+
+

जाँदाजाँदै बाइडेनले दिए युक्रेनलाई मिसाइल प्रयोगको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते १३:१५

३ मंसिर, काठमाडौं । अमेरिकाले पहिलोपटक युक्रेनलाई रुसमा आक्रमण गर्नका लागि लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको छ ।

बीबीसीको अमेरिकी सहयोगी संस्था सीबीएसका अनुसार बाइडेन प्रशासनले युक्रेनलाई रुसभित्र सीमित आक्रमणका लागि अमेरिकी सेनाको सामरिक मिसाइल प्रणाली प्रयोग गर्न सक्ने बताएको हो ।

आर्मी टेक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) अमेरिकी रक्षा कम्पनीद्वारा निर्मित एक सुपरसोनिक ब्यालिस्टिक मिसाइल प्रणाली हो।

रसिया-युक्रेन युद्धले भयानक रुप लिने डरले त्यस्ता आक्रमणहरूलाई अनुमति दिन अस्वीकार गरिँदै आएको भएपनि नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुभन्दा करिब २ महिनाअघि जो बाइडेनले यस्तो निर्णय लिएका छन् ।

युक्रेनले एक वर्षभन्दा बढी समयदेखि युक्रेनभित्र रुसी कब्जामा रहेका क्षेत्रहरूमा आर्मी टेक्निकल मिसाइल प्रणाली एटीएसीएमएस प्रयोग गर्दै आएको छ। युक्रेनले क्रिमियन प्रायद्वीपमा हवाइ अड्डालाई र जापोरिझियामा रूसी सैन्य आधारहरूमाथि आक्रमण गर्न एटीएसीएमएस प्रयोग गर्दै आएको छ।

तर अमेरिकाले अहिलेसम्म युक्रेनलाई रुसभित्र लामो दुरीका मिसाइलहरू प्रयोग गर्न भने अनुमति दिएको थिएन । लकहिड मार्टिन ब्यालिस्टिक मिसाइलहरू युक्रेनलाई प्रदान गरिएको सबैभन्दा शक्तिशाली मिसाइलहरूमध्ये एक हो, जसले ३०० किलोमिटर क्षेत्रसम्म प्रहार गर्न सक्छ ।

कुर्स्क सीमा क्षेत्रमा रुसलाई मद्दत गर्न उत्तर कोरियाली सेनाको तैनाथीले अमेरिका यो निर्णयमा पुगेको विभिन्न सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । कुर्स्क युक्रेन र रुसको सिमानामा पर्छ र यहाँ युक्रेनले अगस्टदेखि करिब एक हजार वर्ग किलोमिटर क्षेत्र ओगट्दै आएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार युक्रेनले अब यी क्षेप्यास्त्रहरू रुसी र उत्तर कोरियाली सेनाको आक्रमणबाट बच्‍न प्रयोग गर्न सक्नेछ । कुर्स्कमा रुसले ओगटेको क्षेत्रलाई पुनः कब्जा गर्ने उद्देश्यसहित यो आक्रमण केही दिनभित्रै सुरु हुन सक्छ।

बाइडेनको कार्यकाल अब करिब दुई महिना बाँकी छ र नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यस कुरालाई निरन्तरता दिन्छन् वा दिँदैनन् भन्ने प्रश्न छ ।

ट्रम्पनिकट केही व्यक्तिहरूले भने बाइडेनको यो निर्णयको आलोचना गरिरहेका छन् । ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले सामाजिक सञ्जालमा लेखेका छन्, मेरा बुबाले विश्वमा शान्ति स्थापना गर्ने र मानिसहरूको जीवन बचाउने मौका पाउनुअघि नै सेना र रक्षा विभागले तेस्रो विश्वयुद्ध सुरू गर्ने संकेत गरिरहेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकाको यो कदमप्रति कडा प्रतिवाद गर्दै रुसमाथि आक्रमण गर्न पश्चिमी हतियार प्रयोग गर्न दिएमा रुसले यसलाई युक्रेनको युद्धमा नेटोको प्रत्यक्ष संलग्नताको रूपमा हेर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?