+

जनकपुर बोल्ट्सका विदेशी खेलाडी : विश्वचर्चित नीशमदेखि अनुभवी मक्सुदसम्म

२०८१ मंसिर  ११ गते ९:५८ २०८१ मंसिर ११ गते ९:५८
जनकपुर बोल्ट्सका विदेशी खेलाडी : विश्वचर्चित नीशमदेखि अनुभवी मक्सुदसम्म

११ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आगामी मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरू हुँदै छ ।

८ टोलीको सहभागिता रहने प्रतियोगितामा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टिमको रूपमा जनकपुर बोल्ट्स खेल्दै छ ।

यस टिमको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यसैगरी उनीसँग राष्ट्रिय टोलीकै अर्का ओपनर तथा विकेटकिपर अनिल शाह छन् भने स्पीनर ललित राजवंशी पनि छन् ।

त्यसैगरी टिमको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके छन् । दासानायके नेपाली क्रिकेटमा एकदमै चर्चित नाम हो । उनले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए जुन समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमा समेत छनोट भएको थियो ।

एनपीएलका लागि हरेक टिमले कम्तिमा चार खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ । खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी टोलीले अनुबन्ध गर्न पाउँछ ।

जनकपुरले पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ जसमा न्युजिल्याण्डका चर्चित खेलाडीदेखि पाकिस्तानका अनुभवी खेलाडीसम्म छन् । जनकपुरले न्युजिल्याण्डका जिमी नीशम, पाकिस्तानका सोएब मकसुदसहित अमेरिकामा जोसुआ ट्रोम्प, मोहमद मोहसिन र लाहिरु मिलान्था अनुबन्ध गरेको छ ।

कस्ता छन् जनकपुरका विदेशी खेलाडी ?

जिमी नीशम

न्युजिल्यान्डका ३४ वर्षीय अनुभवी ब्याटिङ अलराउण्डर नीशम विश्व क्रिकेटमा परिचित नाम हो । उनले न्युजिल्याण्डका लागि टेस्टदेखि टी२०सम्म सबैखाले फर्म्याटमा खेलिसकेका छन् ।

बाँयाहाते ब्याटर नीशमको फर्स्ट क्लास र लिस्ट ए मा पनि उनको राम्रो अनुभव छ । उनले फर्स्ट क्लासमा ६८ खेलमा ३ हजारभन्दा धेरै रन बनाएका छन् । दाँयाहाते मिडियम पेस बलिङ पनि गर्ने नीशमले १२४ विकेट पनि लिएका छन् ।

त्यस्तै उनले न्युजिल्यान्डका लागि टी२०आईमा ७९ खेल खेल्दा ९४४ रन बनाएका छन् । त्यसैगरी सबैखाले टी२० मा गरेर २८२ खेल खेल्दा ४०९२ रन बनाएका छन् ।  सबैखाले टी२०मा २२३ विकेट पनि लिएका छन् ।

उनले आईपीएल, बीबीएल, भाइटालिटी ब्लास्ट, द हन्ड्रेडलगायत थुप्रै फ्रेन्चाइज लिगहरू खेलेका छन् ।

लाहिरु मिलान्था

श्रीलंकामा जन्मिएर अमेरिकाबाट खेल्दै आएका ३० वर्षीय विकेटकिपर ब्याटर मिलान्था सिनियर टोलीबाट नखेलेका तर अनुभवी खेलाडी हुन् ।

उनको फर्स्ट क्लासमा राम्रो प्रदर्शन छ । उनले फर्स्ट क्लासमा ६६ खेल खेल्दा ४५०० भन्दा धेरै रन बनाएका छन् । सबैखाले टी२०मा ४६ खेल खेल्दा १०८२ रन बनाएका छन् ।

उनले अमरिकी माइनर र मेजर लिग क्रिकेट खेलेका छन् भने यसअघि नेपालमै भएको नेपाल टी२० लिगमा लुम्बिनी अल स्टार्सबाट खेलेका थिए ।

जोसुआ ट्रोम्प

अमेरिकाका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन् । उनले दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्न सक्छन् ।

अमेरिकाको घरेलु माइनर क्रिकेट लिगहरूमा खेल्दा राम्रो प्रदर्शन गरेका उनले मुख्य लिगमा कम खेल खेलेका छन् भने सिनियर टोलीबाट खेल्न बाँकी छ ।

उनले अमेरिकी हौस्टन प्रिमियर लिग टी२० मा ७ खेलमा ३११ रन बनाएका छन् जसमा एकै खेलमा १९१ रन बनाएका थिए । त्यसैगरी सेन्ट्रल टेक्सास लिग टी२०मा १८ खेलमा ७३० रन बनाएका छन् । उनले यी प्रतियोगिताहरूमा १७० माथिको स्ट्राइक रेटले खेल्ने गरेका छन् ।

उनले अमेरिकी मेजर लिग टी२०मा ८ खेल खेल्दा ९४ रन बनाएका छन् ।

मोहम्मद मोहसिन

मोहसिन अमेरिकाको लिगमा खेल्ने पाकिस्तानी खेलाडी हुन् । २८ वर्षीय मोहसिन बलिङ अलराउण्डर हुन् । उनले लेग ब्रेक गुग्ली बल गर्छन् भने बाँयाहाते ब्याटिङ पनि गर्न सक्छन् ।

उनले सबैखाले टी२०मा ३० खेल खेल्दा २२ विकेट लिएका छन् भने १७९ रन बनाएका छन् ।

उनले क्यारेबियन प्रिमियर लिग, अमेरिकी मेजर लिग क्रिकेट र पाकिस्तान सुपर लिग खेलेका छन् ।

सोएब मक्सुद

पाकिस्तानका ३७ वर्षीय अलराउण्डर मक्सुद अनुभवी खेलाडी हुन् । मिडल अर्डरमा ब्याटिङ गर्ने उनी अफ ब्रेक बलिङ पनि गर्न सक्छन् ।

मक्सुदले पाकिस्तानका लागि एकदिवसीय र टी२०आई पनि खेलिसकेका छन् । उनले पाकिस्तानका लागि टी२०आईमा २६ खेलमा २७३ रन बनाएका छन् ।

सबैखाले टि२०मा उनले १७० खेलमा ३९०० भन्दा धेरै रन बनाएका छन् । उनले टी२०मा १३० माथिको स्ट्राइक रेटमा खेल्छन् । लिस्ट ए र फर्स्ट क्लासमा उनको ४५०० भन्दा बढी रन छ ।

उनले मुख्य लिगहरूमा पाकिस्तान सुपर लिग र लंका प्रिमियर लिग खेलेका छन् ।

एनपीएलका विदेशी खेलाडी जनकपुर बोल्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय