामा मान्छे त्यति खुसी नहुने मात्र होइन बरु दुःखी हुन्छन् । रुष्ट हुन्छन् ।

हिन्दी चलचित्र थ्री इडियट्सको एउटा दृश्य छ, जहाँ विद्यार्थीहरू भित्तामा टाँसिएको नतिजा हेर्न तँछाडमछाड गर्दैछन् । राजु र फरहानले नतिजा सूचीको पुछारबाट आ-आफ्नो नाम खोज्छन् । यसक्रममा उनीहरूले आफ्ना हितैषी रान्चो (रणछोड दास) को नाम फेला पार्दैनन् । साथी त अनुत्तीर्ण पो भए कि के हो ? यस्तो आशंकाले राजु र फरहानलाई दुःखी बनाउँछ ।

तर, त्योभन्दा दोब्बर दुःखी त यो कुराले बनाउँछ कि वास्तवमा रान्चोको नाम नम्बर १ मा छ । उनीहरूले त्यहाँसम्म त हेर्न भ्याएकै थिएनन् ।

फिल्ममा भनिएको छ– ‘मान्छेको प्रवृत्तिबारे हामीलाई त्यस दिन थाहा भयो । साथी फेल भएको कुराले हामी दुःखी थियौं । तर, साथी प्रथम हुँदा अरू बढी दुःखी भयौं ।’

कोही आफन्त, साथी, अन्जान व्यक्ति सफल भएको कुरा मान्छेलाई त्यति निको लाग्दैन । यस्तो कुरामा मान्छेले चरण अनुसार फरक–फरक प्रतिक्रिया जनाउँछ ।

पहिलो चरणमा, कोही व्यक्तिले प्रगति गरिरहेको छ भने मान्छेले उसलाई दबाउन खोज्छ ।

दोस्रो चरणमा मान्छेले उसलाई बेवास्ता वा उपेक्षा गर्न खोज्छ ।

तेस्रो चरणमा मान्छे त्यो व्यक्तिसँग प्रतिस्पर्धा गर्न खोज्छ ।

चौथो चरणमा त्यो मान्छेको विरोध गर्न खोज्छ ।

पाँचौं चरणमा त्यो मान्छेको प्रगतिलाई स्वीकार्न थाल्छ ।

छैटौं चरणमा त्यो मान्छेको प्रगतिलाई अनुसरण र तारिफ गर्न थाल्छ ।

यो मनोसामाजिक प्रवृत्तिको साइड इफेक्ट कहीं न कहीं दीपक–दीपामाथि परेको छ । उनीहरूको ‘प्रगति’ लाई सहर्ष स्वीकार गर्न असजिलो भएको स्थिति हो यो । यसैको नतिजा सामाजिक सञ्जालमा पोखिएको हुन सक्छ ।

तर, यो पूर्ण कारण भने होइन । यसका पछाडि अर्को कुरा पनि खप्टिएर बसेको छ ।

एक अन्तर्वार्तामा दीपाश्रीले ‘राजेश हमाल’माथि गरेको हाकाहाकी टिप्पणीले धेरैलाई बिझाएको थियो । उनको कुरा बेठिक थिएन । तर भन्ने शैलीमा दर्शकले ‘दम्भ’ देखे । त्यो दम्भ उनको पछिल्लो फिल्मबाट प्राप्त सफलताको उपज मानियो । फिल्म सफलतामा दर्शकको हिस्सा हुने नै भयो । दर्शकले ठाने, ‘हामीले फिल्म हेरिदिएर उनी आज यतिका भएका हुन् । अब फुर्ती गर्ने ? हामीले आदर्श मान्दै आएका महानायकलाई होच्याउने ?’

दर्शक यत्तिमै रोकिएनन् । उनीहरूले चुनौती दिए, ‘अब हेर, को महानायक, को खलनायक ?’ यसको सोझो अर्थ दीपक–दीपाको फिल्ममाथि अघोषित प्रतिबन्ध भन्ने बुझिन्थ्यो ।

त्यसपछिका दिनमा दीपाश्रीले चैनको निद्रा सुत्न पाइनन् । उनीमाथि यति धेरै गाली आउन थाल्यो, त्यसबाट सम्हालिन उनलाई निकै समय लाग्यो । आखिर उनी सम्हालिइन् । चौतर्फी गाली छिचोल्दै फिल्म बनाइन् । फिल्म फेरि ‘अपार सफलताका साथ’ उसैगरी चल्यो, जसरी त्यसअघिका चलेका थिए ।

आर्थिक वर्ष २०८०-८१ मा चलचित्र विकास बोर्डद्वारा सार्वजनिक बक्स अफिस कलेक्सनले देखाउँछ, ‘छक्कापञ्जा–४’ ले १७ करोड ५२ लाख बढी रुपैयाँ ग्रस कलेक्सन गरेको छ । त्यस वर्ष प्रदर्शन भएका नेपाली फिल्ममध्ये सबैभन्दा बढी कमाइ थियो, यो ।

सर्वविदितै छ, फिल्मी निर्माणको दशवर्षे करिअरमा दीपक–दीपाले कहिल्यै पनि तालुमा हात राखेर टुक्रुक्क बस्नुपरेको छैन । ‘छ एकान छ’ हुँदै ‘छक्कापञ्जा’को पाँचौं शृंखलासम्म आइपुग्दा उनीहरू निरन्तर सफलताको उकालो ग्राफमा छन् ।

रेडियो कार्यक्रम, टेलिशृंखला हुँदै आजको स्थानसम्म आइपुग्दा उनीहरूले पनि अनेकन् उतारचढाव झेले होलान् । अनेक हण्डर खाए होलान् । अनेक दुःख सहे होलान् । अनेक अप्ठ्यारा छिचोले होलान् । रेडियोमा रामविलास–धनियाँ बनेर स्थापित भएका उनीहरू ‘तितोसत्य’ शृंखलासँगै विस्तारित भए । तर, संस्थागत भ्रष्टाचारले मुलुकलाई नै अन्धकार बनाउने गरी गरिएको लोडसेडिङले उनीहरूलाई पनि पाखा लगाइदियो । टेलिभिजन हेर्ने वातावरण नै धमिलो भएपछि दीपक–दीपाले करिअरको अर्को अध्याय सुरु गरे, सिनेमाबाट ।

विगतमा आर्जन गरेको सीप, अनुभव र दक्षतालाई अझ परिपक्व बनाउँदै उनीहरूले सिनेमा निर्माणमा हात हाले । र, यसैलाई आफ्नो मूल कर्म बनाए ।

उनीहरूको पहिलो फिल्म ‘छ एकान छ’ ले त्यसबखत सर्वाधिक कमाइ मात्र गरेन कलाकार र प्राविधिकलाई ‘बोनस’ नै बाँड्यो । केही पैसा बाढी पीडित र स्वर्गीय निर्देशक शिव रेग्मीका लागि पनि सहयोग गरे । ‘छ एकान छ’ पछिका ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा १, २, ३’, ‘छ माया छपक्कै’ सबैमा ‘दर्शकको अत्यधिक साथ’ मिल्यो ।

वर्षमा औसत एउटा फिल्म बनाउनु र एकपछि अर्को व्यापारको कीर्तिमान तोड्नु कम्ता स्वादलाग्दो कुरा होइन । यसले सम्बन्धित निकायको खल्ती मात्र हराभरा बनाइदिंदैन, थप अगाडि बढ्नका लागि आत्मविश्वास र आँट पनि भरिदिन्छ । त्यति मात्र हो र ? सामान्य दिनहरूमा सन्नाटा छाउने सिनेमा घरलाई ‘दशैं’ ल्याइदिन्छ । थाहै नपाई सेलाउने नेपाली सिनेमाको नाडीमा चाल ल्याइदिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा, नेपाली सिनेमाको अर्थचक्रलाई गतिशील बनाइदिन्छ ।

यो अर्थचक्रको लाभांश फगत फिल्म निर्माता, वितरक र हल सञ्चालकले मात्र प्राप्त गर्दैनन् । समग्र मनोरञ्जन उद्योग यसबाट लाभान्वित हुनपुग्छ । मनोरञ्जन मान्छेको नैसर्गिक आवश्यकता र रुचि हो, जसलाई यसले सुरक्षित पनि गर्छ । समाजका थुपै्र अवयवलाई चलायमान राख्न मनोरञ्जनको डोज जरूरी हुन्छ ।

यस हिसाबले हेर्ने हो भने, दीपक दीपाले मनोरञ्जन उद्योगमा ठोस योगदान दिइरहेका छन् ।

पक्कै पनि उनीहरूको फिल्मले उठाएको मुद्दालाई लिएर तर्क गर्न सकिएला, उनीहरूको फिल्मको प्रस्तुति र संवादलाई लिएर विमति जनाउन सकिएला, उनीहरूको फिल्मको क्राफ्टलाई लिएर विमर्श गर्न सकिएला । तर, व्यक्तिलाई लिएर दिल्लगी गर्नु, मुखै छाड्नु अनर्थ र अशोभनीय हो ।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?