+
+

‘माननीयज्यू, के बोल्या ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते २०:१९

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सार्वजनिक प्रतिक्रियामै प्रयोग गरेको अपशब्द सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

रास्वपा संसदीय दलका उपनेता रहेका श्रेष्ठले आफ्ना पार्टीका नेता–कार्यकर्ता पक्राउ गरिएपछि आक्रोशित बन्दै अपशब्द प्रयोग गरेका थिए । यो व्यवस्थामा शान्तिपूर्ण प्रदर्शनको अधिकार भएपनि प्रहरी हस्तक्षेपको विरोध जनाउदै उनले अपशब्द बोलेका छन् ।

‘शान्तिपूर्ण प्रदर्शन पनि गर्न नपाइने भए त यो व्यवस्था माथि नै हामीले प्रश्न उठाउने बेला भयो त’ श्रेष्ठले भनेका छन्, ‘के तन्त्र हो अब यो, गणतन्त्र हो कि …. तन्त्र हो  ?’ पञ्चायतकै झल्को आउनेगरी प्रहरी हस्तक्षेप भएको पनि उनले बताएका छन् ।

रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झा सार्वजनिक रुपमा आफ्ना सांसदले बोलेको अपशब्द गलत भएको बताउँछन् । तर त्यस्तो शब्द बोलिरहँदाको परिस्थिति पनि बुझ्नुपर्ने उनी तर्क गर्छन् ।

यो विषयमा मैले विराजजीसँग कुरा गरेको थिएँ । उहाँले प्रहरीबाट सांसदमाथि नै हातपात हुने, कठालो समात्ने काम हुन थालेपछि रिसको झोंकमा त्यस्तो बोल्न पुगेको बताउनुभएको छ’, झाले भने ।

त्यसैले अपशब्द प्रयोगको परिस्थिति बुझिदिन झा आग्रह गर्छन् । ‘त्यो बोलीलाई हामी सही भन्दैनौ, तर राज्यले नै त्यस्तो परिस्थिति सिर्जना गर्यो’, उनी भन्छन् ।

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले मंगलबार बालुवाटार क्षेत्रमा कार्यक्रम राखेको थियो । विरोध कार्यक्रम अन्तर्गत बालुवाटार क्षेत्रमा नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य लगायत रचनात्मक कार्यक्रम गर्ने भनिएको थियो ।

तर प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गर्‍यो । पक्राउकै क्रममा श्रेष्ठले अपशब्द प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?