+
+

बंगलादेशले भारतलाई डेढ खर्ब बिजुली बिल तिर्न बाँकी

बंगलादेशमा बिजुली निर्यात अवसर नेपालको ऊर्जा क्षेत्रका लागि निकै महत्त्वपूर्ण उपलब्धि भए पनि बंगलादेशको आर्थिक अवस्थाका कारण नेपालले बिजुलीको बिल भुक्तानी नपाउने हो कि भन्ने शंका भने गर्न थालिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १९:०९

३० कात्तिक, काठमाडौं । बंगलादेशले भारतबाट बिजुली आयात गरेबापत १ अर्ब अमेरिकी डलरभन्दा बढी (करिब १ खर्ब ३५ अर्ब रुपैयाँ) बक्यौता तिर्न बाँकी छ ।

बंगलादेशले अमेरिकी डलर अभाव कारण देखाउँदै भारतीय कम्पनीहरूलाई बिजुली बिल बक्यौता भुक्तानी गर्न नसकेको रोयटर्सले जनाएको छ ।

बंगलादेशले भारतीय कम्पनीहरूलाई तिर्नुपर्ने कुल बक्यौतामध्ये ८० करोड डलर निजी कम्पनी अडानी पावरको मात्रै रहेको छ । बंगलादेशले बक्यौता भुक्तानी नगरेपछि अडानीले बंगलादेशलाई ६० प्रतिशत विद्युत् कटौती गरेको द इकोनोमिक टाइम्सले लेखेको छ ।

झारखन्डको गोड्डा प्लान्टबाट अडानी पावरले बंगलादेशलाई १ हजार ६ सय मेगावाट विद्युत् निर्यात गर्दै आएको थियो । त्यसलाई पहिले नै घटाएर ७ सयदेखि ७ सय ५० मेगावाटमा झारिएको थियो ।

यसमा पनि बिहीबारदेखि ५ सय २० मेगावाट मात्रै निर्यात गर्न थालेको बंगलादेश पावर डेभपलमेन्ट बोर्ड स्रोत उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ ।

यसबाहेक पावर ट्रेड कर्पोरेसन इन्डिया र एसईआईएल इनर्जी इन्डियालाई बंगलादेशले क्रमशः ८ करोड र १९ करोड अमेरिकी डलर बराबर बिजुली बिल तिर्न बाँकी रहेको पनि रोयटर्सले जनाएको छ ।

नेपालले पनि शुक्रबारदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात थालेको छ । नेपाल–भारत–बंगलादेशबीच त्रिदेशीय सम्झौता अनुसार नोभेम्बर १५ (आज) सम्म मात्रै यो याममा विद्युत् निर्यात हुनेछ ।

नेपालको ऊर्जा क्षेत्रमा यो निकै महत्त्वपूर्ण उपलब्धि भए पनि बंगलादेशको आर्थिक अवस्थाका कारण नेपालले बिजुलीको बिल भुक्तानी नपाउने हो कि भन्ने शंका भने गर्न थालिएको छ ।

सन् २०२२ देखि जारी रुस–युक्रेन युद्धका कारण इन्धन मूल्य बढेपछि बंगलादेशले विदेश तथा विदेशी कम्पनीलाई भुक्तानी गर्न संघर्ष गरिरहेको छ । हालै त्यहाँ राजनीतिक उथलपुथल भएपछि त्यो समस्या अझै चुलिएको छ ।

अहिले बंगलादेशले ५ अर्ब अमेरिकी डलर वित्तीय सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्राकोष लगायतलाई अनुरोध गरिरहेको छ । यसअघि बंगलादेशको अर्थतन्त्रको उद्धारका लागि आईएमएफले ४.७ अर्ब अमेरिकी डलर दिएको थियो ।

बंगलादेशले भारतको आफ्नो कुल ऊर्जा खपतको २० प्रतिशत भारतबाट आयात गर्छ । उसले करिब एक वर्षदेखि बिजुली बिल तिर्न नसकेको रोयटर्सले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?