
काठमाडौं । प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ को रनटाइम नेपालमा ३ घण्टा १५ मिनेट तय भएको छ । वितरण कम्पनी ए-एटले हललाई पठाएको विवरणमा रनटाइमबारे उल्लेख छ ।
यदि यसो हो भने, ‘पुष्पा २’ नेपाली हलमा रिलिज हुने वर्ष २०२४ कै दोस्रो लामो रनटाइमको फिल्म बन्नेछ । यसअघि ‘एनिमल’को नेपाल रनटाइम ३ घण्टा २१ मिनेट थियो । ‘कल्की’को ३ घण्टा १ मिनेट थियो ।
रनटाइम धेरै हुनेबित्तिकै शो संख्यामा गिरावट आउने निश्चित छ । बिहानी र रात्रीकालीन शो जोड्दा दिनमा यसको शो संख्या ५ हुनेछ । नियमित शो संख्या ४ हुनेछ । यो शो संख्या र हाइप हेर्दा फिल्मको न्यूनतम नेपाल ओपनिङ न्यूनतम २ करोडभन्दा माथि हुनसक्ने प्रक्षेपण छ ।
३ घण्टा १५ मिनेटको अर्थ हलले एउटा शोको लागि पौने ४ घण्टा शो समय दिनुपर्ने हुन्छ । सरसफाइका लागि अतिरिक्त १५ मिनेट जोड्दा ४ घण्टा जति एउटा शोले अकुपाइड गर्नेछ ।
यो अनुसार ‘पुष्पा २’ को देशव्यापी शो संख्या ४०० देखि ४५० सम्म हुने अनुमान छ । ‘पूर्णबहादुरको सारङ्गी’ लगायत फिल्म पनि त्यहाँ हुनेछन् । एड्भान्स टिकट बिक्री थालेको एक दिनभित्रै सबै टिकट सोल्डआउट हुनसक्ने प्रक्षेपण हल सञ्चालकको छ । यदि यसो भयो भने अल्लु अर्जुन स्टारर फिल्मको ओपनिङ विस्फोटक हुनेछ ।
हिन्दुस्तान टाइम्सका अनुसार ‘पुष्पा २’ को रनटाइम ३ घण्टा २० मिनेट बताइएको छ । अन्य फिल्मको ट्रेलर जोड्दा यो रनटाइम रहेको अनुमान छ । जे होस्, ‘पुष्पा २’ हेर्न हलमा पुगेको दर्शकले झण्डै ४ घण्टा समय विभाजन गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4