+

स्टार स्पोर्ट्सले गर्दा विदेशी खेलाडी ल्याउन सम्भव भयो : पारस

२०८१ कात्तिक  ३० गते २१:२६ २०८१ कात्तिक ३० गते २१:२६
स्टार स्पोर्ट्सले गर्दा विदेशी खेलाडी ल्याउन सम्भव भयो : पारस

३० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि स्टार स्पोर्ट्ससँग प्रसारण सम्झौता भएसँगै यसले नेपाली क्रिकेट क्षेत्रमा नयाँ तरंग ल्याएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार कार्यक्रमको आयोजना गरी मुख्य प्रायोजक र प्रसारण साझेदारको बारेमा जानकारी गराएको थियो ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण चर्चित भारतीय कम्पनी स्टार स्पोर्ट्स नेटवर्कसँग भएको छ । यस नेटवर्कबाट विश्वकप क्रिकेटदेखि आइपीएल क्रिकेटसम्म प्रत्यक्ष प्रसारण हुने गरेको छ ।

सम्झौताको रकमबारे स्पष्ट जानकारी भने खुलाइएको छैन । क्यानका सचिच पारस खड्काले यसबारेमा भने, ‘स्टार स्पोर्ट्समा खेल देखाउनु भनेको एउटा गाह्रो कुरा नै थियो, अहिलेको लागि हामीले नै केही मूल्य दिनुपर्ने हुन्छ ।’

‘हामी नेपाली क्रिकेटलाई विश्वसामू चिनाउन चाहन्छौं, हाम्रो यस लिगमा खेल्ने नेपाली खेलाडीहरुको विभिन्न उपलब्धिहरू विश्वभर हेरिने छ’ पारसले भने, ‘अनि अर्को कुरा स्टार स्पोर्ट्स नभएको भए बहुचर्चित खेलाडीहरु ल्याउन पनि सम्भव हुने थिएन । अहिलेलाई केही बाधाहरुले गर्दा हामीले यति गरेका छौं, अर्कोपटक योभन्दा ठुला नामहरु पनि आउँछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

एनपीएलको ब्रोडकास्टिङ राइट्स वापत क्यानले पैसा पाउनु पर्ने भएपनि यस पटक स्टार स्पोर्ट्सलाई पैसा दिएर नै प्रत्यक्ष प्रशारण गराउन लागिएको हो । क्यानले एनपीएलको कमर्सियल राइट ब्राण्ड लजिकलाई विक्री गरेपनि स्टार स्पोर्ट्सलाई नै क्यानले पैसा तिरेर नै ल्याउन लागेको हो ।

त्यसैगरी एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंकसँग ५ वर्षको सम्झौता भएको बताइएको छ । हालसम्मकै रेकर्ड-ब्रेकिङ प्रायोजन सम्झौता भएको जनाउँदै सम्झौता रकम भने खुलाइएको छैन ।

कार्यक्रममा बोल्दै बैंकका सिइओ सुन्दरप्रसाद कँडेलले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरे । ‘अब हाम्रा घरेलु खेलाडीहरूले विदेशीहरूबाट सिक्ने अवसर प्राप्त गर्ने छन् र राम्रो अनुभव बटुल्न सक्छन्’ उनले भने, ‘मलाई पनि क्रिकेट मनपर्छ, हामी अब विस्तारै भारत र पाकिस्तानसँगै खेल्ने स्तरमा पुग्न सक्छौं, नेपाली टोलीलाई शुभकामना पनि दिन चाहन्छु ।’

‘अर्को कुरा स्टार स्पोर्ट्समा यो खेलहरू प्रसारण भएपछि यसले अन्तर्राष्ट्रिय स्तरको चर्चा पाउनेछ, हामी सबैको सहयोगले क्रिकेटको संरचना विकासमा लगानी गर्न सके हामी भविष्यमा ठुलाठुला खेलहरु पनि आयोजना गर्न सक्छौं’, कँडेलले थपे ।

त्यसैगरी बैंकका अध्यक्ष मनोज कुमार केडियाले नेपालमा हुँदै गरेको क्रिकेटको विकासमा आफ्नो ध्यान गएको बताए । संरचनाको विकासमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘हाम्रा क्रिकेट क्षेत्रमा लागेका साथीभाइहरूले क्रिकेटलाई आफ्नो करियरको रूपमा विकास गर्न सकुन्, यस प्रतियोगिताले धेरै ट्यालेन्टहरूलाई मौका दिने छ र अन्तर्राष्ट्रिय खेलाडीको पनि आगमनले निकै फाइदा पुग्ने छ । आगामी दिनहरुमा एनपीएलको मद्दतले नेपाली क्रिकेटले विकासमा फड्को मार्ने छ ।’

एनपीएल पारस खड्का स्टार स्पोर्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय