४ मंसिर, काठमाडौं । नेपाली अल्ट्रा धावक प्रिया राईले मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि जितेकी छन् ।
मलेसियाको टिपिङमा भएको रेस अन्तर्गत प्रियाले महिला ५४ किमीतर्फ पहिलो हँदै उपाधि जितेकी हुन् । उनले निर्धारित दूरी ६ घण्टा ५० मिनेटमा पूरा गरिन् । रेसमा एक हजार भन्दा बढी धावकको सहभागिता रहेको थियो ।
खराब मौसममा कारण रेस केही समय प्रभावित बनेको थियो । आयोजकले रनरहरुलाई डेढ घण्टा चेक पोइन्टमा रोकेर पुन: रेस सुरु गराएको थियो ।
स्वीट्जरल्याण्डकी रेबेका होर्मान दोस्रो र दक्षिण कोरियाकी सोजी पार्क तेस्रो भइन् ।
प्रियाले मलेसियामा आफूले दोस्रो पटक दौडेको र यो कठिन भएको बताइन् । ‘यो मलेसियामा दोस्रो पटक थियो, र यहाँ ताइपिङमा पहिलो पटक । यो मैले अनुभव गरेको सबैभन्दा भिजेको दौड थियो,’ प्रियाले भनिन्, ‘म मेरो खुट्टा र हातले अन्तिम उक्लिरहेको थिएँ, यो धेरै गाह्रो थियो ।’
उनले मलेसियामा दौडन आफूलाई मन पर्ने बताइन् । ‘मलाई मलेसियामा दौड गर्न मन पर्छ, यसको आफ्नै प्रकृतिको सुन्दरता छ । म म्याराथन दौडन्थे, तर म घाइते भइरहेँ । त्यसैले ट्रेलहरूमा स्विच गर्ने निर्णय गरें र कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।’
पछिल्लो समयमा प्रियाले अन्तर्राष्ट्रिय ट्रेल रेसमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।
गत असोजमा मलेसियामै भएको एसिया ट्रे मास्टर्स रेसको उपाधि जितेकी प्रियाले कात्तिकमा दक्षिण कोरियामा भएको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपको सर्ट रेस (४० किमी) महिलातर्फ दोस्रो भएकी थिइन् ।
प्रतिक्रिया 4