+
+

३३ केभी प्रसारणलाइन मुनि विराटनगर महानगरको अटिजम सेवा केन्द्र

हरि अधिकारी हरि अधिकारी
२०८१ कात्तिक ८ गते ७:४०

८ कात्तिक, विराटनगर । विराटनगर महानगरपालिकाले ३३ केभी विद्युत प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

अटिजम भएका बालबालिकाको हेरचाहका लागि विराटनगर महानगरपालिका–४ मा ३३ केभी प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

करुण फाउन्डेशनको सहयोगमा सञ्चालनमा आएको केयर सेन्टरको उदघाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । उदघाटन गर्दै उनले आफ्नो कार्यकालको ‘ड्रिम प्रोजेक्ट’ अटिजम सेवा केन्द्र पनि भएको बताए । ‘विराटनगरमा अटिजम भएका थुप्रै बालबालिका छन् । उनीहरूका लागि केही गर्नुपर्छ भन्ने म मेयर हुँदादेखि नै लागेको थियो,’ कोइरालाले भने, ‘भित्रैदेखि चाहेको कुरा आज पूरा भएको छ ।’

केन्द्र सञ्चालनका लागि महानगरपालिकाले आफ्नै कार्यविधि पनि बनाएको छ ।

३३ हजार केभी प्रसारणलाइन मुनि अटिजम सेवा केन्द्र खोलेको भन्दै महानगरको आलोचना पनि हुने गरेको छ । ‘विद्युत प्रसारणलाइन मुनि बस्नु जोखिमपूर्ण हुन्छ, अटिजम भएका बालबालिकालाई राख्दा झन् जोखिम बढ्छ,’ अटिजमको क्षेत्रमा काम गरिरहेका एक चिकित्सकले भने, ‘प्रसारणलाइन मुनि निरन्तर राख्दा अझ गम्भीर समस्या निम्तनसक्छ ।’

विज्ञहरुका अनुसार विद्युत प्रसारण लाइनमुनि कुनै भौतिक संरचना बनाउन वा अग्ला रुख बिरुवा रोप्न पाइँदैन । यसको  नियमित नजिक बस्दा इलेक्ट्रोम्याग्नेटिक फिल्डको असर हुन्छ । जसले गर्दा स्वस्थ मानिसलाई पनि समस्या पार्छ ।

चिकत्सकका अनुसार विद्युत आपूर्तिबाट उत्पन्न हुने कम्पनले बालबालिकाको मस्तिष्कको विकासमा असर गर्छ । यसले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमतामा पनि असर गर्छ ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक दिलीपकुमार यादवले बालबालिका खेल्ने स्थानमाथि ३३ केभी प्रसारण लाइन भए पनि असर नगर्ने जिकिर गरे । ‘बच्चाहरुलाई पढाउने खेलाउने बिल्डिङ अलग छ, बाहिर भनेको एकछिन खेल्नका लागि मात्रै हो ।’ उनले भने, ‘त्यहाँ मापदण्ड भित्र रहेर बनाएको छ, असर गर्दैन ।’

यादवका अनुसार भाडाको घरमा केन्द्रको संरचना तयार गर्नका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सेन्टर सञ्चालनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

२५ जना बालबाालिका रहेको केन्द्रमा बालबालिकाको रेखदेखका लागि महानगरपालिकाले ९ जना कर्मचारी खटाएको छ ।

केन्द्रमा फिजियोथेरापी, स्पीच थेरापी (बोल्न सिकाउने) तथा बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिने महानगरले जनाएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?