
काठमाडौं । विराज भट्ट र छोरा समीर गत साता ‘१२ गाउँ’को हल भिजिटका लागि पश्चिम नेपाल पुगेका थिए । हल-हलमा पुगेर उनीहरुले दर्शकसँग भलाकुसारी मात्र गरेनन्, हल सञ्चालकसँग फिल्मको अवस्थाबारे जानकारी दिए ।
यस्तोमा ‘१२ गाउँ’ प्रवर्धनको लागि नेपालगञ्ज पुगेका विराजको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा हजारौं प्रतिक्रिया आएका छन् । यो भिडियोले सकारात्मक र नकारात्मक दुवैथरी प्रतिक्रिया पाइरहेको छ ।
भिडियो फिल्म हलभित्र खिचिएको हो, जहाँ विराज र समीरलाई सोफामा बसेको देख्न सकिन्छ । विराजले आफ्नो स्वागतका लागि हलका कर्मचारीले दिएको पुष्पगुच्छालाई रिसाउँदै टेबुलमा फ्याँकेका छन् । उनलाई भिडियोमा आक्रोशित र असन्तुष्ट पनि देख्न सकिन्छ ।
फिल्म प्रदर्शनको तेस्रो सातासम्म पनि पोस्टर नटाँसिएको भन्दै विराज आक्रोशित भएर फूल फ्याँकेको दाबी भिडियोमा गरिएको छ । यो घटना क्यूएफएक्सको नेपालगञ्ज हलमा भएको हो ।
यसबारे क्यूएफएक्सको नेपालगञ्जकी म्यानेजर स्वीकृति तामाङसँग अनलाइनखबरले घटनाबारे जिज्ञासा राखेको थियो । उनले गत सोमबार सामान्य कुरामा दुवै पक्षबीच मिसअन्डस्ट्यान्डिङ भएको र अहिले कुरा मिलिसकेको बताइन् ।
पोस्टरकै बारेमा असमझदारी भएकोतर्फ उनले संकेत गरिन् । सबै फिल्मले हलमा राम्रो कमाइ गरिरहेको पनि उनले बताइन् । ‘अहिले सबै कुरा मिलेको छ’ उनले भनिन् ।विराजसँग भने सम्पर्क स्थापित हुन सकेन ।
विराज निर्देशित दोस्रो फिल्म ‘१२ गाउँ’ अहिले देशव्यापी प्रदर्शन भइरहेको छ ।
प्रतिक्रिया 4