+
+
उपचुनाव: नलगाड नगरपालिका :

कांग्रेस–एमालेलाई सहानुभूतिको आश, माओवादीलाई शक्तिमा विश्वास

जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर पदमा कांग्रेसले इन्द्रा चन्द्र सिंह, एमालले सुनिता बोहरा, माओवादी केन्द्रले देवका लामिछाने र रास्वपाले पार्वती पुनलाई उम्मेदवार बनाएको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ मंसिर १३ गते १६:२३

१ मंसिर, काठमाडौं । शिक्षण पेशा छाडेर सत्तारुढ नेपाली कांग्रेसबाट चुनावी दौडमा उत्रिएकी इन्द्रा चन्द्र सिंह नगलागड नगरपालिका–९, जाजरकोटमा बुधबार भावुक सुनिइन् ।

२०७९ मा तत्कालीन नेकपा माओवादी–नेपाली कांग्रेस गठबन्धनबाट निर्वाचित उपमेयर सरिता सिंहको भूकम्पमा परेर निधन भएपछि हुन लागेको उपचुनावमा उनले प्रतिष्पर्धा गर्दैछिन् । मतदाताको घरदैलोमा पुग्दा उनी बारम्बर सिंहलाई सम्झिइरहेकी छन् ।

‘सरिता सिंहको आत्मालाई शान्ति गर्न म उपमेयरमा उठेको हुँ’ उनले भनिन्, ‘उहाँका केही अधुरा कामहरू छन्, त्यसलाई पूरा गर्दै घर-घरका आमाबुबाका झरेका आँसुहरू पुछ्ने काम म गर्छु ।’

सत्तारुढ कांग्रेससँग यसपटक पहिले जस्तो माओवादीको साथ छैन । तर, दिवंगत सरिताको भाइ बुहारी इन्द्रालाई अघि सारेर सहानुभूतिको मत बटुल्दै जित निकाल्ने दाउ कांग्रेसको छ ।

तत्कालीन उपमेयर सिंह सहकारीको पृष्ठभूमिबाट राजनीतिमा आएकी थिइन् । सहकारी अभियान हुँदै उनी कांग्रेसको भातृ संगठन महिला संघमा जिल्ला समिति सदस्य र पार्टी जिल्ला समिति सदस्य बनेकी थिइन् । यस्तोमा उनी स्थानीय स्तरमा भिजेकी महिला नेतृमा गनिन्थिन् । त्यसैले इन्द्राको चुनाव प्रचारमा स्वर्गीय सिंहको कामहरूले प्राथमिकता पाएका छन् ।

नलगाड नगरपालिकामा कांग्रेसको चुनावी सभा ।

‘तपाईंहरूकी छोरी सरिता सिंहको अधुरा कामहरू पूरा गरेर उहाँको आत्मा शान्तिका लागि बुहारीले जागिर छाडेर आएकी छे भनेर सम्झिदिनु होला’ चुनावीसभामा इन्द्रा पटकपटक अपिल गर्छिन्, ‘मैले सरिता सिंहले जस्तै पीडितको दुःखमा मलम लगाउने छु, पिछडिएकालाई हेर्नेछु । विशुद्ध समाजसेवा गर्नका लागि राजनीतिमा आउन लागेकी छु ।’

उपमेयर भएर केही फाइदा होला भन्ने हिसाबले नभई जम्मा पूर्वउपमेयर सरिता सिंहको शान्तिका लागि आफूले उम्मेदवारी दिएको उनको तर्क छ । उनको पक्षमा माहोल बनाउन कांग्रेस प्रवक्ता प्रकाशशरण महत आफैं केहीअघि नलगाड पुगेका थिए । महतले आफ्ना उम्मेदवारलाई जिताए नलगाडको विकासमा सहयोग पुग्ने जिकिर गरे ।

तर नेकपा एमालेका स्थानीय नेता, कार्यकर्ता भने दुई पटकसम्म हार व्यहोरेकी उम्मेदवार सुनिता बोहरालाई उतारेर तेस्रो पटकमा जित निकाल्न चाहन्छन् ।

एमाले जाजरकोट जिल्ला कमिटीकी उपसचिव, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष समेत रहेकी सुनिता बोहरा २०७४ र २०७९ मा भएको दुवै निर्वाचनमा पराजित भएकी थिइन् ।

यसपटक कांग्रेसले स्थानीय स्तरमा भिजेको उम्मेदवार नउठाएकाले आफूहरूलाई फाइदा हुने एमालेको बुझाइ छ । नलगाडका एक एमाले कार्यकर्ताका अनुसार, स्वर्गीय सरिता सिंहको राजनीति बाहिर पनि छुट्टै व्यक्तित्व थियो, जसले उनलाई लोकप्रिय बनाएको थियो ।

तर, नलगाड नगरपालिका वडा नं. ८ मा बाल शिक्षा अध्ययन गराइरहेकी इन्द्रालाई कांग्रेसले उनको नातेदार भएकै आधारमा उठाउँदा आफूहरूलाई सहज हुने एमालेको बुझाइ छ ।

दिवंगत सिंहका दाइ जयबहादुर सिंह कांग्रेस नलगाड नगर कार्यसमितिमा सभापति समेत छन् । कतिपय स्थानीय एमाले नेताहरू भने कांग्रेसले पारिवारिक सहाभूतिको मत लिनलाई बरु भाउजु सुशीला सिंहलाई उठाएको भए आफूहरूलाई चुनौती हुने बताउँछन् । ‘त्यसैले अहिले परिस्थिति हाम्रो पक्षमा छ’, एक एमाले नेताले भने ।

बोहरा आफू चुनावको बेला टुप्लुक्क आएको उम्मेदवार नभएकाले जनताले चुन्ने बताउँछिन् । ‘अहिले जनता सबै निराश छन्, चुनाव जितेर गएपछि हामीलाई बिर्सिनुभयो भन्ने मतदाताको भनाइ छ’ उनी भन्छिन्, ‘तर, म चुनावबाट पराजित भएपनि सधैं जनताकै बीचमा थिएँ ।’

मतदातासँग भोट माग्दै एमाले उम्मेदवार सुनिता बोहरा ।

दुई पटक पराजित भएकाले पनि एकपटक जिताउनुपर्छ भन्ने मतदातालाई लागेको उनी बताउँछिन् । ‘धेरैले भन्नुभएको छ, यसपटक पार्टी नभनी मलाई हेर्नुहुन्छ’ उनी थप्छिन्, ‘यहाँको समस्याबारे अरु उम्मेदवारभन्दा जानकार म छु, त्यसैले पनि मलाई साथ दिनुहुन्छ भन्ने लाग्छ ।’

२०७९ सालको निर्वाचनमा उनी कांग्रेस–माओवादी गठबन्धनबाट चुनाव लडेकी सरितासँग २ हजार १४ मतले पराजित भएकी थिइन् । यसपटक दलहरू एक्ला–एक्लै लडेकाले बोहरा आशावादी छन् ।

तर, नलगाडमा माओवादी केन्द्रको बलियो संगठन भएकाले दुवैलाई जित निकाल्न सहज छैन । मेयरसहित अधिकांश पदमा माओवादी उम्मेदवार विजयी भएको नलगाडमा उपमेयर समेत जिताएर यसपटक माओवादी आफ्नो शक्ति देखाउन चाहन्छ । यसका लागि माओवादीले पार्टीका उपमहासचिव शक्ति बस्नेत नलगाडमा खटिएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीले प्रमुख, उपप्रमुखसहित अधिकांश वडाध्यक्ष र वडा सदस्यमा जित निकालेको थियो । ‘२०७९ मा कांग्रेससँग गठबन्धन भएकाले हो, नभए फेरि नतिजा उस्तै हुने थियो’, माओवादीबाट निर्वाचित मेयर डम्बरबहादुर रावतले अनलाइनखबरसँग भने, ‘यसपटक उपचुनावमार्फत फेरि हाम्रो शक्ति देखाउनेछौं ।’

माओवादीले यसपटक उम्मेदवारको रूपमा देवका लामिछानेलाई अघि सारेको छ । १० वर्षे जनयुद्धका बेला उनी बटालियन कमिसारसम्म भएकी थिइन् । पछिल्लो समय पत्रकारितामा आबद्ध लामिछानेले नलगाड नगरपालिका–५ की स्थायीवासी हुन् ।

‘विगतको मेरो त्याग र जाजरकोट मात्र नभइ विभिन्न जिल्लामा सामाजिक क्षेत्रमा काम गरेका हिसाबले नलगाडको विकासका लागि मैले काम गर्छ सक्छु भन्ने हिसाबले अघि बढेको छु’, उनले अनलाइनखबरसँग भनिन्, ‘अर्को कुरा उपमेयर पद न्याय सम्पादनसँग जोडिएकाले मेरो प्राथमिकता विना भेदभाव सबै जनतालाई समान रूपले सुविधा दिन पहल गर्ने हुनेछ ।’

नलगाड नगरपालिकाभित्र विकट क्षेत्रहरू पर्ने भएकाले हालसम्म कृषि उत्पादनलाई बजारसँग जोड्न कठिनाइ भएको भन्दै उनले भनिन्, ‘कृषि बजारीकरणका लागि भौगोलिक विकटताका कारण जुन समस्या छ, त्यसलाई चिर्ने गरी काम गर्ने योजना बनाएको छु ।’ शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र खानेपानी पनि आफ्नो प्राथमिकतामा हुने उनी बताउँछिन् ।

माओवादी उम्मेदवार देवका लामिछानेका लागि मत माग्दै माओवादी नेता शक्तिबहादुर बस्नेत ।

माओवादी नेता बस्नेतले लामिछाने नलगाडका लागि योग्य उम्मेदवार रहेको भन्दै आफूहरूको सेटलाई नै विजयी गराएर नमुना नलगाड बनाउने अभियानमा सहयोग गर्न भन्दै मत मागिरहेका छन् ।

‘माओवादीले नलगाडलाई विकासको एउटा नयाँ मोडलका रूपमा देखाउन चाहेको छ, कुनै बेला हामी मोडल जिल्ला भन्थ्यौं, त्यतिबेला स्रोत, साधन थिएन’ बस्नेतले भने, ‘तर, अब उपमेयर पनि हाम्रै पार्टीबाट निर्वाचित गराएर मोडल नगरका रूपमा विकास गर्छौं ।’

नमुना नगर बनाउनका लागि स्थानीय तहमा माओवादीको सेट नै निर्वाचित हुनुपर्ने उनको जिकिर छ । ‘अहिले नलगाड नगरपालिकामा माओवादीको एउटा शक्तिशाली र सबल टिम तयार गर्ने हाम्रो उद्देश्य हो’ उनले भने, ‘यसपटक आउने अवसरलाई सदुपयोग गरेर हाम्रो नेतृत्वमा नमुना यो काम गरेर देखाउँछौं ।’

मुख्य तीन दलसँगै यसपटक नलगाडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि पार्वती पुनलाई उम्मेदवार बनाएको छ । पुनलाई सहयोग गर्न काठमाडौंबाट सांसद् तोसिमा कार्की जाजरकोट खटिएकी छन् । तर, माओवादीबाट निर्वाचित मेयर रावत भन्छन्, ‘नयाँ पार्टीले उम्मेदवारी दिएपनि जाजरकोटमा अधिकांश जनताले जता संगठित सदस्यता छ, त्यतै मत हाल्छन् । त्यसैले मुख्य प्रतिष्पर्धा माओवादी–कांग्रेस र एमालेबीच नै हो ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?