
५ कात्तिक, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएदेखि नै देश र सिंगो राजनीति तरंगित बनेको छ भने पोखरा त्यसयता अशान्त छ । शुक्रबार मध्यरातदेखि नै रविलाई पक्राउ गरेपछि सडकमा निस्किएका रास्वपा कार्यकर्ताले दिनहुँ आन्दोलन गरिरहेका छन् ।
रवि पक्राउको विरोधमा रास्वपा सडक आन्दोलनमा छ भने सहकारी पीडितले पनि ठगीमा संलग्न अरुलाई पनि पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् । अन्य राजनीतिक दलका नेता कार्यकर्ता पनि रवि पक्राउको घटनामा विभक्त भइरहेका छन् । नेकपा माओवादीका कार्यकर्ता पनि रास्वपासँग नजिक र सहानुभूति राखिरहेको देखिएको छ भने एमाले-कांग्रेसले सहकारी पीडितका नाममा रवि पक्राउको समर्थन गरिरहेका छन् ।
रास्वपाका केन्द्रीय नेताहरु शनिबारदेखि पोखरा आएर प्रदर्शन र आन्दोलनको नेतृत्व गरिरहेका छन् । रास्वपाका केन्द्रीय नेताहरुको बैठक, छलफल नै अहिले पोखरामै भइरहेको छ ।
लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतले रवि पक्राउ परेको दिन कात्तिक २ गते शुक्रबारबाटै लागु हुने गरी प्रहरीलाई ६ दिनको म्याद दिएको छ ।

यसअघि नै पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दासँग मिलान हुने गरी अदालतले लामिछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद दिएको हो । योसँगै अझै ३ दिन रास्वपाका अधिकांश नेता पोखरामै रहेर आन्दोलन चर्काउने तयारी गरिरहेका छन् ।
रास्वपाको आन्दोलनकै कारण आइतबार दिनभर पर्यटकीय शहर पोखरा तनावग्रस्त भयो । रास्वपाले पोखरामा आज सोमबार पनि आन्दोलनको तयारी गरेको छ । आज पोखराको पृथ्वीचोकमा जम्मा भएर प्रदर्शन गर्दै पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा राखिएको प्रहरी कार्यालय रहेको गैह्रापाटनसम्म पुग्ने तयारी रहेको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
‘राजनीतिक प्रतिशोधले यो हदसम्मको थिचोमिचो हुन्छ भने हाम्रो प्रतिरोध जारी रहन्छ । पोखरा, काठमाडौं हुँदै देशभर आन्दोलन गर्ने क्रम चलिरहेको छ,’ बुर्लाकोटीले भने ।
रास्वपाले पोखरा केन्द्रित आन्दोलन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौतीको विश्लेषण गरी शहीद चोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधित क्षेत्रसमेत घोषणा गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले शहीद चोक आसपासमा पूर्वतर्फ वाई चोक, उत्तरपूर्वतर्फ मिलन चोक, पश्चिमतर्फ फिस्टेल गेट (बैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङ चोक र दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइडसम्म निषेधित क्षेत्र तोकेको छ ।
यसैगरी गैह्रापाटन आसपासमा पालिखेचोकदेखि नविन माविसम्मको सडक क्षेत्रमा पनि धर्ना, जुलुस, प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रदेश सभा क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको भए पनि शहीद चोक क्षेत्रमा पहिलो पटक यति धेरै ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
विगतमा राजनीतिक तथा विभिन्न दबाबमुलक प्रदर्शन समारोह प्राय मानव अधिकार चोक हुँदै मुख्य सडक चिप्लेढुंगा, न्युरोड, नयाँ बजार, महेन्द्रपुल र अमरसिंह तथा प्रदर्शनी केन्द्रसम्म केन्द्रित हुन्थे ।
्कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधित क्षेत्र अझै केही दिन जारी रहने बताए । ‘यो निषेधित क्षेत्र अझै केही समय रहन्छ । यसले नागरिकलाई अप्ठेरो पर्दैन तर, परिस्थिति हेरेर निर्णय गर्ने कुरा हो यो,’ पाण्डेले भने, ‘आइतबार नै त्यो क्षेत्र निषेधित घोषणा नगरेको भए परिस्थिति अझै हुन सक्थ्यो ।’
तर आइतबार नै रास्वपा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले सुरुमा पानीको फोहोरा र पछि अश्रुग्याँस हानेको थियो । प्रदर्शनका क्रममा केही युवामाथि कुटपिट भयो भने एक जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो ।
पूर्व गृह तथा उपप्रधानमन्त्रीलाई नै सहकारी ठगी प्रकरणमा पक्राउ गरी अनुसन्धानका लागि पोखरा ल्याइएको छ । यो नै कास्कीमा भएको अहिलेसम्मकै सबैभन्दा ठूला विशिष्ट व्यक्तिको अनुसन्धान हो ।
रास्वपाले रविलाई पक्राउ गरेर सरकारले राजनीतिक प्रतिशोध साँधेको बताइरहँदा सहकारी पीडितले भने रवि नै समातिएपछि अब छिट्टै निकास निस्कन सक्ने विश्वास गरेका छन् ।
राजनीतिक आन्दोलनका क्रममा नेताहरु कास्की कारागारमा परेको भए पनि अपराधकै अभियोगमा कास्की हिरासतमा परेको राजनीतिक नेतृत्व यो पहिलो पटक नै भएको प्रहरीले जनाएको छ । राष्ट्रिय दल र सबै दल तथा जनताकै चासोको केन्द्रमा पनि भएकाले रवि पक्राउले तरंग सिर्जना गरिरहेको हो ।
रविको पक्षमा रास्वपाका कार्यकर्ताहरु सडकमा उत्रिएसँगै अनुसन्धानलाई प्रभावित नपार्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित पनि आन्दोलनमा निस्कने तयारी गरेका थिए । शनिबार जिल्ला प्रशासन र प्रहरीकै अनुरोधमा उनीहरुले प्रदर्शन रोकेका थिए । केही सहकारी पीडित प्रहरी कार्यालय अगाडि पुगे पनि प्रदर्शन भने गरेनन् ।
तर आइतबार भने सहकारी पीडित पनि छबिलाल जोशीदेखि रविसम्मको पोस्टर लिएर सडकमा निस्किए । नेपाली कांग्रेस र एमालेकोसमेत समर्थनमा सहकारी पीडितहरुले छानबिन प्रभावित पार्न नहुने भन्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीको भिड छिचोल्दै प्रहरीले आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराएको थियो । त्यसक्रममा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले अब सरकार ढलाएरै छाड्ने चेतावनी दिए । प्रदर्शनकारीलाई सम्बोधन गर्ने क्रममा रास्वपाका उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्ले, सहप्रवक्ता मनिष झा, तोसिमा कार्कीलगायतका नेताहरुले पनि यो वार कि पारको लडाइँ भएको बताएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेले पनि गोर्खा मिडियाको प्रबन्ध निर्देशक बनेर अपअचलन गरेको भन्दै कास्कीमा परेको किटानी जाहेरी र संसदीय विशेष समितिको प्रतिवेदनको आधारमा रविलाई पक्राउ गरिएको हो । उनीविरुद्ध सहकारी ठगी तथा सांगठनिक अपराधको मुद्दा चलाइको छ । यही मुद्दामा गोर्खा मिडियाकै पूर्व सञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशी पनि अहिले हिरासतमै छन् ।
तस्वीरः सरोज अधिकारी
प्रतिक्रिया 4