+
+

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १८:०७

७ मंसिर, काठमाडौं । नेपालमा पहिलोपटक स्वास्थ्य अनुसन्धान आचारसंहिता विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म ‘फोरम फर इथिकल रिभ्यु कमिटी इन द एशिया एन्ड वेस्टर्न प्यासिफिक रिजन’ (फरक्याप) को २४ औं शिखर सम्मेलन काठमाडौं आयोजना गर्न लागेको हो ।

परिषद्ले उक्त सम्मेलनको विषयमा पत्रकार सम्मेलन गर्दै फरक विषयवस्तुमा विश्वका विज्ञ तथा दिग्गज व्यक्तिहरूको सहभागिता हुने जनाएको छ ।

‘उत्तरदायी अनुसन्धान : अधिक्तम लाभ’ नारा रहेको सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरू, अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू, प्राज्ञिक संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको महत्वपूर्ण उपस्थिति रहने परिषद्का सदस्यसचिव डा. प्रमोद जोशीले जनकारी दिए ।

‘उक्त सम्मेलनले विश्वमा भइरहेका नवीनतम् विषयहरूको छलफल विमर्शलाई सम्बन्धित निकायमा पुर्‍याउन मद्दत गर्दछ । साथै, समाजलाई अनुसन्धानबाट हुने फाइदा बढाई जोखिम न्यूनीकरण गर्न सहयोग हुने आशा राखिएको छ,’ डा. जोशीले भने ।

उक्त सम्मेलन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने कार्यसूची छ । झण्डै ६ सयको हाराहारीमा स्वदेशी तथा विदेशी विज्ञहरूको भौतिक उपस्थिति रहने परिषद्ले जनाएको छ । सम्मेलनमा विश्वका अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारत लगायत २३ देशका सहभागीहरू प्रत्यक्ष तथा २ सयभन्दा बढी सहभागीले भर्चुअल सहभागिता जनाउनेछन् ।

सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा प्राप्त भएका जम्मा ३०० वटा अब्स्ट्र्याक्ट मध्येबाट अन्तर्राष्ट्रिय अब्स्ट्र्याक्ट सेलेक्सन कमिटीबाट निर्धारित मापदण्ड अनुरूप रहेर ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतीकरण छनोट गरिएको छ ।
सोमध्ये ६१ वटा प्रस्तुतीकरण अन्तर्राष्ट्रिय विज्ञबाट हुनेछ भने २९ वटा प्रस्तुतीकरण राष्ट्रिय विज्ञहरूले गर्नेछन् ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेधनाथ धिमालले यस सम्मेलनले स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न, असल आचारसंहिता र संस्कारको विकास गर्ने, गुणस्तरीय तथ्यांक संकलन र सम्प्रेषण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सम्मेलनले अनुसन्धानबाट प्राप्त हुने लाभलाई नीति निर्माण कार्यमा समेट्न प्रोत्साहन तथा पैरवी गर्ने अपेक्षा रहेको धिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?