+
+

नागार्जुनमा पासो थापेर वन कार्यालयले पक्रियो चितुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते १२:१०

७ कात्तिक, काठमाडौं । डिभिजन वन कार्यालय काठमाडौंले नागार्जुन नगरपालिकाको एलो गुम्बा नजिक थापेको पासोमा चितुवा परेको छ ।

पाँच नम्बर वडा कार्यालयले चितुवा बस्तीमा पसेर दुःख दिएकाले पक्रिन भनेपछि वन कार्यालयको टोलीले पासो थापेर चितुवा नियन्त्रणमा लिएको हो ।

‘करिब १० दिन अघि हामीले पासो थापेका थियौं,’ डिभिजन वन कार्यालय काठमाडौंका पशु चिकित्सक डा. आशुतोष भट्टले अनलाइनखबरसँग भने, ‘आज बिहान एउटा चितुवा पासोमा पर्‍यो ।’

सो चितुवालाई पासोमा पार्न वन कार्यालयको टोलीले तीन वटा लोकल कुखुरा समेत प्रयोग गरेको थियो ।

आज बिहान करिब ६ बजे चितुवा पासोमा परेको जानकारी पाएपछि वन कार्यालयबाट वन अधिकृत शंकर थापा, पशु चिकित्सक डा. आशुतोष भट्ट, सशस्त्र वन रक्षक रामचन्द्र सापकोटा र कार्यालय सहयोगी भैरव भट्टसहितको टोली त्यहाँ पुगेको थियो । टोलीले चितुवालाई पासोबाट खोरमा सारेर हात्तीसारस्थित वन कार्यालयमा ल्याएको छ ।

अब त्यसलाई छिट्टै घना जंगल भएको उपयुक्त बासस्थानमा लगेर छाड्ने डा. भट्टले बताए । ‘यो चितुवालाई सायद राष्ट्रिय निकुञ्जमै लगेर छाडिन्छ होला,’ उनले भने ।

काठमाडौंमा केही वर्षयता चितुवा बस्तीमा पसेर मानिसलाई समेत आक्रमण गर्ने गरेको छ । चितुवा आतंक बढेपछि स्थानीयले पक्रन वन कार्यालयलाई गुहार्ने गरेका छन् ।

तर आफूहरुसँग चितुवा पक्रने पासो सीमित संख्यामा भएकाले सबैतिर पुग्न नसकेको डा. भट्ट बताउँछन् ।

गतवर्ष कात्तिक महिनामै भक्तपुरमा कौशलटारमा फेला परेको चितुवा पनि डिभिजन वन कार्यालय, काठमाडौंको टोलीले नियन्त्रणमा लिएको थियो । सोही वर्ष भदौमा कीर्तिपुरमा फेला परेको चितुवा भने नियन्त्रणको प्रयास सफल भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?