+
+

लुम्बिनीका प्रदेश प्रमुख भन्छन् : ३ प्रदेश र ५०० पालिका भए पुग्छ

लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले संघीय सांसद र मन्त्रीको संख्या आधा घटाउनुपर्ने, राष्ट्रिय सभा, उपराष्ट्रपति, राज्यमन्त्री, उपसभामुखजस्ता पद आवश्यक नभएको धारणा राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १ गते १८:४७

१ मंसिर, बुटवल । लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालमा ७ प्रदेश आवश्यक नभएको तर्क गर्दै तीनवटा मात्र प्रदेश भए पुग्ने बताएका छन् ।

अन्तर धार्मिक सद्भाव संघले बुटवलमा गरेको अन्तर्क्रियामा बोल्दै प्रदेश प्रमुख घर्तीले नेपालमा तीन प्रदेश, ७५ जिल्ला, संघीय सांसद बढीमा एक सय ५० जना, बढीमा १५ जना मन्त्री र ५०० भन्दा कम पालिका भए बनाउनुपर्ने बताएका हुन् ।

प्रदेश प्रमुख घर्तीले राष्ट्रिय सभा, उपराष्ट्रपति, उपसभामुख राज्यमन्त्री जस्ता पद आवश्यक नभएको धारणासमेत राखेका छन् । ‘नेपालमा सात हैन तीन प्रदेश, ७७ जिल्ला होइन पुरानै ७५ जिल्ला भएपुग्छ, संघीय सांसद पनि २७५ चाहिन्न बढीमा एक सय ५० भए पुग्छ, पालिकाहरु ७५३ लाई घटाएर ५ सय भन्दा कम बनाउनुपर्छ, राष्ट्रिय सभा, उपराष्ट्रपति, उपसभामुख राज्यमन्त्री जस्ता पद आवश्यक छैन, हटाउनुपर्छ’, प्रदेश प्रमुख घर्तीले भने ।

उनले अगाडि भने, ‘केन्द्रमा १५ जना मन्त्री भए पुग्छ, कामै नभएका उपराष्ट्रपति, राज्यमन्त्रीहरु हटाउनुपर्छ ।’ प्रदेश प्रमुख घर्तीले फुटाइएका रुकुम र नवलपरासी जिल्लालाई फेरि एउटै बनाउनुपर्ने धारणा राखे । राष्ट्रियसभा र समानुपातिक नेताका तलुवा चाटेर जाने पद भएको प्रदेश प्रमुखले टिप्पणी गरे ।

संविधान सभामा ६०१ जना सांसद बनाउँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई तीनपटक सम्म फोन गरेर सांसद बन्न अनुरोध गरे पनि आफूले काम छैन भनेर नगएको घर्तीले खुलासा गरे ।

नेपालको राजनीतिमा आर्थिक रुपमा कमजोर वर्ग राजनीतिमा लागेर अकूत कमाउने, सुविधाभोगी हुने प्रवृत्ति र अर्कोतिर  धनाढ्यले सांसद र मन्त्री पद किनेर पार्टीहरुलाई नै आफ्नो कब्जामा लिएर सिंगो राजनीतिलाई विकृत बनाएको प्रदेश प्रमुख घर्तीले टिप्पणी गरे ।

‘राजनीतिमा आउँदा केही नभएका नेताहरु सांसद मन्त्री भएपछि विना उद्योग ब्यापार पजेरो प्राडो चढ्ने, करोडौंका घर जग्गाका मालिक कसरी भए ?’, घर्तीले भने, ‘अर्कोतिर धनाढ्य व्यापारीले पैसाको बलमा टिकट पाउने, पैसाकै बलमा चुनाव जित्ने, सांसद र मन्त्री बन्ने परिपाटी भयो, राजनीति भ्रष्टहरुको चंगुलमा गयो यो सबै ठीक होइन त्यही भएर म पार्टी सभापतिले पटक पटक सांसद बन भन्दा पनि नगएको हुं ।’

घर्तीले नेपालको राजनीति सही दिशामा नगएको र जनता सन्तुष्ट नभएको धारणा राख्दै तर  राजतन्त्रतिर फर्किन सम्भव नभएको बताए ।

उनले आफू पदबाट राजीनामा दिन तयार रहेको तर देशलाई हानी नोक्सानी गर्ने कुरा स्वीकार्य नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?