+
+

लरेन्स विश्नोईको नाममा धम्की दिएको भन्दै सीआईबीमा चार जनाको जाहेरी

भारतीय प्रहरीको समेत सहयोग लिएर हुँदैछ अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १७:०४

५ मंसिर, काठमाडौं । भारतको तिहाड जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्की आएको भन्दै चार जनाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएका छन् ।

उनीहरुले आफूहरुलाई दुबई र भारतको नम्बरबाट फोन गरेर धम्की व्यवहोरासहित सीआईबीमा जाहेरी दिएको ब्यूरोका एसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए । उनका अनुसार, यो मामलामा प्रहरीले एक साता अघिबाटै अनुसन्धान गरिरहेको छ ।

चार जनाको मात्र जाहेरी परेपनि अन्य व्यवसायी, कर्मचारीसहित विभिन्न व्यक्ति समेत धम्की आएको सूचना रहेको प्रहरीले जनाएको छ । विश्वोई अहिले भारतको सबैभन्दा कडा सुरक्षा रहने तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ ।

पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेल भरतपुरमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटकपटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका छन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार, नेपालमा दिइएका धम्कीमा पनि उनको संलग्नता भएजस्तो देखिँदैन । उनको नाम लिएर अरु कसैले धम्क्याएको हुनसक्ने अधिकृतहरुको अनुमान छ ।

यस्तै किसिमका धम्की झापाका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाममा पनि आउने गरेको भन्दै सीआईबीसम्म गुनासो पुगेको छ । एक व्यवसायीले भने त्यसरी आएको धम्कीमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानलाई सहयोग गर्न भनिएको छ ।

‘प्रसाईंलाई सहयोग गर्नु भनेकाले विश्नोईको नाममा अरुले नै असुली गर्न खोजेको हुनसक्छ’, एक अनुसन्धान अधिकृतले भने, ‘हामीले भारतीय प्रहरीको समेत सहयोग लिएर अनुसन्धान गरिरहेका छौं ।’

प्रसाईंलाई प्रहरीले मंगलबार विद्यतीय अपराध नियन्त्रण ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ गरेको छ । योसँगै धम्कीका मामलासम्बन्धी अनुसन्धानलाई समेत प्रहरीले प्राथमिकता दिएको छ ।

सीआईबीका प्रमुख एआईजी दिपक थापाका अनुसार, विद्युतीय अपराध नियन्त्रण ऐन विपरितको कसुरमा मातहतको साइबर ब्यूरोले अनुसन्धान गर्नेछ भने अन्य विषयमा सीआईबीबाट अनुसन्धान हुनेछ ।

विदेशबाट धम्की आएको विषयमा समेत जाँच गर्न भने प्रहरीको विशेष ब्यूरोले पनि सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?