
काठमाडौं । शिल्पा केसी निर्देशित छोटो फिल्म ‘दशैं आयो’ अस्कर कलेज अफ फिल्म स्टडिजले आयोजना छोटो फिल्म प्रतिस्पर्धामा पहिलो भएको छ ।
जितसँगै फिल्मले १ लाख नगद पुरस्कार जित्यो । अर्जुन तिरुवाको ‘द ब्रिज’ र विशाल झाको ‘अन्तिम यात्रा’ले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ नगद जिते ।
देवनन्दन मण्डलको ‘पेपर बोन्ड्स’ स्पेसल मेन्सन घोषित भयो । विजेता घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल ९ छोटा फिल्म प्रदर्शन गरिएको थियो ।
२० वर्षमुनिको उमेर समूहमा लक्षित प्रतिस्पर्धामा सहभागीलाई ८ देखि १५ मिनेटसम्मका फिल्म पठाउन गत कार्तिक पहिलो सातासम्मको समय सीमा तोकिएको थियो ।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी फिल्म प्राप्त भएको र त्यसबाट अन्तिम ९ छनोट गरिएको बताए । फिल्म निर्माणमा उदीयमान प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।
उनले भने, ‘फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोगसमेत गर्न पहल गरेका हौं ।’
पहिलो, दोस्रो, तेस्रो र स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरले कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने कलेजले जनाएको छ ।
प्रतिक्रिया 4