+
+

सूर्यदर्शन सहकारी पीडितले भने : झुटा लाञ्छना लगाइयो, हामी सहन नसक्ने अवस्थामा पुग्नसक्छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १५:२५
फाइल तस्वीर

२३ कात्तिक, पोखरा। पोखराको सूर्यदर्शन सहकारी पीडितहरुले रास्वपाका नेताहरुले झुटा लाञ्छना लगाएको गुनासो गरेका छन् । आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनीहरुले सामाजिक सन्जाल र मिडियाहरुमा विना प्रमाण समाचार सम्प्रेषण गरिएको गुनासो समेत गरे ।

‘झुठा लान्छना लगाए, गलत किसिमका समाचार सम्प्रेषण गरे भने हाम्रो पारिवारिक जीवनलाई असर पर्छ, सामाजिक गतिविधिमा असर पर्छ । हामी सहन नसक्ने अवस्थामा पनि पुग्न सक्छौं,’ सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले भने, ‘हाम्रो पछि लागेर यस्तो गतिविधि गर्दैगर्दा प्रमाण छ भने त्यो प्रमाणसहित ल्याउनुपर्यो, हैन भने सामाजिक सन्जालमा एउटा संघर्ष समितिको अध्यक्षसँग या संघर्ष समितिको बचतकर्तासँग पार्टी नै यसरी लागेर के गर्न खोजेको हो ?’

रास्वपाका आधिकारिक अकाउन्टबाट समेत भ्रम फैलाइएको भन्दै उनले त्यसविरुद्ध प्रहरीमा उजुरी गरेको जानकारी दिए । ‘पार्टीको विचार कस्तो खालको हो भन्ने बुझ्न नसकेको अवस्था छ । त्यहीभएर हामी प्रहरी र साइबर अपराधमा गएर मुद्दा दायर गरेका छौं, जाहेरी दिएका छौं, भएन भने त्योभन्दा माथि पनि जान सक्छौं’ उनले भने ।

उनले अगाडि भने, ‘सबुत प्रमाणै छ भने ल्याउनुस्, खुट्टा ढोगौंला, माफी मागौंला, कुनै समस्या भएन । तर विना आधार सामाजिक सन्जालमा हाम्रो चरित्र हत्या गर्ने काम हुन्छ भने हामी चुप लागेर बस्दैनौं । म नितान्त चुप लागेर बस्दैन । चाहे मैले पचासवटै जाहेरी हाल्न किन नपरोस्, सय वटै जाहेरी किन हाल्न नपरोस् म हरहमेसा तयार छु ।’

संघर्ष समितिका अध्यक्ष श्रेष्ठले कांग्रेस, एमाले, रास्वपा लगायत दलहरु मिलेर जिबी राईलाई जोगाउन खोजेको आशंका समेत गरे । ‘सबै मिलेर जिबी राईलाई संरक्षण गर्न खोजेको हो कि जस्तो देखिन्छ,’ उनले भने, ‘जीबी राईकै सम्पत्तिबाट बचत फिर्ता दिने भए किन ढिलाई गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?