+
+

वेदान्त–विज्ञानबारे दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते २१:००

९ मंसिर, काठमाडौं । जीवनको उत्पत्ति र विकासक्रममा वेदान्त र विज्ञानबीच संवाद विषयक दुई दिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ । नेपाल, भारत र अमेरिकाका करिब ३० जना आध्यात्मिक चिन्तक र विभिन्न विश्वविद्यालका प्राध्यापकहरूद्वारा कार्यपत्र प्रस्तुत गरी सम्मेलन सम्पन्न भएको हो ।

आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभा नेपाल, श्री चैतन्य सारस्वत संस्था पश्चिम बंगाल भारत र सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको आयोजना तथा अक्षरा स्कुलको सहआयोजनामा काँडाघारीस्थित अक्षरा स्कुलमा सो सम्मेलन शनिबार सुरू भएको थियो ।

सम्मेलनमा नेपाल, भारत र अमेरिकाबाट गरी करिब ४५० जनाको सहभागिता रहेको सहआयोजक संस्था अक्षरा स्कुलले जनाएको छ । उद्घाटन सत्रमा प्रमुख अतिथि कार्कीले संवादका माध्यमबाट अध्यात्म र विज्ञानको क्षेत्रमा मात्र नभई जीवनको अस्तित्व र ब्रह्माण्डको गहिरो अर्थबारे नयाँ अवधारणा प्रदान गर्ने बताए ।

सहआयोजक संस्था अक्षरा स्कुलकी कार्यकारी निर्देशक अन्जु भट्टराईले नयाँ पुस्तामा सनातन परम्परा एवं संस्कृतिको उचित हस्तान्तरण नहुँदा पूर्वीय संस्कार र सभ्यता कमजोर बन्दै गएको भन्दै नयाँ पुस्तामा आफूभित्रको ब्रह्मको पहिचान गराएर अगाडि बढ्न प्रेरणा दिने उद्देश्यले सम्मेलन आयोजना गरेको बताइन् ।

उद्घाटन समारोहका सभापति एवं सम्मेलनका निर्देशक भारत पश्चिम बंगालस्थित चैतन्य सारस्वत मठका आचार्य डा. भक्ति निष्काम सन्त माहाराजले जैविक र रासायनिक प्रक्रियामा आत्मतत्त्व सम्मिश्रणबाट जीवनको उत्पत्ति र विकास भएको प्रष्ट पारे । साथै डार्बिनको विकासवादी सिद्धान्तले मात्र जीव उत्पत्ति र विकासको सिद्धान्त व्याख्या गर्न नसकिने भएकाले वैदिक अवधारणालाई समेट्नुपर्नेमा प्राध्यापक डा. मोहन खरेललगायतका वक्ताहरूले जोड दिएका थिए ।

जीवनको उत्पत्ति र विकासक्रमको बुझाइमा वेदान्तको योगदान, जीवनको उत्पत्ति र विकासक्रमको सिद्धान्तमा फरक धारणाहरू, एक्काइसौं शताब्दीमा जैविक अध्ययनको अवधारणात्मक अनुभूति, एक कोषीय जीवको उन्नत चेतना र अनुभूति, जैविक र अजैविक प्रणालीको गहिरो अवधारणात्मक बुझाई विषयमा त्रिविका प्राध्यापक डा. रजनी मल्ल, प्राध्यापक डा. मोहन खरेल, चैतन्य सारस्वत संस्थाका डा. भक्ति विज्ञान मुनि माहाराज, भारतका विभिन्न विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक डा. एमबी जगन्नाधम, डा. मोहन राव, प्राध्यापक डा. कुमार भान्का, डा. सुमंगलादेवी दासी, कृष्णकेशव दास, डा. रमेशबाबु गोगालगायत प्रस्तोताले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?