गर्भावस्था महिलाको जीवनको सबैभन्दा विशेष समय हो । यस अवधिमा शारीरिक मात्र होइन, मानसिक रूपमा पनि धेरै परिवर्तन हुन्छ । त्यसैले गर्भावस्थाको नौ महिनामा महिलाले आफ्नो र गर्भमा रहेको बच्चाको विशेष ख्याल राख्नुपर्छ । किनभने यस समयमा आमाको हरेक पाइला, उनको खानपान, मानसिक अवस्था र दैनिक दिनचर्याले बच्चाको विकासमा प्रत्यक्ष प्रभाव पार्छ ।
गर्भवती महिलाले स्वस्थ र सन्तुलित आहार लिनुपर्छ । आफूलाई तनावमुक्त राख्न नियमित व्यायाम गर्नुपर्छ र ध्यान वा सङ्गीतको सहारा लिनुपर्छ । साथै आमाको मुड, उनको हाँसो र खुसीले पनि बच्चाको मानसिक र भावनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । गर्भावस्थाको प्रारम्भिक दिन देखि नौ महिनासम्म गर्भमा बच्चालाई सुरक्षित राख्न के-के कुरा ध्यान थाहा पाउनु राम्रो हुन्छ ।
बच्चामा आमाको मुडको प्रभाव
गर्भावस्थामा महिलाले आफूलाई माया गर्ने र आफ्नो पूर्ण हेरचाह गर्ने समय हो । राम्रो निद्रा लाग्नु, हाइड्रेटेड रहनु र चिकित्सकको सल्लाहअनुसार नियमित चेकअप गराउनु पनि यो समयमा निकै महत्वपूर्ण हुन्छ । गर्भावस्थामा आमालाई खुसी र स्वस्थ राख्नु बच्चाको समग्र विकासका लागि महत्त्वपूर्ण छ । त्यही समयमा, तनाव वा चिन्ता जस्ता नकारात्मक भावनाले आमाको शरीरमा कोर्टिसोल नामक तनाव हार्मोनको स्तर बढाउँछ । जसले बच्चाको न्युरोलोजिकल विकासमा नकारात्मक असर पार्न सक्छ ।
आफ्नो गर्भमा रहेको बच्चालाई हानि पुर्याउने जोखिम कम गर्न आफ्नो तनावको स्तर व्यवस्थापन गर्न महत्त्वपूर्ण छ । व्यायाम, ध्यान, योग र श्वासप्रश्वासको अभ्यासबाट तनावलाई कम गर्न सकिन्छ ।
आहारको प्रभाव
गर्भावस्थामा आमाको आहार बच्चाको शारीरिक विकासका लागि आवश्यक हुन्छ । आमाले उपभोग गर्ने पोषक तत्त्व बच्चामा पुग्छ र उसको विकासलाई सहयोग गर्छ । आमाले खानाबाट सम्पूर्ण पौष्टिक तत्त्वहरू पाएर नै बच्चाको मेरुदण्ड, स्नायु र मस्तिष्क लगायत सम्पूर्ण अंगको विकास हुने भएकाले आमाले खानपानमा विशेष ध्यान दिनुपर्छ ।
यो अवधिमा आमाले सन्तुलित र पोषणयुक्त आहार लिनु जरुरी छ । हरियो तरकारी, फलफूल, ड्राइफ्रुट र प्रोटिनयुक्त आहार सेवन बच्चाको मस्तिष्क र शरीरको विकासका लागि आवश्यक हुन्छ । साथै जंक फुड वा अत्यधिक तैलीय, मसालेदार खानेकुराबाट बच्नुपर्छ । गर्भवती अवस्थामा प्याकेट फुड, जंक फुड र रसायनयुक्त खानेकुरा खाँदा त्यसमा भएको रसायनले बच्चालाई असर गर्न सक्छ । यस्ता खानेकुरामा पोषणको मात्रा कम हुने भएकाले आमा र बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ ।
आमाको बानी र बच्चाको विकास
गर्भावस्थामा आमाको जीवनशैलीले पनि बच्चाको स्वास्थ्यमा असर गर्छ । यदि कुनै महिला गर्भधारण हुनुअघि हिंड्ने वा व्यायाम गर्ने गर्थिन् भने त्यसलाई निरन्तरता दिनुपर्छ । गर्भावस्थामा अन्य बेलामा भन्दा हल्का व्यायाम र हिंडडुल गर्नुपर्छ । बच्चाको स्वास्थ्यका साथै यसले आमाको शरीरलाई सक्रिय राख्छ र गर्भावस्थामा तनाव कम गर्छ ।
यससँगै आमाको सुत्ने र उठ्ने बानी, उनको निद्राको गुणस्तरले पनि बच्चाको विकासमा असर गर्छ । यदि आमाले पर्याप्त निद्रा नपाउँदा बच्चाको मस्तिष्कको विकासमा नकारात्मक असर पार्न सक्छ ।
निष्कर्ष
गर्भावस्थामा आमाको व्यवहार, उनको बानी, खानपान र मानसिक अवस्थाले बच्चाको विकासमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले यस समयमा आमाले आफ्नो ख्याल गर्नुका साथै स्वस्थ र सकारात्मक जीवनशैली अपनाउनुपर्छ । आमा जति खुसी र स्वस्थ हुन्छिन्, बच्चाको शारीरिक र मानसिक विकास त्यति नै राम्रो हुन्छ ।
प्रतिक्रिया 4