
१० मंसिर, हेटौंडा । बागमती प्रदेशको सदरमुकाम हेटौंडामा अत्यधिक तीन पांग्रे सवारीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । साँघुरो सडकमा क्षमताभन्दा बढी गुडेका तीन पांग्रे सवारीलाई व्यवस्थित गर्दै चुस्तदुरुस्त ट्राफिक व्यवस्थाप गर्ने हेटौंडा उपमहानगरको योजना कछुवाको गतिमा छ । दुई वर्षअघि तीन पांग्रे सवारी व्यवस्थापनको काम थालेको उपमहानगरले सोमबार मात्रै सेवा केन्द्र स्थापना गरेर पुनः त्यही कामलाई निरन्तरता दिएको छ ।
हेटौंडा–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि पुरानो नापतौल (काँटा) भवनबाट सोमबारदेखि तीन पांग्रे (अटो मयुरी, ट्याम्पो लगायत) सवारी व्यवस्थापन गर्न कार्यालय सञ्चालनमा ल्याइएको हो ।
मेयर मीनाकुमारी लामाले सेवा केन्द्रको उद्घाटन गरिन् । मेयर लामाले दुई वर्षअघि १९ साउन २०७९ मा तीन पांग्रे सवारी व्यवस्थापनका लागि भन्दै सोही ठाउँमा अटो, मयुरीमा स्टिकर टाँसेकी थिइन् । त्यतिबेला १ हजार ६ सय ७६ वटा सवारीमा हरियो स्टिकर टाँस गरिएको थियो ।
हरियो स्टिकर टाँस गरेका अटो मयुरी मात्रै बजारमा गुड्न पाइने नियमको लागु गरिएको थियो । तर, एक महिनापछि त्यो नियम कार्यान्वयनमा चासो घट्दै गएको थियो ।
७ पुस २०७६ को उपमहानगरको कार्यपालिका बैठकबाट हेटौंडा उपमहानगर क्षेत्रमा थप तीन पांग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय भएको थियो । त्यसपछि विभिन्न पालिका तथा अन्यत्र जिल्लामा सञ्चालन अनुमति (परमिट) लिएर तीन पांग्रे सवारीसाधन हेटौंडा बजार क्षेत्रमा अनधिकृत रुपमा सञ्चालन भइरहेका थिए ।
त्यसलाई व्यवस्थापन गर्न मेयरमा निर्वाचन भएपछि लामाले स्टिकर टाँसेर योजना कार्यान्वयनमा ल्याएकी थिइन् । हेटौंडामा तीन पांग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती छ । तीन पांग्रे सवारीसाधनलाई व्यवस्थापन गर्न यसअघि पालिकाले गरेको प्रयास प्रभावकारी नभएको परिणामले नै देखाएको छ । सडक विस्तारको दुई दशक पुरानो योजना पनि कायान्वयनमा जान सकेको छैन ।

अब सेवा केन्द्र नै खोलेर काम सुरु गर्न खोजिएकाले विगतको प्रयासले मूर्तरूप लिने अपेक्षा सरोकारवालाको छ । यद्यपि, नतिजाका लागि केही समय पर्खिनु पर्नेछ । सेवा केन्द्रको उद्घाटन गर्दै सुन्दर नगरलाई थप व्यवस्थित गर्दै लैजानका लागि तीन पांग्रे सवारीको व्यवस्थापन जरुरी रहेको मेयर लामाले बताइन् ।
पटक-पटकको सर्वपक्षीय छलफलपछि तीन पांग्रे सवारी व्यवस्थापनमा अहिले नियमित कामको वातावरण तयार भएको उनको दाबी छ ।
मेयर लामाले केही सवारीका लागि स्टिकर हस्तान्तरण गरिन् । सेवा केन्द्रले अन्यत्र जिल्लामा सञ्चालन अनुमति लिएर हेटौंडामा चलिरहेका सवारी नियन्त्रणका लागि आवश्यक समन्वय गर्दै नगर क्षेत्रभित्र मात्रै सञ्चालन अनुमति व्यवस्था, स्टिकर टाँसको काम गर्ने बताइएको छ ।
वाह्य जिल्लाबाट आएका सवारीका कारण यहाँका तीन पांग्रे सवारी चालक मारमा परेको गुनासो आएकाले उपमहानगले स्टिकर टाँस गरी स्थानीय सवारी व्यवस्थापनको काम गरेको तीन पांग्रे सवारी व्यवस्थापन समितिका संयोजक सविन न्यौपानेले बताए ।
अहिले उपमहानगरले थालेको कामपछि अब स्टिकर टाँस नभएका सवारीलाई कडाइका साथ नियन्त्रण गरिने जनाइएको छ । एक महिनासम्म स्टिकर टाँसको समय दिइको छ ।
अब पनि अटेर गरेमा ट्राफिक र नगर प्रहरीको समन्वयमा कडाइका साथ अनुगमन र नियन्त्रण गरिने न्यौपानेले बताए ।
उपमहानगर क्षेत्रभित्र तीन पांग्रे सवारीको रुट अध्ययन पश्चात वैज्ञानिक भाडा दर निर्धारण गर्ने योजना उपमहानगरले बनाएको छ । हाल हेटौंडामा ५ हजार भन्दा बढी तीन पांग्रे सवारी सञ्चालनमा रहेको आंकलन छ ।
सोमबार आफ्नो सवारीमा स्टिकर प्राप्त गरेपछि हेटौंडा–४ का टिकाबहादुर थापाले उपमहानगरले गरेको काम राम्रो भएको बताए ।
प्रतिक्रिया 4